पुर्खाले दान दिएको मन्दिरको जग्गा सिध्याउँदैछन् भूमाफिया

पुर्खाले दान दिएको मन्दिरको जग्गा सिध्याउँदैछन् भूमाफिया

दाङ देउखुरी गढवा गाउँपालिका-४ स्थित जंगलभित्र एउटा ऐतिहासिक ‘कुटी’ छ। 

थारु समुदायको पौराणिकता जोडिएको यो ठाउँ ‘जंगलकुटी’ का नामबाट पनि चिनिन्छ। 

पौराणिक महत्व बोकेको यो जंगलकुटी केही वर्षअघि मात्रै चर्चामा आएको थियो। 

पर्यटकीय स्थलका रूपमा भर्खरैमात्रै चिनिन थालेको जंगलकुटीमाथि अहिले भूमाफियाले आँखा गाडेका छन्। 

र, यो कुटीको नाममा रहेको बिघौं जग्गा भूमाफियाहरूले टुक्रा पार्न सुरु गरिसकेका छन्। 

यो थारु समुदायको पौराणिक ‘धाम’ का रूपमा पनि चिनिन्छ। 

भूमाफियाको गिद्दे नजर

यो कुटीमा आस्था राख्ने थारुका पुर्खाहरूले त्यसका लागि जमिन दान गरेका थिए। 

तर, त्यो बेला कुनै धाम वा मन्दिरका नाममा जमिन दर्ता गर्ने चलन थिएन। 

त्यो बेला पुजारीका नाममा त्यो जमिन दर्ता गर्ने सहमति गाउँलेले गरे। 

त्यहाँ पूजा गर्ने पुजारीको ‘पुस्तान्तरण’ हुँदै गयो, जमिन पनि जो पुजारी हुन्छ उसैको नाममा सर्दै गयो। 

जंगल क्षेत्रको झन्डै २५ बिघा जमिनमध्ये केही अहिले भूमाफियाहरूले बाँडफाँट गरिसकेका छन्। 

उक्त धामका पुजारीमार्फत जग्गा कारोबारीहरूले केही जमिन खरिद गरेका छन्। तथापि, उनीहरूले खरिद गरेको जग्गा आफ्नो नाममा नभई अन्य निकटस्थका नाममा ‘पास’ गरेका छन्। 

‘झन्डै पाँच बिघा जमिन किनबेच भएको छ,’ उक्त वडाका  अध्यक्ष गुलाम मोहम्मद जागा मुसलमानले भने, ‘जग्गा पासका लागि सिफारिस माग गरेपछि मैले वडाको सिफारिस दिएको हुँ।’

यो जमिन पास गर्नका लागि उनले थुप्रै ‘दबाब’ खेप्नुपरेको दाबी पनि गरेका छन्। 

‘सुरुमा त यो मन्दिरको जमिन हो, धार्मिक आस्थामाथि केही चलखेल गर्नहुन्नँ भनेर मैले सिफारिस नै गरिनँ,’ उनले आयोमेलसँग भने, ‘पछि मलाई धेरै ठुल्ठूला नेताहरूको दबाब पनि आयो। अनि त्यो जमिन पहिलादेखि नै किनबेच भइसकेको नजिर पनि रहेछ। त्यसपछि म सिफारिस दिन बाध्य भएँ।’ 

थारुहरूको आस्थासँग जोडिएका कारण उनले थारु समुदायसँग पनि छलफल गरेको बताए। 

‘मैले थारु कल्याणकारिणी सभाका नेताहरूसँग पनि छलफल गरेँ, उहाँहरूले पनि सिफारिस दिनू भन्नुभयो,’ उनले भने, ‘जग्गा कारोबारीहरूले सिफारिस नदिएको भनेर जिल्ला प्रशासनमा मुद्दा पनि हालेछन्, दुई–तीनपटक गाउँलेलाई लिएर जिल्ला प्रशासन पनि पुगेँ। तर, रोक्न सकिनँ।’ 

