नेवानि महाप्रबन्धकमा नेकपा कार्यकर्ता पौडेल नियुक्त

नेवानि महाप्रबन्धकमा नेकपा कार्यकर्ता पौडेल नियुक्त

सरकारले सत्तारुढ नेकपा कार्यकर्ता डिमप्रकाश पौडेललाई नेपाल वायुसेवा निगम (नेवानि) को महाप्रबन्धक नियुक्त गरेको छ।

मन्त्रिपरिषदको आज बिहीबार बसेको बैठकले पौडेललाई आगामी चार वर्षका लागि निगमको महाप्रबन्धक नियुक्त गरेको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।

तत्कालीन एमालेका प्रचार विभाग सदस्यसमेत रहेका पौडेल पेसाले चार्टर्ड एकाउन्टेन्ट हुन्। उनी केही समयदेखि निगम सञ्चालक समिति सदस्यका रूपमा काम गरिरहेका थिए।

पर्यटनमन्त्री योगेश भट्टराईका अत्यन्त निकट पौडेल निगम सञ्चालक समिति सदस्य नियुक्त भएदेखि नै महाप्रबन्धक बन्न जोडतोडले लागेको निगमका उच्च अधिकारीहरू बताउँछन्। 

यसअघि निगमको महाप्रबन्धकबाट मदन खरेलले राजीनामा दिएपछि सरकारले पूर्वपर्यटन सचिव सुशील घिमिरेलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो। 

अब कार्यकारी अध्यक्ष घिमिरे हुँदाहुँदै महाप्रबन्धकमा पौडेललाई नियुक्ति दिँदा निगमभित्र पुनः शक्तिको लडाइँ सुरु हुनसक्ने कर्मचारीहरूको अनुमान छ। 

विगतमा क्याप्टेन केबी लिम्बु महाप्रबन्धक हुँदाहुँदै सरकारले सुगतरत्न कंसाकारलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेपछि शक्तिको लडाइँ भएको थियो। कंसाकारले दुईथान न्यारो बडी जहाज खरिद गर्ने निर्णयमा तत्कालीन महाप्रबन्धक लिम्बुले नोट अफ डिसेन्ट लेखेर विरोध गरेका थिए।

अहिले फेरि त्यस्तै नियति दोहोरिने हो कि भन्ने आशंका कर्मचारीवृत्तमा देखिएको छ।


Leave a Reply

Your email address will not be published.