कोरोना संक्रमित बाहिर निस्के ६ महिना जेल
कोरोनो संक्रमित व्यक्ति बाहिर हिँडडुल गरे जेल सजाय हुनसक्ने सरकारले चेतावनी दिएको छ। संक्रमित व्यक्ति आइसोलेसनमा नबसेर बाहिर घुमफिर गरेको पाइए ६ महिना जेल सजाय हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन्।
डा.गौतमले कोरोना पोजिटिभ पुष्टि भइसकेका व्यक्ति बाहिर हिँडडुल गरेको पाइए संक्रामक रोग ऐनअनुसार ६ महिना जेल सजाय हुने चेतावनी दिएका हुन्।
‘कोरोना पोजिटिभ पुष्टि भइसकेका कतिपय मानिस आइसोलेसनमा नबसेर बाहिर हिँडडुल गरिरहेको रिपोर्ट पाएका छौं,’ गौतमले भने,‘घुमफिर गरेको पाइए त्यस्ता व्यक्ति सजायको भागी बन्नुपर्ने हुन्छ। त्यसैले निगेटिभ रिपोर्ट नआउन्जेल आइसोलेसनमै बसौं।’
डा. गौतमले कडाइका साथ अनुगमन गरेर त्यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरुलाई आफूहरुले जानकारी गराइसकेको बताए।
संक्रमित व्यक्तिमाथि निगरानी गरिदन स्थानीयवासीलाई आग्रह गर्दै उनले कोही बाहिर देखिए तत्काल खबर गर्न भनेका छन्। दसैं तिहारमा भिडभाड नगरेर घरमै मनाउनपनि मन्त्रालयले आग्रह गरेको छ।