नेकपा सचिवालय बैठक : यस्तो छ दुवै पक्षको तयारी

नेकपा सचिवालय बैठक : यस्तो छ दुवै पक्षको तयारी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक मंगलबार बस्दैछ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको सचिवालय बैठकमा आफ्नो प्रस्ताव गरिसकेपछि मंगलबार अर्को बैठक बस्न लागेको हो।

कात्तिक २८ मा बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको १९ पन्ने प्रस्तावको जवाफमा प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा ३८ पन्ने ‘काउन्टर’ प्रस्ताव पेस गरेका थिए।

सचिवालय बैठकको पूर्वसन्ध्यामा दुवै पक्ष रणनीति बनाउन जुटेका छन्।

प्रचण्ड पक्ष मंगलबार बस्ने सचिवालय बैठकमा हालसम्म आदानप्रदान भएका सबै कागजात छलफलका लागि पेस गर्ने तयारीमा छ।

अध्यक्ष ओलीलाई बैठक बोलाउन गरिएको आग्रह पत्रसहित त्यसपछि पेस भएका सम्पूर्ण पत्र स्थायी कमिटी बैठकमा पेस गर्ने प्रचण्ड पक्षको तयारी छ।

ओली पक्षभने सचिवालय बैठकमा पेस भएका प्रस्ताव स्थायी कमिटीमा जान नहुने पक्षमा देखिएको छ। मंगलबार सचिवालय बैठकबाट साझा प्रस्ताव तयार पार्ने निर्णय गराएर स्थायी कमिटीमा पेस गर्नुपर्ने ओली पक्षको सोच छ। 

साझा प्रस्ताव तयार पार्ने सहमति नजुटेको खण्डमा प्रचण्डले पेस गरेको प्रस्ताव फिर्ता वा संशोधन हुनुपर्ने अडान ओली पक्षको छ।

तर, प्रचण्ड निकट एक नेताले सचिवालय बैठकमा पेस भइसकेको प्रस्ताव फिर्ता वा संशोधन हुने कुनै सम्भावना नरहेको बताए। 

नेकपा केन्द्रीय सदस्य रामकुमार शर्मा एकपटक पेस भइसकेको प्रस्ताव फिर्ता हुने कुरै नरहेको बताउँछन्। शर्माका अनुसार सचिवालयबाट स्थायी कमिटी हुँदै पेस भएका प्रस्ताव अब केन्द्रीय कमिटीसम्म पुग्छ।

नेकपाकै अर्का केन्द्रीय सदस्य सुमन प्याकुरेल भने पछिल्लो समय पेस भएका प्रस्ताव टेकेर हिँड्दा एकता प्रक्रिया नै संकटमा पर्नसक्ने बताउँछन्।

‘कार्यकारी अध्यक्षले पेस गर्नुभएको प्रस्तावमा बढी आक्रोस पोखिएको छ, त्यसको जवाफका साथ पेस भएको प्रस्तावमा अर्का अध्यक्षले गम्भीर कुरा उठाउनुभएको छ,’ प्याकुरेल भन्छन्, ‘यो कुन प्लेटफर्मले हल गर्ने हो? अहिले आएका प्रस्तावमाथि निर्णय गर्दा समस्या निम्तिन सक्ने छ।’

पार्टीभित्रको संघात्मक स्थितिलाई खलल नपु-याई महाधिवेशनको ‘फ्लोर’ खुला गर्नुबाहेक अरू कुनै विकल्प नरहेको प्याकुरेलले बताए।

‘भदौ २६ गतेको स्थायी कमिटीको निर्णय टेकेर महाधिवेशनतर्फ अघि बढेर वैचारिक बहसको सुरुवात हुनुपर्दछ,’ उनी भन्छन्, ‘महाधिवेशनमार्फत निष्कर्ष निकालिनुपर्दछ। योबाहेक कुनै उपाय गरिए पार्टी एकीकृत रहने सम्भावना रहँदैन।’

तर, केन्द्रीय सदस्य शर्मा भने बैठक नै बस्न नसकेका बेला छलफल सुरु हुनुलाई सकारात्मक रहेको बताउँदै अहिलेका समस्या सचिवालय र स्थायी कमिटीबाट समाधान गर्नुपर्ने उल्लेख गरेका छन्।

अहिलेसम्म आएका प्रस्ताव पार्टीको औपचारिक प्रस्ताव भइसकेकाले तीनवटै कमिटीमा छलफल हुने शर्माले बताए।

‘मंगलबारको बैठक सहमतिमा तोकिएको छ,’ शर्मा भन्छन्, ‘अब ऊँट पहाडमुनि आएको छ, यसको फैसला पार्टीले गर्छ।’

दुवै प्रस्तावमाथि सचिवालय र स्थायी कमिटीमा छलफल हुने बताउँदै शर्माले निर्णय नमान्ने व्यक्तिलाई पार्टीले कारबाही गर्ने बताए।

‘दुवैको कमजोर र मजबुत पक्षमाथि छलफल हुनेछ, पार्टीले कमजोर ठहर गर्ने नेताले आफ्नो गल्ती स्वीकार गरे निकास आउँछ,’ उनले भने, ‘तर, आत्मालोचना नगर्ने, गल्ती स्वीकार नगर्ने र निर्णय नमान्नेलाई पार्टीले कारबाही गर्छ।’


Leave a Reply

Your email address will not be published.