भएको जग्गा–जमिन बेच्दै गएपछि धाम पूरै कंगाल हुने भएका कारण उनले त्यो जमिन बेचेर आएको रकममध्ये १ करोडजति मन्दिरकै कोषमा राख्न भने सहमत गराए। 

त्यही ठाउँमा पुस्तौंदेखि मुस्लिम समुदायले पनि केही जमिन ‘कब्रस्थान’ (चिहान) का रूपमा पनि प्रयोग गर्दै आएका छन्। 

वडाध्यक्ष मुसलमानले त्यो जमिन भने स्थानीय मुस्लिम समुदायलाई बेच्न सहमत गराएका छन्। 

‘चलेकै रेटमा त्यो कब्रस्थान भने स्थानीय समुदायलाई बेच्न भनेको छु,’ उनले भने, ‘त्यसका लागि स्थानीयले नै पैसा जुटाएर जमिनको पैसा तिर्नेछन्।’ 

थारु समुदायकै नेतादेखि अरू पनि राजनीतिक दलका नेताहरूको दबाब खेप्न नसकेर त्यो जमिन बेच्न सिफारिस दिएको उनले दाबी गरे। 

‘सुरुदेखि मलाई जग्गा पासका लागि सिफारिस दिनुपर्‍यो भनेर दबाब आइरहेको थियो,’ उनले भने, ‘तर, पछिल्लोपटक त मैले उक्त दबाब थेग्नै नसक्ने अवस्था भयो, अनि सिफारिस दिन बाध्य भएँ।’

उनका अनुसार यो दबाब दिनेमा उच्च ओहदामै रहेका जनप्रतिनिधिसमेत छन्। तर, उनले नाम भने खुलाएनन्। 

यसका लागि दबाब दिने मुख्य कारोबारी त्यहीँका स्थानीय वीरेन्द्र चौधरी हुन्। 

तत्कालीन माओवादीबाट छुट्टिएर ‘थरुहट’ आन्दोलनमा लागेका चौधरीकै कमान्डमा ‘थरुहट’ गठन भएको थियो।
 
थरुहट आन्दोलन भताभुङ्ग भएपछि भने उनले पार्टी फेर्दै गए। स्थानीय तहमा ठेक्कापट्टाको काममा पनि हात हालेका उनले पछिल्लो समय जग्गा कारोबारमा पनि राम्रो हैकम जमाएका छन्। 

काठ, ढुङ्गा, गिट्टी, बालुवा ठेक्कापट्टाका थुप्रै मुद्दा उनले खेपिसकेका छन्। हातहतियार तथा खरखजानाको मुद्दामा पनि धेरैपटक मुछिइसकेका छन्। 

वडाअध्यक्ष मुसलमानका अनुसार अहिले त्यो जमिन सबै वीरेन्द्र चौधरीले आफ्नो नाममा मात्रै राखेका छैनन्। 

आफ्नै समूहका रामस्वरुप चौधरी, अयोध्याप्रसाद चौधरी, रामऔतार चौधरी, रामलाल चौधरी, प्रेमलाल चौधरीलगायतका नाममा वडाले सिफारिस दिएको उनले बताए। 

लुम्बिनी प्रदेशको राजधानी अब दाङको यही क्षेत्रमा फैलिनेछ। 

त्यसैले यहाँ अहिले जग्गा कारोबारीको सक्रियता पनि बढिरहेको छ। 

वडाध्यक्ष मसुलमानका अनुसार अहिले यहाँ प्रतिकठ्ठा १ लाख १० हजार रुपैयाँभन्दा बढी मूल्यमा कारोबार चलिरहेको छ। 

यस्तो छ जग्गाको इतिहास

थारु समुदायको पवित्र धार्मिक स्थल जंगलकुटीलाई त्यस क्षेत्रका थारु समुदायले पुस्तौंदेखि संरक्षण तथा प्रवद्र्धन गर्दै आएका थिए। 

