भक्तपुरमा पिँडालु खाने पर्व ‘सकिमङा पुन्हि’

भक्तपुरमा पिँडालु खाने पर्व ‘सकिमङा पुन्हि’

खाद्यवस्तुको पनि पर्व हुन्छभन्दा धेरैलाई आश्चार्य लाग्न सक्छ। तर, भोलि (सोमबार) भक्तपुरमा पिँडालुको पर्व सकिमङा पुन्हि मनाइँदैछ। वर्ष पुन्हिलाई औपचारिक रुपमा मात्र मनाउन भक्तपुर नगरपालिकाले आग्रह गरेको छ। यो नेवार समुदायले मात्र मनाउँने पर्व हो।

नेपाल भाषमा सकि भनेको पिडालु र मना भनेको उसिन्नु भन्ने हुन्छ। त्यसैले सकिमङ्गाको अर्थ पिँडालु उसिनेर खानु हो। यसदिन विभिन्न देवतालाई पिँडालु चढाउने पनि गरिन्छ। सकिमङा पुन्हिका दिन साझतिर मठमन्दिर, देवालय, विहार, विभिन्न चोकहरूमा दाफा भजन गर्दै यो पर्व मनाउने चलन छ। विभिन्न गुठीहरूले भक्तपुरका त्यस्ता स्थानमा त्यसरी यस पर्वलाई मनाउँछन्।

यो दिन जमिनमूनि फल्ने खानेकुरा पिँडालु, सखरखण्ड खाने चलन छ। नेवारहरूले बेलुकी दाफा भजनसँगै नसा ब्व ज्या (भुटेका अन्न र गेडागुडीको कला प्रदशनी) गरिन्छ। भटमास, मकै, गहुँ लगायत अन्न भुटेका केगागुडिको मन्दिरको आकृति बनाइ प्रदशनी गर्ने चलन छ।

भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले सकिमङा पुन्हिलाई औपचारिक रुपमा मात्र मनाउनको लागि दाफा भजनका अग्रजहरूलाई बोलाएर अनुरोध गरेका छन्। जसमा सवैजनाको सहमति भएको ज्याख्वले बताए। 

'पर्वहरूलाई औपचारिकता मात्र सिमित गर्नु भनेको संस्कृतिलाई मास्न खोजेका होइन। अहिले कोरोनाले गर्दा असहज अवस्था छ। यस्तो बेला जोखिम मोलेर पर्व नमनाउ मात्रै भन्न खोजेका हौं', उनले भने।

नसा ब्व ज्याको मन्दीर बनाइ पुजा गर्दा नगरका स्थानीयहरू, काठमाडौं र ललितपुरका भक्तजनहरूको भीड लाग्ने भएकाले सामान्य रुपमा पर्वलाई मनाउन आग्रह गरिएको उनले बताए।

त्यसरी आएका भक्तजनले पनि अन्न चढाउने र पछि प्रसादको रुपमा लिने चलन रहेको उनले बताए। यसरी प्रदशनी गर्दा एउटा टोलको भजन अर्को टोलमा गएर गर्ने प्रचलन रहेकाले पनि संक्रमणको जोखिम रहेको उनले बताए।

संस्कृतिविद ओम धौभडेलले नेवार समुदायमा पत्येक १५ दिनमा एउटा न एउटा पर्व आउने बताए। त्यसमध्ये सकिमङा पुन्ही पनि एक महत्वपूर्ण पर्व रहेको उनी बताउँछन्।


Leave a Reply

Your email address will not be published.