के हुन्छ प्रचण्डसामु अबका विकल्प? 

के हुन्छ प्रचण्डसामु अबका विकल्प? 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पछिल्लोपटक सुरु भएको विवाद तत्काल साम्य हुने संकेत देखिएको छैन। 

बैठक छल्न खोजिरहेको आरोप खेप्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः सचिवालय बैठकमा सहभागी भए। 

कात्तिक २८ को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रस्ताव पेस गरे।

प्रचण्डले प्रस्ताव पेस गरेलगत्तै नेकपाभित्र देखिएको विवाद तत्काल अन्त्य नहुने आँकलन भएका थिए। 

र, शनिबारको सचिवालय बैठकमा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो प्रस्तावको जवाफ दोब्बर अर्थात ३८ पानामा दिएका छन्। प्रचण्डले लगाएका आरोपका जवाफभन्दा पनि ओलीले प्रतिप्रश्न गरेका छन्।

प्रण्डको प्रस्ताव नितान्त व्यक्तिगत, असन्तुष्टि, सीमाहीन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालोमात्र रहेको ओलीले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन्।

साथै, पार्टीका बैठकलाई अग्रगामी अजेन्डाबाट बराल्ने र व्यक्तिगत आरोप-प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुन नहुने ओलीले बताएका छन्।

प्रधानमन्त्री ओलीले पार्टीभित्र चलिरहेको बहसको चरित्रबारे प्रश्न उठाउँदै यो नीतिगत बहस हो कि ‘वार कि पारको लडाइँ हो?’ सोधेका छन्।

‘कमरेड प्रचण्ड सुरुमै तपाईंलाई मेरो प्रश्न छ- पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो? यो स्वस्थ नीतिगत बहस हो कि ‘वार कि पार’ को लडाइँ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण? तपाईंले रोजेको बाटो वाद-प्रतिवाद-संवादको हो कि वाद-प्रतिवाद र विग्रहको? एकता-छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता-विग्रह र विघटनको बाटोमा? पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरूको?,’ ओलीले आफ्नो प्रस्तावमा प्रचण्डलाई सोधेका प्रश्न हुन् यी।

पछिल्लो समयसम्म नेकपाका दुई अध्यक्ष आ-आफ्नो ‘स्ट्यान्ड’ मा दृढ देखिन्छन्। आफूले लिएको ‘पोजिसन’ बाट तत्काल टसमस हुने छाँट ओली र प्रचण्डमा देखिएको छैन।

दुई अध्यक्षको स्ट्यान्डका कारण नेकपा जटिल मोडमा पुगिसकेको तत्काल विवाद अन्त्य हुने सम्भावना नदेखिनुका साथै आगामी दिनमा के हुने भन्ने विषयमा स्वयं नेकपाकै नेताहरू अनभिज्ञ देखिन्छन्।

उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको साथ पाइरहेका प्रचण्डको धेय ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छोड्नुपर्ने छ।

तर, सचिवालय बैठकमा प्रस्तुत ओलीको शैली र उनको प्रस्तावपछि तत्कालै यसो हुने सम्भावना देखिँदैन।

‘केपी ओलीले अध्यक्ष पद छाडेपछि ढिलोचाँडो प्रधानमन्त्री पनि छाड्न सक्ने अवस्था आउन सक्छ,’ वाम विश्लेषक रोशन जनकपुरी भन्छन्, ‘तर, उहाँको प्रस्तुति खतरनाक देखिन्छ। ओली ‘नि डाउन’ गर्ने ‘मुड’ मा कहीँकतै देखिनुभएको छैन।’

चरित्रका हिसाबले हेर्ने हो भने ओली ‘नि डाउन’ (घुँडा टेक्ने) व्यक्ति नभएका कारण ढिलोचाँडो पार्टी विभाजन हुने सम्भावना नै बढी रहेको जनकपुरीको विश्लेषण छ।

उनका अनुसार ओलीले एक हिसाबमा प्रचण्डलाई अलग भएर हिँड्न संकेत दिइसकेका छन्। तर, प्रचण्डले पहिलेजस्तो एमाले र माओवादी केन्द्र नगरेर बहुमतले किनारा लगाउने प्रयास गर्ने सम्भावना रहेको उनको भनाइ छ।

