उद्योग वाणिज्य महासंघमा शेखर, २७ वर्षपछि फर्क्यो खोलो

उद्योग वाणिज्य महासंघमा शेखर, २७ वर्षपछि फर्क्यो  खोलो

शेखर गोल्छाले बुबा हुलासचन्द्र गोल्छाको २७ वर्ष अघि पूरा गर्न नपाएको सपना साकार पारेका छन्।

उद्योगी हुलासचन्द्र २०५० सालमा मा उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्षको चुनावमा होमिएका थिए। अर्का उद्योगी विनोद चौधरीसँग प्रतिस्पर्धामा रहेका उनी स्वास्थ्यका कारण अन्तिम समयमा पछि हटेका थिए।

त्यतिखेर बेलायतबाट उच्च शिक्षा पूरा गरी फर्किएका शेखरले यी सबै घटना नियालेका थिए।  र, १ सय वर्ष इतिहास बोकेको गोल्छा ग्रुपबाट शेखर महासंघको अध्यक्ष बनेका छन्।

हुन् त शेखरका दाजु (ठूलाबुबाका छोरा) दिवाकर गोल्छाको सपना पनि महासंघ अध्यक्ष बन्ने थियो। २०६४ सालमा महासंघका तत्कालीन अध्यक्ष चण्डीराज ढकालले पुनः अध्यक्ष उठ्ने घोषणा गरेपछि दिवाकरले चुनाव लडेनन्। आफूलाई अध्यक्ष बन्नबाट ढकाल चुनाव लडेको दिवाकरको बुझाइ थियो।

त्यतिखेर ढकाललाई हराएर कुशकुमार जोशीलाई अध्यक्ष बनाउन गोल्छा ग्रुपको समेत हात रह्यो। र, त्यही बेला दिवाकर महासंघ राजनीतिबाट बाहिरिए।

त्यतिखेर नै कार्यकारिणी सदस्यका रूपमा महासंघमा ‘इन्ट्री’ गरेका शेखर ५४औं साधारणसभाबाट महासंघको १९औं अध्यक्ष बनेका हुन्।

जालझेल तोड्दै अध्यक्ष

२०७३ सालमा भवानी राणा महासंघ अध्यक्ष बन्नुअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान थिएन। 

तर, महासंघले त्यही वर्ष मंसिर ४ मा विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था कायम गर्‍यो।  त्यसको डेढ वर्षमै विधान संशोधन गर्नुपर्ने माग उठ्यो। 

तीमध्येका एक थिए– महासंघ पूर्वअध्यक्ष समेत रहेका विशिष्ट सदस्य चण्डीराज ढकाल। हुन त त्यसअघि वरिष्ठ उपाध्यक्ष नै अर्काे कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था कायम गराउनेमध्येमा उनी पनि एक थिए।

महासंघमा फेरि विधान संशोधनको आवाज उठिरहँदा गोल्छा वरिष्ठ उपाध्यक्षको कुर्सीमा पुगिसकेका थिए। र, अध्यक्ष बन्ने गोल्छा परिवारको सपना साकार हुने क्रम चलिरहेको थियो।

तर, गोल्छा त्यतिखेर झस्किए जब चण्डीराजकै संयोजकत्वमा विधान परिमार्जनका लागि संशोधन समिति गठन गर्नुपर्ने अवस्था आयोे।
अनि, समितिले वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालमा स्वतः अध्यक्ष बन्ने विधान फेरेर पुरानै व्यवस्था कायम गराउने तयारी ग¥यो। त्यसका लागि २०७६ कात्तिक २९ गते विशेष साधारणसभा पनि बोलाइयो।

तर, महासंघ फुटको संघारमा पुग्ने अवस्था आइलागेपछि पुरानै प्रणालीलाई अंगिकार गर्ने प्रस्ताव महासंघको कार्यकारिणी समितिमा पुग्यो। यो दुर्घटना टार्न निवर्तमान अध्यक्ष पशुपति मुरारका, तत्कालीन अध्यक्ष भवानी राणा, उपाध्यक्ष (हाल वरिष्ठ उपाध्यक्षका उम्देवार) चन्द्र ढकालले विशेष पहल गरेका थिए।

ढकालले आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष बन्न पूर्वअध्यक्ष चण्डीराजको साथ खोजेपछि बिच्किएका गोल्छाले वरिष्ठ उपाध्यक्षका अर्का प्रतिस्पर्धी किशोर प्रधान समूहलाई बोकेका छन्। 

२०६४ मा दिवाकरलाई अध्यक्ष बन्न नदिन चुनाव लडेका चण्डीराज २०७३ मा शेखरलाई वरिष्ठ उपाध्यक्ष बनाउन साथ दिएका थिए।   

र, हाल आएर शेखर गोल्छा परिवारबाट महासंघको अध्यक्ष बन्ने पहिलो बन्न पुगे। उनी गोल्छा ग्रुपका अध्यक्ष हुन्।

हसंराजदेखि गोल्छा ग्रुप

गोल्छा ग्रुपका संस्थापक रामलाल गोल्छा, जो शेखरका हजुरबुबा हुन्। उनले १ सय वर्ष अघि विराटनगरमा हंसराज हनुमान माल कम्पनी स्थापना गरेका थिए। पछि मात्र कम्पनीको नाम हंसराज– हुलासचन्द बन्यो। 

त्यसपछि रामलालका छोराहरू हंसराज र हुलासचन्दले व्यवसाय विस्तार गरे।

अहिले रामलालका नाती र पनाती पुस्ताले गोल्छा परिवारको विसरात थामिरहेको छ। 

यो ग्रुपले उद्योग, व्यापार र सेवा क्षेत्रमा लगानी गरेको छ। गोल्छा ग्रुपको छाताभित्र हंसराज हुलासचन्द एन्ड कम्पनी, हुलास इन्भेस्टमेन्ट प्रालि, हिम इलेक्ट्रोनिक्स, हुलास अटोक्राफ्ट, युनिक लाइफ इन्स्योरेन्स र हेस्टर बायोसाइन्सर कम्पनी छन्।


Leave a Reply

Your email address will not be published.