कमला किनारमा भुतमेला

कमला किनारमा भुतमेला

धनुषा र सिरहाको सिमाना छुट्याउने कमला नदीमा भुतमेला लागेको छ। 

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने भुतमेलामा कमला नदीमा सोमबार लागेको छ।

कमला नदीको पूर्वी र पश्चिमी दुबै किनारामा लाग्ने भुतमेलामा सयौंको संख्यामा धामी झाक्रीको भीड लागेको छ। 

कात्तिक शुक्ल पुर्णिमाका दिन नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वास रहेको छ। धामी झाँक्री बन्ने विश्वासका साथ उनीहरू देउता खेल्दै कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको वरदान दिने तथा योग पाको हुने विश्वास छ।

ढोलक, करताललगायतका वाद्यवादक यन्त्रका तालबीच बज्ने उनीहरूको कर्कल स्वरले भयसमेत उत्पन्न गर्दछ। विशेष गरी नदीमा स्नान गरेकोबेला देखाइने हाउभाउले सर्वसाधारणमा भय उत्पन्न गरेको हुन्छ।

धामी झाक्रीहरू बेतका लठ्ठी र बल्दै गरेको दिपसहित कमला नदी पुगेका हुन्छन्। लठ्ठीलाई उनीहरूले तन्त्र सिद्धी गरेर पूजापाठमा प्रयोग गर्दछन्।

सोमबार कमला नदीमा स्नान गरेर धामी झाँक्रीहरू मंगलबार जनकपुरस्थित गंगासागरमा स्नान गर्नेछन्। कात्तिक पूर्णिमामा कमला नदी र त्यसको भोलिपल्ट जनकपुरको गंगासागरमा धामी झाँक्रीको भीड लाग्ने गर्दछ।


Leave a Reply

Your email address will not be published.