नेपाल-भारत सीमा : उता खुला, यता बन्द, नेपाली नपाएर सुक्दैछन् भारतीय बजार 

नेपाल-भारत सीमा : उता खुला, यता बन्द, नेपाली नपाएर सुक्दैछन् भारतीय बजार 

डुब्न लागेको सूर्यका मधुर किरण छरिएको खेतमा किसान गहुँ छर्ने जोहो गर्दै थिए।

घरपालुवा जनावरका गोबरले लतपतिएको पक्की सडकमा मानिस ओहोर-दोहोर गरिरहेका थिए। 

नेपाल-भारत दुवैले आ-आफ्नातिर 'स्वागत र धन्यवाद' लेखिएको एउटा ठूलो गेट सुनसान थियो।

छेउमै नेपालतिर एक सशस्त्र प्रहरी ‘ड्युटी’ मा थिए। उनको हातमा एउटा सानो लठ्ठी थियो र कम्मरमा खुकुरी। बन्द‌ुक भने थिएन।

पूर्वतिरको खेतभरि मानिसको हुल थियो। झिसमिसे साँझ हुने बेला हुल अझ थपियो।

उनीहरू धनुषाको जटही नाकामा साँझपख भारतबाट नेपालतिर आइरहेका थिए।

केही साना-ठूला झोला र कुम्लो बोकेका उनीहरू महिला, बालबालिका अनि वृद्धहरूसमेत थिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी अहिले त्यहाँ तीनवटा चेकपोस्ट छन्।

तर, कुनै पनि पोस्टका प्रहरीले ती हुलका हुल मानिसलाई केही सोधेनन्।

सरासर आउन-जान दिइरहे, केही भनेनन्। स्वास्थ्य चेकजाँचको त कुरै भएन।

‘अब त बन्द गरिराख्न‌ुको के अर्थ रह्यो र?,’ ड्युटीमा उभिएका एक सशस्त्र प्रहरीले भने, ‘अब कसलाई आऊ भन्नु कसलाई नआऊ भन्नु!’

उनका अनुसार दैनिकजसो १ हजारभन्दा धेरै मानिस यो नाकाबाट अहिले आउने-जाने गर्छन्। 

सिमानाको गेट पुग्ने मुख्य बाटोमा रहेको पुल पनि वर्षाको भेलले भत्काइदिएको छ। 

भारतबाट आउनेहरू  पिपरौन र उमगावँ बजारसम्म गाडीमा आउँछन्। अनि, नेपालतिर प्रहरी पोस्टकै छेउमै कुरिरहेका मोटरगाडी अनि अटो रिक्सा चढेर जनकपुरतिर लाग्छन्। वा, त्यहीँबाट आ-आफ्नो ठाउँतिर लाग्छन्। 

औपचारिक रूपमा नाका बन्द भए पनि छेउछाउका खेतबारीबाट मानिसको बाक्लो आउजाउ भइरहेकै छ। 

नियमित र मुख्य बाटोमा प्रहरीका चेकपोस्ट भए पनि नेपाल र भारतका ती खेतबारी आपसमै जोडिएका छन्। 

केही मिटरका दुरीमा सेता सीमा स्तम्भबाहेक नेपाल-भारत छुट्ट्याउने अरू केही संकेत सिमानामा छैनन्। 

सिमानामा धर्ना 

२०७२ सालमा संविधान जारी भइसकेपछि त्यसलाई अस्विकार गर्दै ‘मधेसवादी’ दलहरूले त्यो बेला नेपाल–सीमामा धर्ना बसेर सिमानाहरू बन्द गरिदिएका थिए। 

भारतले त्यसलाई नै मुद्दा बनायो र महिनौंसम्म अघोषित ‘नाकाबन्दी’ लगायो। 

नेता दशगजामै धर्ना बसिरहेका छन्। तर, यसपालि भने उनीहरूले नाका खोल्न माग गरेका छन्। 

तराईका धेरैजसो जिल्लामा अहिले जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता-कार्यकर्ताले नाका खोल्न भन्दै धर्ना दिइरहेका छन्। 

उनीहरू मूलसडकमा धर्ना बसेर ‘जनताको आउजाउमा समस्या भयो’ भनेर नाका खुलाउन माग गरिरहेका छन् भने छेउकै खेतबारीबाट नेपाल-भारत आउने-जानेको लर्को पनि उत्तिकै छ। 

अघिल्ला साता जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति निकालेर लामो समयसम्म सिमानाका बन्द हुँदा अर्थतन्त्र धाराशयी हुनुका साथै तराई-मधेशका जनताको जीवन कष्टकर भएको भन्दै तत्काल खुला गर्न माग गरेका थिए। 

‘जनताको कृषि, शिक्षा, स्वास्थ्य उपचार, रोजगार, आर्थिक, सामाजिकलगायत क्षेत्रमा गम्भीर समस्या देखापरिरहेका छन्। तसर्थ, जनताको जीवन थप कष्टकर हुन नदिन सरकारले भारतसँग जोडिएका सिमानाका तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्नुपर्दछ,’ उनीहरूले विज्ञप्तिमा माग गरेका छन्। 

त्यस्तै, नेविसंघ महोत्तरीका अध्यक्ष आशुतोष झा 'नविन' ले लामो समयदेखि नाका बन्द भएपछि सीमासँग जोडिएका जिल्लाका जनजीवनमा समस्या हुन थालेको भन्दै धर्ना दिइएको बताए।

