प्रधानले आफू दाइ भनेपछि ढकालले भने- उमेरले सिनियर हुँदैमा नेतृत्व पाइँदैन

प्रधानले आफू दाइ भनेपछि ढकालले भने- उमेरले सिनियर हुँदैमा नेतृत्व पाइँदैन

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को निर्वाचन शनिबार (भोलि) हुँदैछ।

विधानअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन्। बाँकी पदाधिकारीका लागि निर्वाचन हुँदैछ।

त्यसमा पनि गोल्छापछिको कार्यकालको अध्यक्षका लागि रस्साकस्सी छ। आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा चुनिने नै त्यसपछिल्लो कार्यकालमा अध्यक्ष बन्नेछन्।

वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्रप्रकाश ढकालले उम्मेदवारी दिएका छन्। उनीहरू प्यानलसहित चुनावी मैदानमा छन्।

महासंघको शुक्रबारको बन्दसत्रमा उम्मेदवारहरूबीच घोचपेच भएको छ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले आफू सिनियर भएको र  यसपटक आफूलाई समर्थन गर्न ढकाललाई आग्रह गरे। तर, ढकालले प्रधानसँग एजेन्डा नरहेको र उमेरले सिनियर हुँदैमा नेतृत्व नपाइने भन्दै जवाफ फर्काए।

‘किशोर दाइलाई म अत्यन्तै आदर गर्छु। मभन्दा निकै सिनियर पनि हुनुहुन्छ। अहिले शेखरजी तीनवर्षको कार्यकालका लागि आउनु भएको छ। अहिले भवानी राणा अध्यक्ष भइसकेपछि निर्वातमान हुँदै हुनुहुन्छ। त्यसैले मलाई सिनियर हुँदैमा नेतृत्व पाउनु पर्छ र आम मतदाताले दिनुपर्छ भन्नेमा विश्वास गर्दिन,’ ढकालले प्रधानलाई जवाफ फर्काए।

त्यसअघि प्रधानले ‘दाजुको कर्तव्य पहिला पूरा गर्न दिएर अनि मात्रै म नेतृत्वमा जानुपर्छ भन्ने कुरा कसकसका कारण उहाँले बाटो बिराउनु भएको छ?’ भनेर प्रश्न गरेका थिए।

‘अझै पनि समय बाँकी छ। म बाटो देखाउन तयार छु। म मेरा मित्र, मेरा भाइ, मेरा प्रियलाई निवेदन गर्न चाहन्छु,’ प्रधानले भने, ‘तपाईंको यहाँ आवश्यकता छ, त्यसलाई परिपूर्ति गर्न तपाईंले नेतृत्व लिनुभन्दा पनि दोस्रो तहमा बसेर केही सिकेर अघि बढ्दा केही असल हुने थियो भन्ने मेरो बिनम्र अनुरोध रहेको छ।’

बन्दसत्रमा ढकालले प्रधानलाई मात्र जवाफ फर्काएनन् गोल्छाप्रति पनि तिक्तता पोखे। वरिष्ठ उपाध्यक्ष, अन्य पदाधिकारी र कार्यसमितिमा जो आए पनि गोल्छाको नेतृत्वमा काम गर्नुपर्ने अवस्था रहेको भन्दै ढकालले गोल्छाले एक पक्ष लिनु गलत भएको बताएका थिए।

‘भावि अध्यक्ष शेखरजीको एजेन्डा बोक्ने होइन। उहाँले गर्ने काम भोलिका दिनमा हामीले पनि गर्ने हो। तर म के भन्छु भने किशोर दाइले पनि आफ्नो एजेन्डा बोक्नुपर्छ। अरुले लिएको एजेन्डा लिने र सहयोगीको भूमिका निर्वाह गर्छु भन्ने व्यवसायिक हिसाबले ठीक होइन कि भन्ने लाग्छ,’ ढकालले भने।


Leave a Reply

Your email address will not be published.

थप समाचार