नेकपा सचिवालय बैठक आज, कस्तो होला ओलीको जवाफ?

नेकपा सचिवालय बैठक आज, कस्तो होला ओलीको जवाफ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ। बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। 

सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार पारेका छन्।

ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राख्न लागेका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आधारभूतरुपमा प्रधानमन्त्री ओलीको जवाफ तयार भएको र त्यसले लगाएका आरोपबारे स्पष्ट गर्ने बताए। ‘राजनीतिक आरोप सामना गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ’, थापाले भने।

मंसिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ पेस गर्न १० दिनको समय दिएको थियो। उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने बताएका थिए।

आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्णरुपमा हेरिएको छ।

यसअघिको बैठकमा ओलीले प्रस्तावमा लगाइएका आरोप सही साबित भए आफू हट्ने अन्यथा आरोप लगाउने हट्नुपर्ने बताएका थिए। 

‘हटाउने माग त पहिलेदेखि आएकै थियो। तर, यसपटक हट्ने आधारहरू यी हुन्, यसकारण हट्नुपर्छ भन्ने कुरा पनि आएको छ, पहिलेजस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन। तर, त्याग गर्नुपर्छ भन्ने कोटेड भाषा रहेको छ,’ ओलीले भने, ‘यो आरोप या त सदर ठहरिनुपर्‍यो, अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुपर्‍यो। आरोप सही नठहरिए यस्तो आरोप लगाउनेले जिम्मेवारी लिनुपर्‍यो, यसको जवाफदेही लिनुपर्‍यो।’

एक हिसाबले अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डलाई अगाडिको बाटो सोचेजति सहज नहुने संकेतसमेत दिएका थिए। हट्न भनिए झैं आफूले पनि अर्का अध्यक्षलाई हट्न भन्दिए के हुन्छ? भन्दै ओलीले प्रश्न गरेका थिए।

‘मलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउने तयारी पनि गरिएको छ, हट्न भनिएको पनि छ,’ उनले भनेका थिए, ‘त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भने के हुन्छ? विधि पद्धतिका कुरा के हुन्छ? संगठनात्मक सिद्धान्तका कुरा के हुन्छ? त्यसमा एकपटक विचार गर्ने हो कि? किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्नसक्छ?’


Leave a Reply

Your email address will not be published.