कोख एउटै हो, छाेरीचाहिँ बाउकाे किरिया बस्न नहुने?

कोख एउटै हो, छाेरीचाहिँ बाउकाे किरिया बस्न नहुने?

किरिया छोराले मात्रै गर्ने भन्ने चलन उल्टाउँदै बुटवल–१३ बेलवासकी २० वर्षीया नविना थापा बाबुको किरिया कर्म गरिरहेकी छिन्। छोरा र छोरी दुवैले किरिया गर्न पाउनुपर्छ भन्ने मान्यतासाथ आफू बाबुको किरिया कर्म गरिरहेको उनले बताइन्।

तर, छोरीले गर्ने किरिया कर्म विधिबारे पण्डितलाई जानकारी नहुँदा भने सुरुको अवस्थामा केही कठिनाइ भएको परिवारिक सदस्य बताउँछन्। नविना भने आफूले गरेको निर्णय कार्यान्वयन गर्न निकै कठिन भएको बताइन्।

उनको बुबा ५० वर्षीय कृष्णराम थापाको भारतीय सेनामा काम गर्ने क्रममा निधन भएको थियो। थापाका दुई सन्तान छन्, दुवै छोरी। दुई छोरीमध्ये नविना कान्छी हुन्। जेठी छोरी विदेशमा छिन्।

छोरीले आफ्ना बुबाको निधनमा किरिया कर्म गरेर छोरासरहको भूमिका निभाउन छोरीले पनि सक्छन् भन्ने उदाहरण उनले दिएकी छन्।

बुटवलको अक्सफोर्ड कलेजमा बिबिएस दोस्रो वर्ष अध्ययनरत नविनाले बुबाको निधनमा केश मुण्डन गरी किरिया गरेकी हुन्।

क्याम्पस पढ्दै गरेकी उनमा छोराछोरी जन्मिने कोख एउटै भएको हुँदा बाबुआमाको किरिया गर्नमा विभेद हुन नहुने उनको स्पष्ट भनाइ छ। 

‘आखिर कोख एउटै हो, हामीले किरिया कर्म किन नगर्ने?,’ छोरीले किरिया कर्म गर्न हुन्न भन्ने मान्यता राख्नेप्रति उनको प्रश्न छ।

छोरासरह छोरी हुन्छन् भन्ने मान्यताअनुसार नै आफूले कर्म गर्न तयार भएको नविना बताउँछिन्। 

‘बाबाले मलाई छोरोजस्तै मान्नुहुन्थ्यो, छोरी भए पनि के भो र हामी कर्म गर्न सक्षम नै छौं,’ उनले भनिन्, ‘बुबाको आत्मालाई शान्ति हुन्छ भने हामी किन नगर्ने?’

उनले ‘म बाबाको किरिया कर्म गर्छु’ भन्दा सुरुमा आफन्त, समाजदेखि पण्डितहरूले नै नगर्न दबाब दिएको बताइन्। केही घरपरिवार र केही आफन्तले आफ्नो निर्णयमा साथ दिएपछि मात्रै बाबुको किरिया कर्म गर्न सम्भव भएको उनको भनाइ छ। 

‘९० प्रतिशतले त छोरीले यस्तो गर्नुहुँदैन भनेर भन्नुभयो,’ नविनाले भनिन्, ‘निर्णयमा अडिग रहेपछि र केही आफन्तले साथ दिएपछि किरिया कर्म गरिरहेकी छु।’

उनका बुबा भारत अरुणाञ्चलको चिनियाँ सीमामा काम गरिरहेका बेला अक्सिजन अभाव भई लेक लागेर निधन भएको थियो। खबर आउनासाथ उनी आफैं सहभागी भएर बुबालाई दागबत्तीसमेत दिइन्। उनका बुबा भारतीय सेनामा हवल्दार पदबाट पेन्सन पकाइ दोस्रो नोकरीका रूपमा डिएमसीमा खटिएका थिए।

छोरीकै इच्छाअनुसार किरिया कर्म गरिएको आमा जतिकुमारी बताउँछिन्। समाजले अझै पनि छोरीले किरिया कर्म गर्न हुन्छ, सक्छन् भन्ने स्वीकार गर्न नसकेको अनुभव सुनाइन्। 

‘सुरु–सुरुमा त छोरीले किरिया गर्न हुँदैन भन्नेहरू थिए तर नानीले गर्छु भनेपछि कर्म गर्न थालियो,’ उनले भनिन्।

बुबाको मृत्युको पीडा एकातिर थियो, अर्कातिर पण्डितहरूले समेत कर्म गराउन अप्ठ्यारो मान्दा खिन्न लागेको उनी बताउँछिन्। 

आफूले नै पूरै निष्ठाअनुसार कर्म गर्ने उनको इच्छा थियो। महिलाले गर्ने विधिबारे पण्डितहरूमा ज्ञान नहुँदा केही समस्या भएको परिवारको भनाइ छ। 

‘छोरीले गर्ने कर्म विधि नै फरक हुँदो रहेछ। सबै त्यसमा जानकार नहुनाले समस्या भयो,’ उनका आफन्त अमितरञ्जन शर्माले भने।

छोरीले गर्ने कर्मलाई समाजले स्वीकार गर्नुपर्ने नविनाका काका बलरामले बताए। कर्म गराउने पण्डितहरूमा एकरूपता नभएको भन्दै उनले नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि त्यसतर्फ ध्यान पु¥याउनुपर्नेमा जोड दिए।


Leave a Reply

Your email address will not be published.