सीमाका भारतीय बजारको बर्बादी

नेपालसँग जोडिएका धेरैजसो भारतीय बजारका प्रमुख ग्राहक नेपाली नै हुन्। अर्थात्, भारतीय बजार चल्ने प्रमुख आधार भनेका वरिपरिका नेपाली उपभोक्त्ता नै हुन्।

उनीहरूकै कारण सिमानाका भारतीय बजार सधैं ‘गुल्जार’ हुन्छन्। 

भारतमा केही सामान नेपाली बजारभन्दा निकै सस्तोमा पाइन्छ। र, धेरैजसो नेपाली किनमेलका लागि भारतीय बजारमै पुग्छन्, चाहे नेपाली बजारमा पर्याप्त सरसामान किन नहोस्। 

तर, सीमानाका बन्द छन्। कोरोना भाइरस महामारी नियन्त्रणका लागि भन्दै सरकारले गत वर्ष चैत ११ देखि पूर्णरूपमा सीमानाकाहरू बन्द गरेको हो। त्यसपछि ती नाका खुलेका छैनन्। 

भारतले पनि नाकाहरू बन्द गरिदिएको थियो। तर, गत कात्तिकमा खुला गरिदियो। 

सुरुसुरुमा सीमानाका बन्द हुँदा धेरै मार नेपाल फर्किनेलाई परेको थियो। 

भारतमा कोरोना संक्रमण बढ्दै जाँदा रोजगारीका लागि त्यहाँ रहेका नेपाली धामाधम नेपाल फर्किन खोजेका थिए। 

तर, नेपालले पनि नाका बन्द गरिसकेको थियो। र, ‘आफ्नै देश’ फर्किन प्रवासी नेपालीले सीमानामा खुब संघर्ष गर्नुपर्‍याे। 

र, अहिले भारतले नाका खोले पनि नेपाल सरकारले नाका खोल्ने आधिकारिक निर्णय गरिनसकेका कारण सबैभन्दा बढी मार भारतीय बजारले खेपिरहेको छ। 

नेपालसँग जोडिएका उत्तर प्रदेश, बिहार र पश्चिम बङ्गालका धेरै बजारमा अहिले व्यापार छैन। 

किनकि, नेपालतिरबाट नाका नखुलेका कारण किनमेल गर्न नेपाली ग्राहक भारतीय बजार गएका छैनन्। 

यसले नेपाली बजारलाई त राम्रै भएको छ। नत्र सबै नेपाली ग्राहक भारतीय बजार गइदिएपछि 'लकडाउन' भन्दा अघिका दिनमा सिमानाका नेपाली बजार लगभग सुनासान जस्तै हुन्थे।

सिमानाकै भारतीय बजारमा व्यापारीलाई नेपाली ग्राहक धान्न धौ-धौ हुन्थ्यो भने नेपालतिरका व्यापारी भने रुँघेर बस्नुपर्ने स्थिति थियो। 

त्यो बेला कतिपय सिमानाका नेपाली व्यापारीले ‘स्वदेशमै किनमेल गरौं, स्वाभिमानी बनौं’ भन्ने अभियान पनि चलाएका थिए। 

तर, अहिले सिमानाका भारतीय व्यापारीमा भने एक किसिमको बेचैनी छ। नेपाली ग्राहक नआएपछिको सबैभन्दा धेरै छटपटी भने उनीहरूमै छ। 

केही समयअघि बिहार तथा युपीका व्यापार संगठनहरूले नेपालसँग वार्ता गरेर सिमानाका खुलाइदिन आग्रह गर्दै आफ्ना जिल्लाधिकारीलाई ज्ञापनपत्र लेखेका थिए। 

‘हाम्रो व्यापार-व्यवसाय नेपालको पहिलो लकडाउनमा बन्द भएर नखुलेपछि धेरै असर गरेको छ। हाम्रो व्यापारको भविष्य यही सीमाले निर्धारण गरेको छ,’ पत्रमा व्यापारीहरूले लेखेका थिए। 

नेपाली ग्राहकलाई नै भारतीय बजारका ‘भाग्य विधाता’ भन्दै व्यापारीहरूले भनेका थिए, ‘यहाँका व्यापारीहरूको अवस्था एकदम नाजुक छ र कयौं डिप्रेसनमा गइसकेका छन्। अब पनि नाका खुलेनन् भने व्यापारीहरूको यहाँबाट उठिबास लाग्नेछ।’ 

औपचारिक रूपमा सरकारले नाका बन्द नै गरे पनि किनमेलकै लागि लुकिछिपी भारतीय बजार जाने क्रम बढेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले बताए। 

‘नेपाली बजारमा केही फरक आए पनि उत्तिसारो फरक भने छैन किनकि नाका बन्द भए पनि लुकिछिपी भारतीय बजार जानेहरू त गइरहेका छन्। उतै किनमेल गरिरहेका छन्,’ उनले भने, ‘जनकपुरका हकमा भने त्यस्तो छैन। बरु नाका बन्द हुँदा यहाँ आउने भारतीय पर्यटक आउन पाएका छैनन् र जनकपुरलाई त झन् घाटा नै छ।’


Leave a Reply

Your email address will not be published.