नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष प्रसाईंको निधन 

नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष प्रसाईंको निधन 

नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईं 'खनपरुदे' को ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । कांगेसका पुराना तथा त्यागी नेता प्रसाईं कृष्णप्रसाद भट्टराई सभापति छँदा पार्टीका कोषाध्यक्ष थिए। 

उनी कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका विश्वासपात्रको रुपमा पहिचान बनाएका थिए। 

२०१५ सालमा उनी प्रजापरिषद्को तर्फबाट संसदमा उम्मेदवार बनेका थिए। २०४३ सालमा झापा कांग्रेसका सभापति समेत बनेका प्रसाईंको निधनप्रति पार्टी नेताहरुले समवेदना प्रकट गरेका छन्। 

मितव्ययी स्वभावका प्रसाईंलाई २०४८ को पार्टी महाधिवेशनपछि तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी दिएका थिए। उनी २०४८ सालको आमनिर्वाचनमा झापाको ५ नम्बर क्षेत्र र २०५१ मा झापाको २ नम्बर क्षेत्रबाट कांग्रेसको उम्मेदवार भएका थिए।

तर, उनी २०१५ सालको आमनिर्वाचनमा प्रजापरिषद्को तर्फबाट संसदीय निर्वाचन लडेका थिए। यद्यपि,प्रसाईं विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका विश्वास पात्र थिए।

झापामा सयौं विघा जमिन भएका उनले बिर्तामोडको देवी मावि, बिर्तामोड खानेपानी , कृषिथोक बजार र बिर्ताबजारलाई दसौं बिघा जग्गा दिएका छन्। राजनीतिमा बढ्दै गएको विकृति र फजुल तथा विलासी खर्चका कारण उनी पछिल्लो समय राजनीतिमा सक्रिय थिएनन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा ट्वीट गर्दै भनेका छन् ‘सय वर्ष टेक्ने क्रममा अत्यन्तै आदरणीय व्यक्तित्व रामबाबु प्रसाईंको आज निधन भएको छ। अलग्गै स्वभाव, विचार र शैलीले परिचित उहाँ जमानाको क्रान्तिकारी, वीपी कोइरालाप्रति निष्ठावान अनि किसुनजीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष हुनुहुन्थ्यो। शान्ति मिलोस्, उहाँको आत्मलाई स्वर्गमा।’ 


Leave a Reply

Your email address will not be published.