काभानीको अतिरिक्त समयको गोलमा युनाइटेड विजयी, आर्सनल पराजित

काभानीको अतिरिक्त समयको गोलमा युनाइटेड विजयी, आर्सनल पराजित

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न भएका खेलमा आर्सनल पराजित हुँदा म्यानचेस्टर युनाइटेडले भने जित निकालेको छ। 

लिगमा खराब प्रदर्शन गरिरहेको आर्सनल उलभरह्याम्पटनसँग २–१ ले पराजित भएको हो। पछिल्ला पाँच खेलमा आर्सनलको यो तेस्रो हार हो। यो बीच आर्सनलले एकमा मात्रै जित निकालेको छ। प्रतियोगितामा खेलेका १० खेलमा उसले चारमा मात्रै जित निकालेको छ। 

उलभरह्याम्पटनलाई जित दिलाउन खेलको २७ औं मिनेटमा पेड्रो नेटोले गोल गरे। तर, त्यसको तीन मिनेटपछि नै आर्सनलका ग्याब्रियलले गोल गर्दै खेललाई बराबरीमा ल्याएपनि पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा उलभरह्याम्पटनका ड्यानियल पोडेन्सले विजयी गोल गरे। 

दोस्रो हाफमा आर्सननले खेलमा फर्कने थुप्रै प्रयास गरेपनि सफल बन्न नसक्दा पहिलो हाफको नतिजा नै अन्तिम बन्न पुग्यो। 

१० खेलबाट १३ अंक जोडेको आर्सनल अंक तालिकाका १४ औं स्थानमा रहेको छ भने, उलभरह्याम्पटन समान खेलबाट १७ अंक जोड्दै छैठौं स्थानमा रहेको छ। 

यता, आइतबार राति नै भएको अर्को खेलमा युनाइडेटले साउथएम्पटनलाई ३–२ ले पराजित गरेको छ। इडिनसन काभानीले अतिरिक्त समयमा गरेको गोलमा युनाइटेड महत्वपूर्ण जित निकाल्न सफल भयो।

पहिलो हाफमै दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेडले सानदार जित निकालेको हो। 

साउथएम्पटनका लागि २३ औं मिनेटमा जन बेडनारेकले र ३३ औं मिनेटमा जेम्स वार्ड प्रोजले गोल गरेका थिए। पहिलो हाफमा २–० ले पछि परेपछि दोस्रो हाफमा आक्रामक बनेको युनाइटेडका लागि ६० औं मिनेटमा ब्रुनो फर्नान्डेस र इडिनसन काभानीले ७४ औं र ९२ औं मिनेटमा गोल गरे। 

जितसँगै युनाइटेड आठौं स्थानमा उक्लिएको छ भने साउथएम्पटन पाँचौं स्थानमा रहेको छ। 

प्रतियोगितामा चेल्सी र टोटनहम हट्सपरले भने गोलरहित बराबरी खेले।


Leave a Reply

Your email address will not be published.