‘सरकारले स्वास्थ्यकर्मीका माग सुनेन, अब कडा आन्दोलन गर्छौं’

‘सरकारले स्वास्थ्यकर्मीका माग सुनेन, अब कडा आन्दोलन गर्छौं’

सरकारलाई स्वास्थ्यका क्रियासिल २३ ट्रेड युनियन तथा पेशागत संगठनले अब थप कडा रुपमा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले सरकारले आफूहरूका मागप्रति बेवास्ता गरेको भन्दै अब थप शसक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।

स्वास्थ्यकर्मीले उठाएका पेशागत हकहित तथा जनसरोकारका विषयहरू समयमै सम्बोधन नभए जनतालाई आह्वान गरी आन्दोलनमा कार्यक्रम सार्वजानिक गर्ने चिकित्सक संघका अध्यक्ष  तथा नेपाल संयुक्त स्वास्थ्य संघर्षका समितिका संयोजक डा. लोचन कार्कीले बताए। 

‘स्वास्थ्यकर्मीका संबेदनशील विषयहरू तथा स्वास्थ्य प्रणालीका जल्दोबल्दो मुद्दामाथि स्वास्थ्यका पेशागत संघसंगठनले पटक—पटक स्वास्थ्य मन्त्रालयमा सम्बोधनका लागि अनुरोध गर्दा पनि त्यसतर्फ सरकारले ध्यान नै दिइरहेको छैन,’ डा. कार्कीले, 'सरकारले देखाएको यो रैवयाले हामी आन्दोलनमा उत्रिन बाध्य भएका हौं। यस बाहेक हामीसँग अब कुनै विकल्प नै बाँकी छैन।’

मसिंर ७ मा स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्यका १९ वटा संगठनहरूले १८ बुँदे ज्ञापन पत्र बुझाएका थिए। 

‘ज्ञापन पत्रमा उल्लेखित विषयहरूमा मन्त्रालयले वार्ताका लागि आह्वान गरोस् र छलफलबाट समस्या समधान होस भन्ने हामी चाहन्थ्यौं,’ डा. कार्कीले भने, 'हालसम्म पनि सरकारले हाम्रा मागमा कुनै चासो नदेखाएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।'

स्वास्थ्यकर्मीको पेसागत हकहित तथा समस्या नबुझ्ने सरकार धेरै दिन सत्तामा टिक्न नसक्ने उनको चेतावनी छ।

कोरोनालगायत जनताको अन्य जटिल रोगको सम्पूर्ण उपचार राज्यले निःशुल्क गर्नुपर्ने, आइसियु र भेन्टिलेटरलगायत उपकरणको संख्या बढाउनुपर्ने, कोरोनाको परीक्षण, उपचारको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई दिइने भनिएको जोखिमभत्ता, बीमा लगायतका सुविधा सहज तरिकाले उपलब्ध गराउनुपर्ने, निश्चित मापदण्डका आधारमा सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको व्यवस्था हुनुपर्नेलगाय स्वास्थ्यकर्मीका माग छन्।


Leave a Reply

Your email address will not be published.