दुई भारतीय नागरिकसहित आठ लागुऔषध कारोबारी पक्राउ

दुई भारतीय नागरिकसहित आठ लागुऔषध कारोबारी पक्राउ

झापा प्रहरीले आइतबार जिल्लाका विभिन्न स्थानबाट दुईजना भारतीय नागरिकसहित आठ लागुऔषध कारोबारीलाई  पक्राउ गरेको छ।

लागुऔषधसहित एकैदिन यति धेरै व्यक्ति पक्राउ परेको झापामा यो पहिलो घटना पनि हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठ नेतृत्वको टोलीले शिवसताक्षी नगरपालिका-६ हब्सल्दारचोकबाट उनीहरुलाई पक्राउ गरेको हो। 

मे ५ प ५०३२  नम्बरको मोटरसाइकलमा उत्तरतर्फ आउँदै गरेका  शिवसताक्षी-४ का  २६ वर्षीय श्याम मर्डी र सोही मोटरसाइकल पछाडि बसेका ३५ वर्षीय गंगाराम कायस्थलाई पक्राउ गरेको हो।

शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट २३ ग्राम ब्राउनसुगर, मोबाइल दुई थान र नगद एकलाख ८४  हजार रुपैयाँ बरामद गरिएको थियो। उनीहरुलाई कारबाहीको लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ।

त्यसैगरी प्रहरीले भद्रपुर नगरपालिकाको फरक-फरक स्थानबाट ६ जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर–४ डाँगीबारीमा भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गर्दा भद्रपुर-४ का  १९ वर्षीय पुष्कर थापा, ५ का २६ वर्षीय मदन विक, ४ कै  २१ वर्षीय राजन माझी र हल्दीबारी गाउँपालिका १ का ३२ वर्षीय लोकेन्द्र गुरागाईंलाई पक्राउ गरेको हो। 
प्रहरीले उनीहरुको साथबाट सात ग्राम ब्राउनसुगरसहित प्र.१–००१–०१२ प ७१७५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ।

त्यस्तै भद्रपुर-४ नरसिंह बगानबाट भारतको गलगलिया–४ का  ५९ वर्षीय ऐजुब महमद अली र सोही ठाउँका १९ वर्षीय महमद जबरलाई पाँच ग्राम ब्राउनसुगरसहित पक्राउ गरी वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.