लत्तो छाड्यो सरकारले, चौतर्फी दबाबमा पालिकाहरू

लत्तो छाड्यो सरकारले, चौतर्फी दबाबमा पालिकाहरू

कोरोना संक्रमणले देशलाई गाँजेको ठ्याक्कै नौ महिना पुगेको छ। 

संक्रमण रोक्न ‘लकडाउन’ तथा निषेधाज्ञाका अनेक तरिका अपनाउँदा अपनाउँदै २ लाख २६ हजार २६ नेपाली संक्रमित भइसकेका छन्। र, संक्रमण दर रोकिनुको सट्टा अझै बढ्ने सम्भावना रहेको विज्ञहरूको भनाइ छ। 

यसैबीच, चैत ११ बाट बन्द भएको विद्यालय मंसिर ११ सम्म आइपुग्दा बल्ल खोल्ने तयारी भइरहेको छ। 

लामो समय विद्यालय नखोलिनुको कारण पनि महामारी नै हो। विद्यार्थीहरू संक्रमित होलान् भनेर सरकार र विद्यालयले वैकल्पिक माध्ययमबाट पढाइ गरिरहेका छन्। 

तर, भौतिक उपस्थित गराइ विद्यार्थीलाई अध्यापन नगराएसम्म सिकाइको उपलब्धी नहुने भन्दै सरकारले विद्यालय खोल्न अनुमति दिएको छ। 

स्वास्थ्य मन्त्रालयले जारी गरेको कोरोना तथ्यांक केलाउँदा झन्डै नौ प्रतिशत विद्यालय जाने उमेर समूहका बालबालिका संक्रमित भएका छन्। 

तथ्यांकअनुुसार १० वर्षभन्दा कम उमेर समूहका ५ हजार ७ सय १३ बालबालिका संक्रमित छन् भने ११ देखि २० वर्षका १५ हजार एक सय ७६ जना संक्रमित भएका छन्। 

सबैभन्दा बढी बालबालिका बागमती प्रदेशमा संक्रमित छन्। यहाँ  कूल ९ हजार ६ सय ३७ बालबालिका संक्रमित छन्।

… 

संक्रमण बढ्दै गर्दा, उपत्यकामा केही विद्यालय खोल्न थालिसकिएका छन् भने कतिले भौतिक रूपमा विद्यार्थीलाई कक्षा कोठामा राखेर अध्यापन गराइरहेका छन्। 

शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७’ जारी गरी स्वास्थ्य मापदण्ड पु¥याइ विद्यालय खोल्न अनुमति दिइसकेको छ। 

त्यस्तै, जनवास्थ्य मापदण्ड निरीक्षण गर्न र विद्यालयलाई अवस्था अनुरूप सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई जिम्मा लगाइसकिएको छ। 

स्थानीय तहले निणर्य नलिँदै विद्यालयले कक्षा सञ्चालन गरिसकेका छन्। भक्तपुरमा मात्रै १५ भन्दा बढी विद्यालयहरु खुलिसकेका छन्।

हाल उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ भएको छ। उपत्यकामा मात्र ८ हजार ३ सय १६ बालबालिका संक्रमित छन्। 

महामारीको समयमा विद्यालय खोलेकै कारण हुम्लाका विद्यार्थीमा संक्रमण देखियो। 

उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयका ५१ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका थिए।

महामारीमा विद्यालय खोल्नुको कुनै औचित्य नरहेको अभिभावक संघका अध्ययक्ष सुप्रभात भण्डारीले बताए। 

तर, महामारी झन् बढ्दै गइरहेको समयमा विद्यालय खोलेर बालबालिकालाई कोरोना संक्रमणको किट बनाउन नहुने उनले बताए। 

उनले संक्रमणको जोखिम र जनघनत्व हेरेरमात्र विद्यालय खोलिनुपर्ने बताए।

बुधबार, ललितपुरको सामुदायिक विद्यालय खोलिएको भन्दै बन्द गर्न अभिभावक संघले ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई ज्ञापनपत्र बुझाएको थियो। 

‘विद्यालयमा साना–साना बालबालिका पढ्छन्। कोरोनाले उनीहरूलाई झनै जोखिममा पार्छ। यस्तो बेलामा विद्यालय खोलेर विद्यार्थीलाई संक्रमित गर्ने कार्य हामीलाई मञ्जुर छैन,’ उनले भने।

