‘जागिरे’ स्वास्थ्यमन्त्री, ‘गुट’ जस्तो मन्त्रालय

‘जागिरे’ स्वास्थ्यमन्त्री, ‘गुट’ जस्तो मन्त्रालय

कोरोना संक्रमणसँगै सबैजसो नेपालीले ‘कण्ठ’ पारेको नाम हो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय। 

र, यसको केन्द्रमा छन्, भानुभक्त ढकाल अर्थात्, स्वास्थ्य तथा जनसंख्या मन्त्री। 

कोरोनाको यो संक्रमणकालीन अवस्थामा सबैभन्दा ‘कमान्डिङ रोल’ स्वास्थ्य मन्त्रलयकै हुनुपर्छ। अनि, त्यसको ‘कमान्डसिप’ स्वास्थ्यमन्त्री। 

तर, अहिले स्वास्थ्यमन्त्री ढकाल लगभग ‘जागिरे मन्त्री’ को भूमिकामा छन्। 

उनी मन्त्रालय त आउँछन्, त्यो पनि नियमितजसो नै। मन्त्रालय स्रोतका अनुसार उनी बिहान ९ बजे नै मन्त्रालय छिरिसक्छन्। 

आजकल त्यत्ति धेरै भेटघाट र भौतिकरूपमै उपस्थित हुनुपर्ने बैठक र छलफल कमै हुन्छन्। 

त्यही कारण पनि हुनसक्छ, मन्त्री ढकाल लगभग साँझ ७ बजेसम्मै मन्त्रालय बस्छन्। 

त्यसबीचमा उनले कर्मचारीहरूसँग छलफल पनि गर्छन्। तर, जुन विषयमा छलफल हुनुपर्ने हो, जुन कुरामा गम्भीर र सक्रिय हुनुपर्ने हो, त्यो विषयमा मन्त्री चासै दिन्नन्। 

कर्मचारी स्रोतका अनुसार उनले आफूनिकटका ‘महाशाखा’ वा विभागीय प्रमुख तथा कर्मचारीसँग मात्रै छलफल गर्छन्। 

‘सीमित व्यक्ति’ (कर्मचारी) को घेराबाट बाहिर निस्किनै नचाहने मन्त्री ढकालले गरेको धेरै निर्णय विवादित भइरहेका छन्। 

‘केही व्यक्तिसँग बसेर निर्णय गर्नुहुन्छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘सबै जानेबुझेका मानिससँग बसेर छलफल गर्दा बढी फलदायी हुने थियो।’ 

ती अधिकारीका अनुसार मन्त्री ढकालसँग कर्मचारीहरूले सल्लाह वा सुझावभन्दा पनि ‘गुटगत’ कुरा नै बढी गर्छन्।  

औपचारिक रूपमा आइतबार र बिहीबार बिहान महाशाखाका प्रमुखसँग छलफल गर्ने मन्त्रालयको नियमित कार्यतालिका हो। 

त्यो बेला पनि महामारीसँग जुध्नका लागि प्राविधिक कुरामा छलफल निकै कम हुन्छ। मन्त्रालयका ‘गुटगत प्रशासनिक’ गतिविधिबारेमा बढी छलफल हुन्छ। 

‘अरू देशको सिस्टममा हेल्थ एक्सपर्टहरू, विज्ञ डाक्टरहरूको सुझाव लिन्छन्, त्यहीअनुसार मन्त्रीहरूले निर्णय लिन्छन्,’ मन्त्रालयका ती अधिकारीले भने, ‘तर, हाम्रो देशमा सिस्टम नै त्यस्तै छ। मन्त्रीहरू न जान्ने बुझ्ने विज्ञको कुरा सुन्छन्, न त्योअनुसारको निर्णय गर्छन्।’ 

उनका अनुसार अहिले सबैभन्दा अघिल्लो पंक्तिमा खटिएर कोरोनाविरुद्ध लडिरहेका चिकित्सहरूसँग पनि मन्त्रीले समन्वय गर्दैनन्। 

पछिल्ला केही सातामा संक्रमण दर ह्वात्तै बढेको छ। दिनमै ३–४ हजार संक्रमित थपिन थालेका छन्। 

तर, यहीबीचमा बस्ने मन्त्रिपरिषदमा भने कोरोना संक्रमणको विषयमा निकै कम छलफल हुन्छ। 

बरु, मन्त्रिपरिषदमा कसलाई कहाँ नियुक्ति दिने? भन्नेबारे धेरै छलफल हुन्छ। 

‘अब, महामारीको विषयमा छलफल नै नहुने भन्ने त होइन तर, अरू–अरू पनि त विषय हुन्छन् नि,’ एक मन्त्रीले आयोमेलसँग भने, ‘छलफल त हुन्छ।’

तर, अर्काे दिन मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता चाहिँ ‘फलानो नियुक्ति, सरुवा वा बढुवा…’ जस्ता निर्णय सुनाइरहेका हुन्छन्। 

यही साता बसेको मन्त्रिपरिषदले पनि कोरोना संक्रमणलाई सम्बोधन हुनेगरी केही निर्णय गरेन। 

बरु सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको सन्देश सुनाए– ‘दसैंतिहारमा धेरै आउने, जाने नगर्नू। फोनबाटै आशिर्वाद लिनू। जहाँ बस्नुभएको छ, त्यहीँ दसै मनाउनू।’

‘त्यसका लागि त मन्त्रालयमै घनिभूत छलफल हुनुपर्ने थियो। अनि, मन्त्रीज्यूले त्यहीअनुसारका प्रस्ताव मन्त्रिपरिषदमा लैजानुपथ्र्याे,’ मन्त्रालयका अर्का एक अधिकारी भन्छन्, ‘मन्त्रालयमा आफ्नो गुटका कर्मचारीका मात्रै कुरा सुन्ने अनि प्रभावकारी छलफल र निर्णय कसरी हुन्छ?’

आयाेमेल प्याकेज : ‘अस्वस्थ’ स्वास्थ्य मन्त्रालय 

ईश्वर पोखरेलको सिसिएमसी : काम न कमान्ड

‘जागिरे’ स्वास्थ्यमन्त्री, ‘गुट’ जस्तो मन्त्रालय

स्वास्थ्य मन्त्रालय : आफू गतिलो गर्छ न विज्ञले भनेको मान्छ

अनि नलागोस् त कोरोना…

बाहिर कोरोना कोलाहल, स्वास्थ्य मन्त्रालय सुनसान

‘यो, त्यो होइन, सरकारले केही गर्न सकेन, स्वास्थ्य मन्त्रालय लाचार भयो’

कोरोनासँग यसरी जुधिरहेका छन् ठूला देश 

डा. जागेश्वर गौतम किन ‘उटपट्याङ’ बोल्छन्?


Leave a Reply

Your email address will not be published.