रौतहटमा बाबुद्वारा १७ वर्षीया छोरीको ‘अनर किलिङ’

रौतहटमा बाबुद्वारा १७ वर्षीया छोरीको ‘अनर किलिङ’

रौतहटमा बाबुले नै 'सुपारी' दिएर आफ्नी छोरीको हत्या गर्न लगाएको रहस्य बाहिरिएिको छ।

कथित समाजिक प्रतिष्ठाका लागि आफन्तद्वारा गरिने हत्या (अनर किलिङ) को रहस्य सार्वजनिक भएको हो।

रौतहट माधवनारायण नगरपालिका–७ लौकाहा टोल बस्ने १७ वर्षीया अमृताकुमारी साहको घरमै सुतिरहेको अवस्थामा कात्तिक २६ गते गोली हानी हत्या भएको थियो।

अनर किलिङका लागि बाबु अयोध्या साह तेलीले सुपारी दिएर अमृताको हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

प्रहरीले अमृतामाथि गोली चलाउने देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनिया कुरुनिया बस्ने कैमुल देवानलाई आइतबार पक्राउ गरेको छ। सर्लाही सदरमुकाम मलंगवामा लुकेर बसेको अवस्थामा देवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बाबु अयोध्याले देवानलाई सुपारी दिएर अमृताको हत्या गर्न लगाएको रौतहट प्रहरीले जनाएको छ।

अमृताको गत वर्ष फागुनमा सर्लाहीको मधुवनगोठ बस्ने रुपेश साहसँग भएको थियो। विहे भएको तीन महिनामै अमृतको सम्बन्ध विच्छेद भयो। गाउँकै सोसिन्द्रप्रसाद भगतसँग अमृताको तीन वर्षदेखि प्रेमसम्बन्ध रहेको थियो।

सोसिन्द्रसँगको प्रेमसम्बन्धका कारण अमृताको वैवाहिक जीवन लामो टिक्न सकेन्। रुपेशमाथि छुरा प्रहार गरी ज्यानमार्ने गरी आक्रमण भएपछि उनी माइती फर्किएकी थिइन्।

सम्बन्ध विच्छेदपछि रुपेशको परिवारले अमृता र उनकी प्रेमी सोसिन्द्रमाथि सर्लाहीमा ज्यानमार्ने उद्योग मुद्दा दर्ता गरे।

अमृता र सोसेन्द्रबीचको प्रेम सम्बन्ध आमा–बाबुले भने स्वीकार गरेका थिएनन्। 

अर्कोतर्फ ज्यानमार्ने उद्योग मुद्दामा छोरी पक्राउ परे इज्जत जाने डर, प्रेमी सोसिन्द्रसँग भागी जाने सँधैको डर र प्रेमका कारण माइतीमा बस्दा गाउँघरमा कुरा झिक्ने गरेकोले समाजबाट अपहेलित हुने कारणले बाबु अयोध्या र भिनाजु देवाही गोनाही नगरपालिका–२ करुनीया लक्षिमीनिया बस्ने लक्ष्मण साहले अमृतालाई मार्न लगाएको प्रदेश प्रहरी प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाईंले भिनाजु लक्ष्मणले रौतहटको परोहना नगरपालिका–४ बस्ने छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँ दिएर अमृतालाई भारतमा मार्ने योजना बनाएको बताएका छन्।

तर, कात्तिक ९ गते महानवमीका दिन उपचारका लागि अमृतालाई भारतमा लगेर हत्या गर्ने उनीहरूको योजना विफल भयो। त्यसपछि अमृता भागेर आफ्नो घर पुगेकी थिइन्।

पहिलो पटक बनाएको योजना विफल भएपछि बाबु रामअयोध्या र भिनाजु लक्ष्मणले इज्जतका लागि देवानलाई एक लाख रुपैयाँ दिएर गोली हानेर अमृतको हत्या गर्न लगाएको अनुसन्धानबाट देखिएको प्रसाईंले बताए।

प्रहरीले अमृता हत्यामा संलग्न रहेको आरोपमा बाबु राअयोध्या, आमा सीतादेवी साह, परोहा नगरपालिका–४ बस्ने छोटेलाल साह, देवाही गोनाही–२ लक्ष्मिनिया करुनिया बस्ने खेश अलियास, सोही ठाउँ बस्ने इस्लाम अन्सारी र शेख इम्ताजलाई पक्राउ गरेको छ।

फरार भएका अमृताका भिनाजु लक्ष्मणको खोजी भइरहेको प्रहरीले जनाएको छ।

र, यो पनि

रौतहटमा गोली हानी युवतीको हत्या


Leave a Reply

Your email address will not be published.