सामाजिक सञ्जालमा अश्लिल तस्बिर राखिदिने धम्की दिने दुईजना पक्राउ

सामाजिक सञ्जालमा अश्लिल तस्बिर राखिदिने धम्की दिने दुईजना पक्राउ

फेसबुक एकाउन्ट ह्याक गरेर पैसा ठगी गरेको आरोपमा बारा प्रहरीले एक युवतीसहित दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी सीतापुर गाउँपालिका–३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी इटहरी उपमहानगरपालिका–४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेको प्रहरीले जनाएको छ।

साह र गिरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने एक महिलालाई ३० हजार रुपैयाँ माग गर्दै अश्लिल तस्बिर सामाजिक सञ्जालमा राखिदिने धम्की दिएका थिए।

फेसबुकमार्फत उनीहरूको त्यस्तो धम्कीपछि ती महिलाले आइएमई मार्फत ३० हजार नगदपनि पठाएर प्रहरीलाई जानकारी गराएकी थिइन्।

महिलाले दिएको जानकारीका आधारमा खोजतलास गर्दै जाँदा नगद माग गर्दै सामाजिक सञ्जालमा अश्लिल तस्बिर राखिदिने धम्की दिने साह र गिरी रहेको प्रहरीले पत्ता लगाएको थियो।

बाराबाट खटिएको प्रहरी टोलीले दुबैजनालाई आइएमईबाट रकम झिकिइरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पक्राउ परेका दुबैजनालाई आपराधिक लाभ मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.