रेल्वेमा करार कर्मचारी भर्ना गर्न लिखित परीक्षाको तयारी 

रेल्वेमा करार कर्मचारी भर्ना गर्न लिखित परीक्षाको तयारी 

जनकपुर–जयनगर रेल सञ्चालन गर्ने उद्देश्यले नेपाल रेल्वे कम्पनीले प्रशासनिकसहित प्राविधिक भर्ना गर्न १२९ कर्मचारीको माग गरेको छ। १२९ जना कर्मचारीका लागि ३२ हजार ६८६ जनाले आवेदन दिएका छन्। 

सबैभन्दा बढी सहायक स्टेशन मास्टर पदका लागि आवेदन दर्ता भएको छ। 

९ जना सहायक स्टेशन मास्टर पदका लागि ८ हजार ६७ जनाले आवेदन दिएका छन्। 

विज्ञापन आह्वान गर्दा रेल्वेले अन्र्तवार्ता प्रक्रियाबाट कर्मचारी पदपूर्ति गरिने जनाएको थियो। यसअघि छनौटमा परेका योग्य उम्मेदवारमध्ये अन्र्तवार्तामा उत्कृष्ट ठहरिनेलाई जागिर दिइने रेल्वेले जनाएको थियो। 

तर, अहिले उम्मेदवारहरुको लिखित परीक्षा लिने तयारी रेल्वेले गरेको छ। नेपाल रेल्वे कम्पनीका प्रबन्धक गुरु भट्टराईले पदपूर्ति गर्न दरखास्त दिएका उम्मेदवारहरुको लिखित परीक्षा लिने तयारी भइरहेको बताएका छन्।

‘यसअघि छनौटमा परेका उम्मेदवारहरुको अन्तर्वार्ता गर्ने सोच बनाएका थियौं,’ आयोमेलसँग कुरा गर्दै भट्टराईले भने,‘कर्मचारी चयन प्रक्रियालाई थप प्रभावकारी बनाउन लिखित परीक्षा लिने तयारी गरिरहेका छौं।’ 

१२९ पदका लागि ३२ हजारभन्दा बढीले आवेदन दिएको भन्दै भट्टराईले अहिले उम्मेदवारहरुले बुझाएका शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका कागजात परीक्षण गर्ने कार्य भइरहेको जानकारी दिए। 

‘कागजातहरुको विश्लेषण भइरहेको छ, कुन कर्मचारी भर्ना कुन प्रक्रियामा जाने छलफल भइरहेको छ,’ उनले भने,‘लिखित परीक्षा लिने कुरापनि भइरहेको छ। परीक्षा लिनुपर्ने भयो भने तयारीको लागि केही समय चाहिन्छ।’

यसअघि शैक्षिक योग्ता र मौखिकलाई आधार बनाइएपनि अब परीक्षातर्फ जाने कुरा भइरहेकोले निर्णय भएलगत्तै सूचना प्रकाशित गरिने उनले बताए। 

भट्टराईका अनुसार आवेदनकर्ताहरु मध्ये सबैभन्दा बढी ७० प्रतिशतले प्रदेश २ बाट दरखास्त दिएका छन्। 

रेल्वेले ६ महिनासम्म करारमा काम गर्न २९ पदका लागि १२९ जना कर्मचारी भर्ना गर्न लागेको हो। 

शाखा अधिकृत, कानुन अधिकृत, स्टेशन मास्टर, सब इन्जिनियर, सहायक स्टेशन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटरलगायतका पदका लागि कर्मचारी भर्ना गरिने रेल्वेले जनाएको छ।


Leave a Reply

Your email address will not be published.