‘बहुमत पुर्‍याएर ओलीलाई किनारा लगाउन नसके नि डाउन गर्नुबाहेक प्रचण्डसँग अर्को विकल्प रहँदैन। यदि यसो गरे उहाँको राजनीति चौपट हुने निश्चित छ,’ जनकपुरी थप्छन्, ‘उपाध्यक्ष गौतम, वरिष्ठ नेता खनाल र नेपालको साथ पाएर अहिले प्रचण्ड अड्किरहनुभएको छ। उहाँहरूमध्ये एकजनाले मात्रै साथ छाडे प्रचण्ड समाप्त हुने निश्चित छ।’

नेकपाबाट बाहिर निकालेर हेरे बाबुराम भट्टराईभन्दा प्रचण्ड थोरै पनि पृथक नरहेको उनको भनाइ छ।

नेकपाभित्र देखिएको पछिल्लो विवादका कारण दुवै अध्यक्ष आ-आफ्नो अडानका कारण स्वयं समस्यामा फसेको उनको भनाइ छ।

तत्कालीन एमालेका नेताहरूको साथ लिएर प्रचण्डले दबाब दिन खोजे पनि त्यसको थोरै असरसमेत ओलीमाथि नपरेको उनको बुझाइ छ।

दुवै अध्यक्षका तर्फबाट आएका प्रस्तावमाथि अब बस्ने स्थायी कमिटी बैठकमा संयुक्त रूपमा छलफल गरेर निष्कर्ष निकालिने नेकपा नेताहरू बताउँछन्।

नेकपा संसदीय दलका नेता सुवास नेम्वाङ दुवै प्रस्तावमाथि छलफल गरेर नेताहरू निष्कर्षमा पुग्ने बताउँछन्। 

‘प्रजातान्त्रिक प्रक्रिया अघि बढाइएको छ, प्रधानमन्त्रीलाई जवाफ दिन सचिवालयले भनेको हो,’ नेम्वाङले भने, ‘फाइदै नहुने काम सचिवालयले किन गथ्र्यो होला र?’

तर, दुई अध्यक्षबीच शक्तिसंघर्षको अन्तर्यमा सुरु भएको विवादबीच प्रचण्डले ठूलै चुनौति सामना गर्नुपर्ने देखिन्छ। 

ओलीमाथि सरकार सञ्चालनमा भ्रष्टाचारदेखि एकलौटी गरेको सङ्गीन आरोप लगाएका प्रचण्डले त्यसको पुष्टि गर्नुपर्ने छ। प्रधानमन्त्री ओलीले पनि आफ्नो प्रस्तावमा आरोप पुष्टि गर्न चुनौति दिइसकेका छन्।

साथै, प्रचण्डले पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको आरोपसमेत ओलीले लगाएका छन्।

‘तपाईंको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ हो। र, यसलाई अगाडी सारेर तपाईंले पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ,’ ओलीले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन्।

ओलीको प्रस्तुति र उनले पेस गरेको प्रस्तावलाई आधार मानेर हेर्दा दुई अध्यक्षबीचको अन्तरसंघर्ष उत्कर्षमा पुगिसकेको ठम्याउन गाह्रो नरहेको राजनीतिक विश्लेषक सुरेन्द्र लाभ बताउँछन्। 

पार्टीभित्रको पछिल्लो विवादमा ओलीभन्दा प्रचण्डसामु बढी चुनौति थपिएको लाभको भनाइ छ। प्रधानमन्त्री ओली आफूले लिएको अडानबाट पछि नहटे प्रचण्डसामु समर्पणबाहेक अन्य विकल्प नरहेको लाभ बताउँछन्।

‘दुई पार्टी एक भएकै दिन प्रचण्डको अस्तित्व सकिसकेको थियो, उहाँले यतिका दिनसम्म बुझ्न सक्नुभएन। कार्यकारी अधिकार पाए पनि केही गर्न सक्नुभएन,’ लाभ भन्छन्, ‘पंगु त पहिल्यै भइसक्नुभएको थियो। अहिले थप कमजोर बनिसक्नुभएको छ।’

त्यसमाथि कतिपय पुराना साथीहरूले प्रचण्डको साथ छाडिसकेका छन्। ‘नयाँ पार्टी खोलेर जोखिम मोल्न सक्ने अवस्थामा पनि प्रचण्ड देखिनुहुन्न, उहाँसामु समर्पणबाहेक अन्य विकल्प देखिन्नँ,’ लाभ भन्छन्।


Leave a Reply

Your email address will not be published.