बर्दिवास बालिका हत्या घटना : अरुणमाथि जबर्जस्ती करणीसहित चार मुद्दा 

बर्दिवास बालिका हत्या घटना : अरुणमाथि जबर्जस्ती करणीसहित चार मुद्दा 

महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिका गुलाबसा खातुन हत्या घटनामा प्रहरीले आरोपीमाथि जबर्जजस्ती करणीसहित चारवटा मुद्दा दर्ता गरेको छ।

बालिका गुलाबसा हत्याको आरोपमा पक्राउ परेका बर्दिवास–१४ शुभम् बस्ती बस्ने २५ वर्षीय अरुण साहमाथि महोत्तरी प्रहरीले चारवटा मुद्दा दर्ता गरेको हो।

महोत्तरीका प्रहरी प्रमुख एसपी टीकाबहादुर केसीले पीडित परिवारको जाहेरीपछि साहमाथि चारवटा मुद्दा चलाइएको जानकारी दिए।

एसपी केसीका अनुसार प्रहरी हिरासतमा रहेका साथमाथि जबर्जजस्ती करणी, शरीर बन्धक, अपहरण र हत्या मुद्दा दर्ता भएको छ। 

‘पीडित परिवारले जर्बजस्ती करणीसहित चारवटा शीर्षकमा जाहेरी दिएका छन्,’ केसीले भने,‘थप कुरा पोस्टमार्टमको रिपोर्टपछि खुल्छ।’

गुलाबसाको शवको पोस्टमार्टम भएर आजै महोत्तरी प्रहरीलाई रिपोर्ट पठाइसकिएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ। 

प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक डा.रामदेव चौधरीको अध्यक्षतामा गठित ६ सदस्यीय मेडिकल बोर्डले बालिकाको शव पोस्टमार्टम गरेको हो।

डा.चौधरीले शवको पोस्टमार्टमा गरेर मृत्युको कारण पत्ता लगाइसकिएको बताए। साथै उनले रिपोर्ट आजै महोत्तरी प्रहरीलाई पठाइएको उनले जानकारी दिएका छन्।

यद्यपि पोस्टमार्टमको रिपोर्टबारे उनले खोलाउन चाहेनन्।

गएको आइतबार अपरान्ह ४ बजेतिर वेपत्ता भएकी गुलासाको शव सोमबार मध्यराति घरभन्दा लगभग सय मिटरको दूरीमा फेला परेको थियो। बालिका गुलाबसाको शवको अन्तिम संस्कार चार दिनपछि परिवारले शुक्रबार साँझ गरेका थिए।

गुलाबसाको हत्यापछि बर्दिवासमा सुरू भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका स्थानीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा काठमाडौंमा मृत्यु भयो।

प्रहरीको गोली लागेर घाइते भएका अन्य दुईजनाको उपचार भइरहेको छ।

घर नजिकै साहले सञ्चालन गरेको किराना पसलमा चकलेट किन्न गएकी गुलाबसा अचानक वेपत्ता भएकी थिइन्। परिवारका सदस्य, आफन्त, टोलछिमेकका साथै प्रहरीले तत्काल उनको खोजी सुरू गरेको थियो।

टोलमा रहेका सबै घरभित्र प्रवेश गरेर खोजतलास गरेपनि साहले भने आफ्नो घरभित्र कसैलाई छिर्न दिएका थिएनन्। साहको घर नजिकै रहेका दुईजना प्रहरीले पनि गुलाबसालाई खोज्दै हिँडेका स्थानीयलाई भित्र प्रवेश गर्न ‘सर्च वारेन्ट’ लिएर आउनुपर्ने बताएका थिए।

यसअघिपनि बालिकाहरूसँग दुव्र्यवहार गरेका साहले नै गुलाबसालाई वेपत्ता बनाएको हुनसक्ने अनुमान टोलवासीले गरेपनि प्रहरीले अनुमति नदिँदा उसको घरभित्र खोजतलास हुनसकेको थिएन्।

सोमबार राति महोत्तरीको गौशालास्थित मूल घर पुगेकोबेला साहले बाबुलाई आफूले बालिकाको हत्या गरेको बताएका थिए। बाबुले तत्काल गौशाला प्रहरीलाई खबर गरेपछि साह पक्राउ परे। साहकै बयानको आधारमा प्रहरीले गुलाबसाको शव फेला पारेको थियो।


Leave a Reply

Your email address will not be published.