… 

नौ महिनासम्म विद्यालय पठाउन नपाउँदा अभिभावक जति चिन्तित छन् त्यति नै चिन्ता छ विद्यालय खोलेपछि पनि। 

घरमा अभिभावकलाई नटेर्ने बालबालिका विद्यालयमा शिक्षकले तह लगाउलान् भनेर विद्यालय पठाउन आतुर छन् अभिभावक, तर यो चिन्तासँगै कोरोना संक्रमण होला भन्ने डर पनि पलाएको बताउँछन् अभिभावक कृष्ण किसी। 

किसी आफैं पनि शिक्षक हुन्।

उनले भने, ‘मेरो छोराले अनलाइनबाटै पढिरहेको छ। तर, पढ्नमा भन्दा अन्यमा बढी ध्यान केन्द्रित गर्छ। कि भिडियो अफ गरेर खेलिरहन्छ कि अरू चिज हेर्न थाल्छ। भनेको पनि मान्दैन। हैरान बनाइसक्यो।’ 

विद्यालय खोलिदिए करैले पनि पढ्लान् भन्ने उनको अपेक्षा छ। 

महामारीका कारण विद्यालयलाई मर्का परेको भन्दै विद्यालय व्यवस्थापकहरूले भर्ना र अध्यापन शुल्क उठाउन विद्यालय खोलिरहेका छन्। 

नाम उल्लेख नगर्ने सर्तमा भक्तपुरको एक विद्यालय सञ्चालक अभिभावकहरूले शुल्क तिर्न अटेर गरेपछि विद्यालय खोल्न बाध्य भएको बताउँछन्। 

‘विद्यालय खोलेपछि अभिभावकले पढाइ भएको छ भनेर शुल्क तिर्न आउँछन् भनेरै विद्यालय खोलेको हौं,’ उनले भने। 

खुलेका विद्यालय धेरैजसो निजी छन्। तीमध्ये पनि कम विद्यार्थी भएका स्कुल छन्। 

शैक्षिक सत्र सकिन लगभग तीन महिनामात्र बाँकी छ। हिमाली जिल्लामा हिउँद सुरु हुनु अगावै परीक्षासहित शैक्षिक वर्ष सकिन्छ भने पहाड र तराईमा फागुन अन्तिमसम्ममा पढाइ सकिन्छ। 

केही महिनामात्र बाँकी हुँदा पनि विद्यालय खोलिदिँदा विद्यालयलाई मात्र फाइदा पुग्ने तर विद्यार्थी जोखिममा पु¥याउने अभिभावकको भनाइ छ।

संक्रमण जोखिमभन्दा पनि सरकारलाई शैक्षिक सत्र कसरी मिलाउने भन्ने चिन्ता भएको दखिन्छ। 

विज्ञहरूको टोलीसँग शिक्षा मन्त्रालयले एक चरणको छलफल गरिसकेको छ। 

शैक्षिक सत्र अर्को वर्षसम्म लम्ब्याउने कि यसै वर्षमा टुंग्याउने वा विद्यार्थीका सिकाइलाई ध्यान दिएर यो वर्षलाई गन्ती नगर्ने भन्ने सेरोफेरोमा छलफल भइरहेको मन्त्रालयका सचिव गोपी मैनालीले बताए।  

विद्यालय खोल्ने सन्दर्भमा भने सबै जिम्मेवारी स्थानीय तहलाई दिइसकेको भन्दै सरकार यसबाट पन्छिन खोजेको छ। 

स्थानीय तहले भने हतारमा निणर्य नगर्ने भन्दै शैक्षिक अधिकारीहरू, निजी विद्यालयका संघसंगठनसँग छलफल गरिरहेका छन्। 

कम विद्यार्थी भएको विद्यालय सञ्चालनमा आए पनि स्वास्थ्य मापदण्ड पूरा भए खोल्न सक्ने भन्दै चुप बसिरहेका छन्। 

‘अनलाइन कक्षा राम्ररी सञ्चालन भइरहेका छन् तर साना बालबालिकाको सिकाइमा समस्या भएकाले विद्यालय सञ्चालन गर्नुपरेको हो,’ भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले भने।


Leave a Reply

Your email address will not be published.