स्मिथको शतकमा भारतविरुद्धको सिरिज अष्ट्रेलियालाई

स्मिथको शतकमा भारतविरुद्धको सिरिज अष्ट्रेलियालाई

भारतविरुद्धको एकदिवसीय श्रृङ्खला अष्ट्रेलियाले आफ्नो पक्षमा पारेको छ। 

तीन खेलको सिरिज अन्तर्गत आइतबार सम्पन्न दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले श्रृङ्खला आफ्नो पक्षमा पारेको हो। यसअघिको पहिलो खेलमा अष्ट्रेलिया ६६ रनले विजयी भएको थियो।

महत्वपूर्ण दोस्रो एकदिवसीय खेलमा स्टिव स्मिथको शतकीय पारीमा अष्ट्रेलियाले दिएको ३ सय ९० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३८ रनमात्र जोड्न सक्यो। भारतका लागि कप्तान विराट कोहलीले ८९ र केएल राहुलले ७६ रन बनाएपनि टोलीका अन्य खेलाडी लामो समय क्रिजमा टिक्न नसक्दा भारत सिरिज गुमाउन पुग्यो।

भारतका श्रेयस अयरले ३८,  शिखर धवनले ३०, मायंक अग्रवाल र हार्दीक पाण्ड्याले समान २८ २८ रन बनाए। अष्ट्रेलियाका प्याट क्युमिन्सले तीन तथा एडम जाम्पा र जोश हेजलवुडले समान २ २ विकेट लिए। 

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो खेलमा झैं दोस्रोमा पनि उत्कृष्ट ब्याटिङ गर्‍यो। उसले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै ३ सय ८९ रन बनायो। कप्तान आरोन फिन्च र डेविड वार्नरको ओपनिङ जोडीले १ सय ४२ रनको साझेदारी गर्‍यो। पहिलो विकेट पछि आएका स्मिथले शतक जोडे। उनले ६४ बलमा दुई छक्का र १४ चौकाको मद्दतमा १ सय ४ रन बनाए।

यस्तै वार्नरले ८३ रन बनाउँदा विस्फोटक ब्याटिङ गरेका म्याक्सवेलले २९ बलमा अविजित ६३ रन बनाए। कप्तान फिन्चले ६० रन बनाउँदा मार्नुस लम्बुसचेन्जले ७० रन बनाए। भारतका मोहम्मद शामी, जसप्रित बुमराह र हार्दीक पाण्ड्याले समान एक/एक विकेट लिए। 

सिरिजको अन्तिम खेल बुधबार हुनेछ।


Leave a Reply

Your email address will not be published.