भारत-चीन जोड्ने कालिगण्डकी कोरिडोरमा कालोपत्रे सुरु

भारत-चीन जोड्ने कालिगण्डकी कोरिडोरमा कालोपत्रे सुरु

कालिगण्डकी कोरिडोर अन्तरगत रिडी रुद्रवेणी हर्मिचौर सडकखण्ड कालोपत्रेमा सुरु भएको छ। सडकको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १ को रिडीमा शिलन्यास गरेसँगै कालोपत्रेको काम सुरु भएको हो।

कालिगण्डकी कोरिडोरको लम्बाइ ४३५ किलोमिटर छ। यसले नेपालको नवलपरासीसँग जोडिने भारतीय सीमानाकालाई उत्तरतर्फ कोरलामा चीनलाई जोड्छ। यो कोरिडोर सडक नवलपरासीको गैडाकोटदेखि पाल्पा, बाग्लुङ, मुस्ताङ हुँदै कोरलासम्म पुग्छ।

उक्त सडक खण्डको रिडी रुद्रवेणी हर्मिचौर खण्ड २१ किलोमिटर रहेको छ। निर्माण कम्पनीले उक्त सडक खण्डको पिच गर्ने काम २ वर्षभित्र पूरा गर्ने प्रतिवद्धता जनाएको गुल्मीको कालिगण्डकी गाउँपालिकाका प्रमुख बेदबहादुर थापाले जानकारी दिए।

कालोपत्रे निर्माण कार्यको शिलन्यास गर्दै मन्त्री ज्ञवालीले कालिगण्डकी करिडोर कुनै जिल्ला बिशेषको मात्रै नभएर देशकै समृद्धिको मार्ग भएको बताए।

उनले भारत-चिन जोडने करिडोरले बिचमा पर्ने जिल्लाका नागरिकको आर्थिक तथा सामाजिक जीवनमा ठूलो प्रभाव पार्ने बताए। ज्ञवालीले निर्माण व्यावसायीलाई सम्झौता अनुसार समयमै गुणस्तरीय रुपमा काम गर्न आग्रह गर्नुका साथै सडकको गुणस्तरमा ध्यान दिन निर्देशन दिएका छन्।

'कामको सम्झौता गरेर विभिन्न बहाना बनाएर उम्कने निर्माण व्यावसायीलाई कानुन अनुसार कारबाही गर्छौ', परराष्ट् मन्त्री ज्ञवालीले भने,  ‘सरकारको तर्फबाट निर्माण व्यावसायीलाई सहजीकरण गर्छौ तर, काम नगर्नेहरूको पक्षमा मुखदर्शक बन्दैनौं। त्यसका लागि सकड कार्यालय र स्थानीयको निगरानी जरुरी भएको मन्त्री ज्ञवालीले बताए।

कालीगण्डकी करिडोर सडक योजना पाल्पा र शर्मा सगुन जेविबिच २०७७ भदौ १६ गते सडक कालोपत्रेको सम्झौता भएको आयोजना प्रमुख सुवोध कुमार देवकोटाले जानकारी दिए।

निर्माण कम्पनीले ५५ करोड ३० लाख ५३ हजार ८ सय ३५ रुपैयाँ २२ को लागतमा ३० महिनाभित्र कालोपत्रेको काम सम्पन्न गर्ने देवकोटाले बताए।

सडक ११ मिटर चौडाई, आठ मिटरको डवल लेन, एक मिटर चौडाईको नाली, दुई मिटर भाग सोल्दर छ।

कालिगण्डकी करिडोर सडक योजना मार्फत नवलपुर, पाल्पा, गुल्मी, स्याङजा, पर्वत र वाग्लुङ गरेर ६ वटा जिल्लामा सडक निर्माणको काम भइरहेको छ।

कालिगण्डकी गाउँपालिका प्रमुख बेदबहादुर थापाले रिडी आउनका लागि दुई दिन लाग्ने पुर्तिघाट र हर्मिचौरका नागरिक अहिले एकतर्फी यात्रा गर्न एक देखि डेढ घण्टामा आउन जाने अवस्था आएको बताए। उनका अनुसार उक्त सडकमा अहिले बस, जीप सजिलैसँग चल्छन्। पालिका प्रमुख थापाले करिडोरका कारण शाखा सडक पुगेका नागरिकहरुको पनि आर्थिक तथा सामाजिक स्थितीमा सुधार भएको बताए।


Leave a Reply

Your email address will not be published.