भूमाफियासँगकाे मिलेमताेबाट जोगिन हतारहतार नापीले सच्यायो नक्सा

भूमाफियासँगकाे मिलेमताेबाट जोगिन हतारहतार नापीले सच्यायो नक्सा

एउटै जग्गाको  दुइटा कित्ता नम्बर राखेर नक्सा दिएपछि विवादमा तानिएको नापी कार्यालय झापा अन्ततः आफ्नो  गल्ती सच्च्याउन बाध्य भएको छ। 

नेपाली कांग्रेस र नेकपा नेताहरूको चासो साथै सचेत नागरिकको निरन्तर दबाबपछि जिल्ला नापी कार्यालय आफ्नो कपटपूर्ण गल्ती सच्च्याउन बाध्य भएको हो। 

नक्कली कागजात बनाएर दसौंजनाको परिवार उठिबास लगाउन लागिपरेको गिरोहलाई नापीले त्यस्तो नक्सा दिएपछि बिर्तामोड नगरपालिका-१ सिने प्लाजा नजिकका ती परिवार त्रसित थिए। सात कठ्ठामा बसोबास गरेका र जमिन किनेका व्यक्ति नापीकाे किर्ते कामले अत्तालिएका थिए।   

तर, नापी कार्यालयको कर्तुतलाई आयोमेलले  गरेको निरन्तर फलो  र अन्य सञ्चारमाध्यममा समाचार आएपछि नयाँ नक्सा बनाएर सम्बन्धितलाई दिन कार्यालय  बाध्य भएको हो।

नापीले नयाँ नक्सा प्रयोगमा ल्याएको जानकारी जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीलाई पठाइसकिएको छ। 

नापीले स्थानीय अदुवा खोलामा पर्ने कित्ता नम्बर ६२२ को जग्गालाई ५४७ कित्ता नम्बर बनाएर भूमाफिया गिरोहलाई साथ दिएको थियो।       

सर्वेक्षकद्वय नारायण सापकोटा र द्रोजेन्द्रराज काफ्लेले हस्ताक्षर गरेर एउटै जग्गाको दुई फरक नक्सा दिएको बहाना बनाएर नापी कार्यालय प्रमुख डिल्लीराज भण्डारी र  नेतृत्व तह पन्छिन लागिपरेको थियो। प्रमुख भण्डारीले समाचारको प्रमाण संकलनका लागि कार्यालय पुगेका पत्रकारलाई 'जग्गाका विषयमा के जान्नुहुन्छ, कति बुझ्नु भएको छ?' भनेर शालीन ढंगमा होच्च्याउने प्रयत्न पनि गरेका थिए।

ललितपुर-४ को जि ट्रेडिङलाई नम्बरी जग्गा दिन नापी कार्यालय लागेको थियो। त्यसमा बिर्तामोड-१ वडा कार्यालयले कागजात बनाएर साथ दिएको थियो।

दमकका नर्बदा चौहान र धनकुमारी थापासँग जग्गा लिएको कागजात भनाएर सात कठ्ठा जग्गा पास गराउने अन्तिम समयमा मोठ भिडाउँदा मोठ भिडेको थिएन।

त्यसपछि नापी, मालपोत, सम्बन्धित वडा कार्यालय जि ट्रेडिङका नाममा जग्गा हडप्न लागिपरेको गिरोहको कर्तुत छताछुल्ल भएको थियो।

नापीले नयाँ नक्सा जारी गरे पनि पीडित भने अझै ढुक्क हुन सकेका छैनन्। फेरि, कसैले चलखेल गर्ने हो कि भन्ने चिन्ता उनीहरूमा छ।

यद्यपि, कित्ता नम्बर ५४७ को जि ट्रेडिङको कुनै दाबी नचल्ने चाहिँ पक्का भएको छ। जि ट्रेडिङका नाममा खोलाको ६२२ कित्ता नम्बर नै कायम भएको छ।

पुरानो भएको नक्सा अंक नबुझेर गलत प्रिन्ट भएर फरक-फरक कित्ता नम्बर भएको हुनसक्ने, २०२१ सालमा नापी भएको जग्गा किनबेच भएपिच्छे नम्बर फरक-फरक राख्नेपर्ने र प्राविधिकलगायत कारण देखाएर नापीले आफ्नो गल्ती ढाकछोप गर्ने उपाय रचेको थियो। 

तर, ती सबै उपाय विफल भएपछि नापीले नक्सा सुधारेको हो। नापीले जि ट्रेडिङलाई ६२२ को र भगवती आवास कम्पनी प्रालि, मुना गिरी, देवी लिम्बु, जीवनाथ निरौला, नवराज निरौला, सूर्यबहादुर वन, अजय चौधरी, टंकप्रसाद ढकाल, खिनमाया कडरिया, धर्मप्रसाद तिम्सिना, भीष्म बिमली, दीपा लिम्बु र विनोदकुमार निरौलालाई स्रेस्ताअनुसारको नक्सा उपलब्ध गराएको छ। 

नक्सा, फिल्डबुक, भूमिलगत लगायत आवश्यक प्रमाण अध्ययन गरी नक्सा सुधारेको नापीले जनाएको छ। नापीले कित्ता नम्बर सच्च्याएर नक्सा जारी गरे पनि पार्टीबाट निर्वाचित वडाध्यक्ष अग्नि पाण्डेको नाम जग्गा प्रकरणमा जोडिएपछि नेकपाले आन्तरिक रूपमा छानबिन समिति  बनाएको छ।

कांग्रेसले निष्पक्ष छानबिन र कारबाही गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सर्वदलीय समिति गठन गर्न माग गरेको छ।  गल्ती ढाकछोप गर्न हतारमा नक्सा सच्च्याएर आफू चोखिन चाहे पनि एउटै जग्गाको दुइटा नक्सा बनाएको घटनामा  नापीले  सितिमिति उन्मुक्ति नपाउने जानकारहरू बताउँछन्।

र, यी पनि हेर्नुहाेस्…

कित्ता नम्बरै फेरेर करोडौंको जग्गा हडप्ने गिरोह सक्रिय, वडाध्यक्ष पनि मुछिए

करोडौंको जग्गा ‘दम्पच’ पार्न सम्भव नभएपछि नेकपा नेता पछाडि हटे

झापा नापीमा प्रमाण बुझाउन जि ट्रेडिङकाे आनाकानी, म्याद गुज्रियाे 

भूमाफिया, नेकपा वडाध्यक्षसहित सबैलाई  कारबाही गर्न  कांग्रेसको माग

झापा जग्गा प्रकरणमा पाँचको नाम लुकाएर नेकपाले बनायो छानबिन समिति

फर्जी कागजात बनाएर दिन्छ झापा मालपोत


Leave a Reply

Your email address will not be published.