यो धाममा सुरुमा रहेका बाघनाथ बाबाले मन्दिरको थैलीबाट केही जमिन जोरजाम गरे। 

स्थानीय एक महिलाले पवित्र धार्मिक स्थललाई २५ बिघा जग्गा दान गरेकी थिइन्। 

त्यो बेला करिब ७५ बिघा जमिन जंगलकुटीका लागि जोडिएको थियो।

तर, यो बेला उक्त मन्दिर दर्ता नभएपछि जग्गा पनि मन्दिरको नाममा दर्ता हुन सकेन। 

अनि स्थानीयको सहमतिबमोजिम जग्गा मन्दिरको नाममा दर्ता नहोउन्जेल महन्थकै नाममा पास गर्ने सहमति भयो। 

मन्दिरका सुरुका पुजारी बाघनाथ बाबाको निधनपछि अर्की एक महिला पुजारी बनेर मन्दिरमा भित्रिइन्। 

बाघनाथ बाबाको नाममा दर्ता भएको जग्गा ती महिलाको नाममा नामसारी भयो। ती महिला पुजारीले आफ्ना छोरी-ज्वाइँका नाममा जग्गा पास गरिदिइन्। 

ती महिला पुजारीको पनि निधन भएपछि मन्दिरमा मोहनदास नाम गरेका अर्का पुजारी भित्रिए। 

महिला पुजारीका ज्वाइँका नाममा पास भएको उक्त जग्गा तत्कालीन मन्दिर संरक्षण समितिले मोहनदासको नाममा पास गरायो। 

उनले आफ्ना कान्छा छोरा देवीसिंह (हालका पुजारी) का नाममा उक्त जग्गा पास गरिदिए। 

देवीसिंहले आफूसहित तीन छोराको नाममा जग्गा भागबण्डा गरेर पास गरिदिएको स्थानीयको दाबी छ।

देवीसिंहसहित उनका तीनै छोराको नाममा पास भएको जग्गामध्ये अहिले केही बिक्री भएको हो। 

जग्गा उपभोग उपलब्ध गराउने भन्दै किसानहरूलाई फर्काइएको छ। 

यसअघि किसानहरूले उक्त जग्गा धामको भएको भन्दै धामकै नाममा पास हुनुपर्ने बताउँदै आएका थिए। 

तर, धामको नाममा भने एक टुक्रा पनि जग्गा पास हुने छाँट छैन। जग्गा पासका लागि भएको सहमतिअनुसार धामलाई जग्गा बिक्री भएवापत केही रकम कोषमा जम्मा गर्ने भनिएको छ।

‘धामलाई जग्गा बेचेर आएको रकममध्ये केही कोषमा जम्मा गर्ने भन्ने सहमति भएको छ भन्ने सुनेको छु,’ वडाध्यक्ष मुसलमानले भने, ‘त्योबाहेक बाँकी कुरा त मलाई थाहा छैन।’ 

सुरुवाती चरणमा पाँच कठ्ठाहाराहारी किनबेच भइसकेको यो धामको बचेको अन्य जग्गा पनि बिक्रीको तयारी भइरहेको समबद्ध स्रोतले जानकारी दियो। अहिले वीरेन्द्र चौधरीलगायतका नाममा करिब पाँच बिघा जमिन किनबेच भएको छ।

यो मन्दिर दर्ता भइसकेपछि व्यक्तिको नाममा पास हुँदै आएको जग्गा मन्दिरकै नाममा दर्ता गर्ने प्रक्रिया मन्दिर संरक्षण समितिले थालेको थियो।

यसबारे जानकारहरूले सुरुमा यो मन्दिरको नाममा रहेको जग्गा झन्डै ७५ बिघा रहे पनि पछि घटेर १६ बिघामा झरेको बताए। 

तर, यो जग्गा मोहीसमेत लागेको भन्दै मोही कट्टा गर्दा जग्गा घटेको तर्क पनि गरिएको छ।


Leave a Reply

Your email address will not be published.