खुल्न थाले काठमाडौंका स्कुल

खुल्न थाले काठमाडौंका स्कुल

कोरोना संक्रमण दर काठमाडौं उपत्यकामा बढ्दै गए पनि जोखिमबीच विद्यालयहरू सञ्चालनमा आउन थालेका छन्। 

शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन गराउनकै लागि ‘विद्यालय पुनःसञ्चालनसम्बन्धी कार्यढाँचा २०७७’ जारी गरेको थियो। 

सोही कार्यढाँचाअनुसार विद्यालय सञ्चालनमा आएका छन्। 

तर, कार्यढाँचाअनुसार विद्यालय खोल्नु अगाडि स्थानीय सरकारको निर्देशन पालना गर्नुपर्ने नियमलाई भने विद्यालयले अटेर गरिएको देखिएको छ।

काठमाडौंको नागार्जुन नगरपालिकाले कुनै पनि विद्यालय खोल्न अनुमति दिएको छैन तर विद्यालय सञ्चालनमा ल्याउन संस्थागत विद्यालयहरू नै अग्रसर भएको पाइएको छ। 

संस्थागत विद्यालयका सञ्चालकले वैकल्पिक शिक्षाका लागि विद्यार्थीसँग स्रोतसाधन कमी भएको भन्दै विद्यालय खोलेको बताएका छन्। 

नगरपालिकाका विद्यालय खोलिएको भन्दै उजुरी आइरहेको बताउँछन् शिक्षा शाखा प्रमुख कृष्ण कुँवर। 

नगरपालिकाभित्र ६–सातवटा विद्यालय सञ्चालन भइरहेका छन्। 

‘विद्यालयहरू पुनःसञ्चालनमा आएको उजुरी हामीले पाएका छौं। विद्यालय अहिले नै सञ्चालनमा नल्याउन हामीले सम्बन्धित विद्यालयलाई सूचना दिइसकेका छौं,’ उनले भने। 

तर, चन्द्रागिरि नगरपालिकाका सबै संस्थागत विद्यालय एक सातादेखि नै सञ्चालनमा आइसकेका छन्। 

नगरपालिकाको कार्यपालिकाले मंसिर ५ गते नै विद्यालय खोल्ने निर्णय गरेको शिक्षा शाखा उपप्र्रमुख सुर्दशन रिजालले बताए। 

‘नगरपालिकामा कोभिड–१९ सिकाइ सहजीकरण समितिको बैठक बोलाइएको थियो। विद्यालयहरूको सरसल्लाहमै सञ्चालन अनुमति दिइएको हो,’ उनले भने।   

चन्द्रागिरिमा २६ संस्थागत विद्यालय छन्। ती सबै विद्यालय सञ्चालनमा आइसकेका छन् भने निजी विद्यालय पनि सञ्चालनमा आउने तरखरमा छन्। 

कंकाली मावि एक सातादेखि सञ्चालनमा आइसकेको छ। चन्द्रागिरिको पुरानो नैकापस्थित उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई विद्यालय हातामा राखेर पढाइ भइरहेको छ।

विद्यालयका प्रधानाध्यापक विष्णु पनेरुले वैकल्पिक शिक्षण माध्यमबाट साना बालबालिकाका लागि सिकाइ उपलब्धी नभएका कारण विद्यालय सञ्चालन गरेको बताए। 

‘हामीले कक्ष १ देखि ५ सम्मका बालबालिकाका लागि मात्र स्कुल खोलेका हौं। ६ कक्षाभन्दा माथिका बालबालिकाका लागि वैकल्पिक माध्यमबाटै कक्षा भइरहेको छ,’ पनेरुले आयोमेलसँग भने। 

तर, स्रोत र साधनमा पहुँच नभएका विद्यार्थीलाई पनि विद्यालयमा राखेर पढ्ने विकल्प राखेको उनले बताए। 

विद्यालय बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन भइरहेको छ। 

पनेरुका अनुसार अभिभावकसँग पनि छलफल गरेर विद्यालय खोलिएको हो। 

‘९० प्रतिशत अभिभावकले आफ्ना छोराछोरी विद्यालय पठाएका छन् भने अन्यले पनि पढ्न पठाउने तयारी गरिरहेका छन्,’ उनले भने।

वैकल्पिक शिक्षा प्रभावहीन

प्रधानाध्यापक पनेरुले भनेजस्तै वैकल्पिक शिक्षा प्रभावहीन देखिएको छ। 

शैक्षिक नागरिक क्षेत्रको साझा सञ्जाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल’ ले सातै प्रदेशमा गरेको एक अध्ययनले वैकल्पिक शिक्षा साना बालबालिकाका लागि  सिकाइयुक्त नभएको पाइएको छ। 

अध्ययनका अनुसार कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४.३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको देखिएको छ।  

अध्ययनले चितवनबाहेक अन्य जिल्लाका २५ प्रतिशत विद्यालयबाट मात्रै वैकल्पिक सिकाइका लागि विद्यार्थीले सहयोग पाएको देखाएको छ। 

झापा, चितवन, पर्सा, रुपन्देही, पर्वत, दैलेख, बाजुराका स्थानीय तहका कक्षा ४, ८ र ९ का विद्यार्थीसँग अनलाइन सर्वेक्षणसमेत गरिएको उक्त अध्ययनमा ३ सय ३५ अभिभावक, ३ सय ५० विद्यार्थी र ८५ प्रधानाध्यापक सहभागी थिए।

पर्साबाहेक अन्य जिल्लाका ९४ प्रतिशत अभिभावकले अभिभावक शिक्षा पाएका छैनन्।

अध्ययन प्रतिवेदनले ७५ देखि सतप्रतिशतसम्म विद्यार्थीले पाठ्यपुस्तक पाए पनि अन्य शैक्षिक सामग्री नपाएको जनाएको छ । 

शिक्षकहरू घरदैलो पुगेर विद्यार्थीलाई गृहकार्य दिएका ठाउँमा भने ४४ प्रतिशत विद्यार्थीले गृहकार्य पूरा गरेको देखिएको छ भने सिकाइ निरन्तरताका लागि केन्द्र, प्रदेश र स्थानीय तहको भूमिका र समन्वय अभाव भएको उल्लेख छ। 

प्रतिवेदनमा ७० प्रतिशत अभिभावकले वैकल्पिक सिकाइमा आफ्ना विद्यार्थी संलग्न नभएको तर स्वाध्यायन कार्यमा भने संलग्न रहेको जनाइएको छ।

अध्ययनअनुसार ६० देखि ९२ प्रतिशत प्रधानाध्यापक र शिक्षकले वैकल्पिक सिकाइ प्रवद्र्धनका लागि योजना बनाए पनि समुदायस्तरमा सिकाइ कार्यक्रम दिएका छैनन्। 

विभिन्न जिल्लामा ५० देखि ७५ प्रतिशत बालबालिका अभिभावक र मार्गदर्शनमा घरमै स्वाध्यायन क्रियाकलापमा संलग्न भएका छन् भने ६० देखि ९१ प्रतिशतसम्म बालबालिकामा वैकल्पिक माध्यमका रेडियो, टेलिभिजन, मोबाइल र कम्प्युटर इन्टरनेटजस्ता साधनमा पहुँच अभाव भएको पाइएको छ।


Leave a Reply

Your email address will not be published.

थप समाचार