पुछारबाट दोस्रो स्थानमा रहेको टोलीसँग हार्‍यो लेस्टर सिटी

पुछारबाट दोस्रो स्थानमा रहेको टोलीसँग हार्‍यो लेस्टर सिटी

इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा अंक तालिकाको अन्तिमबाट दोस्रो स्थानमा रहेको (१९ औं) फूलह्याम विजयी भएको छ। 

प्रभावशाली जित निकाल्ने क्रममा फूलह्यामले अंक तालिकाको चौथो स्थानमा रहेको लेस्टर सिटीलाई २–१ ले पराजित गर्‍यो। जितपछि फूलह्याम १७ औं स्थानमा उक्लिएको छ। लेस्टर सिटीको लगातार यो दोस्रो हार हो।

फूलह्यामले दुवै गोल पहिलो हाफमा गरेको थियो। उसका लागि खेलको ३० औं मिनेटमा एडेमोला लुकम्यानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको आठ मिनेटपछि फूलह्यामले अर्को गोल थप्यो। ३८ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै इभान क्याभालेरीयोले गोल गर्दै टोलीलाई जिततर्फ अघि बढाए। त्यसपछि पहिलो हाफमा फूलह्यामले २–० को अग्रता बनायो।

पहिलो हाफको नतिजा ८६ औं मिनेटसम्म कायम रह्यो। ८६ औं मिनेटमा लेस्टरका हार्वे वन्र्सले गोल गर्दै खेलमा फर्कने आशा देखाएपनि त्यसपछि गोल थप्न नसक्दा टोलीले पराजय व्यहोर्नु पर्यो। पराजित लेस्टरले १० खेलबाट १८ अंक जोडेको छ।

यता, सोमबार राति नै भएको अर्को खेलमा पनि वेस्ट ह्याम युनाइटेडले एस्टन भिल्लालाई २–१ ले नै पराजित गरेको छ। जितसँगै ११ औं स्थानमा रहेको वेस्ट ह्याम पाँचौ स्थानमा उक्लिएको छ। 

वेस्ट ह्यामले खेलको दोस्रो मिनेटमा नै एन्जेलो ओग्बोनाको गोलबाट खेलमा अग्रता बनाएको थियो। तर, २५ औं मिनेटमा एस्टन भिल्लाका ज्याक ग्रेलिसले गोल गर्दै खेललाई बराबरीमा ल्याए। पहिलो हाफ १–१ को बराबरीमा टुङ्गीयो।

तर, यो बराबरी धेरै बेर टिक्न सकेन। दोस्रो हाफ सुरु भएको पहिलो मिनेट अर्थात् ४६ औं मिनेटमा जेरड बोवेनले वेस्ट ह्यामका लागि विजयी गोल गर्न सफल भए। त्यसपछि गोलका लागि दुवैतर्फबाट भएका प्रयास सफल बन्न सकेनन् र वेस्ट ह्याम महत्वपूर्ण जित निकाल्न सफल भयो।


Leave a Reply

Your email address will not be published.