कोहलपुर र खजुरामा १५ सैय्याको अस्पताल भवन शिलान्यास

कोहलपुर र खजुरामा १५ सैय्याको अस्पताल भवन शिलान्यास

बाँकेको कोहलपुर र खजुरामा १५ सैय्याको अस्पताल निर्माण गरिने भएको छ। केन्द्रीय सरकारको नीति अनुसार बाँकेका तीन स्थानमा १५ सैय्याको अस्पताल निर्माण गर्ने उद्देश्य अनुसार कोहलपुर र खजुरामा सोमबार भवन शिलान्यास गरिएको हो। 

यसअघि आइतबार राप्तिसोनारीको बैजापुरमा रहेको स्वास्थ्य चौकीलाई राप्तीसोनारी अस्पतालका रुपमा स्तरोन्नती गरिएको थियो।

सोमबार बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथक र लुम्बिनी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले संयुक्त रुपमा कोहलपुर अस्पताल भवनको शिलान्यास गरेका छन्।

कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको नगर स्वास्थ्य कार्यालयलाई नै १५ सैय्याको अस्पतालमा स्तरोन्नती गर्न लागिएको कोहलपुर नगर स्वास्थ्य प्रमुख डिल्ली पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार केन्द्रीय सरकारको १८ करोड लागतमा नगर स्वास्थ्य कार्यालय परिसरमै कोहलपुर अस्पतालको नयाँ भवन निर्माण गर्न लागिएको हो।

त्यसैगरी खजुरा–३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल बनाइने भएको छ। खजुरा अस्पतालको बाँके क्षेत्र नम्बर ३ का सांसद नन्दलाल रोकायले सोमबार एक समारोहका बीच भवन शिलान्यास गरेका छन्। 

संघीय सरकारको १८ करोड ६ लाख रुपैयाँको लागतमा निर्माण हुने खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपतिले जानकारी दिए। खजुरामा ५० सैय्याको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा रहेको छ। जुन पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल हो।


Leave a Reply

Your email address will not be published.