नेकपाले जनतालाई गम्भीर धोका दिएको छ : नेता महर

नेकपाले जनतालाई गम्भीर धोका दिएको छ : नेता महर

 

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाले नेपाली जनतालाई गम्भीर धोका दिएको आरोप लगाएका छन्। 

नागरिक संकटमा रहेका बेला नेकपा नेतृत्व र सरकार शक्तिकै अभ्यासमा तल्लिन रहेको बताउँदै नेता महरले जनताको दु:खलाई हदैसम्मको नजरअन्दाज गरिएको बताए। 'कोरोना महामारीले मुलुकको अर्थतन्त्र र नागरिकको ज्यान खतरामा छ', नेता महरले प्रश्न गरे‌, 'सरकार के गर्दैछ, सत्तारुढ दल के गर्दैछ?'

नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका महरले स्कुल अफ डेमोक्रेसी रुपन्देहीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै केपी शर्मा ओली नेतृत्वको सरकारको अयोग्यताका कारण देशभरका युवामा नैराश्यता छाएको बताए। नेता महरले सरकारका कुकृत्यले युवाहरू डिप्रेशनमा जाने अवस्था आएको बताए। 

अब युवाहरूलाई नयाँ आशा र नयाँ भरोशा दिलाउनुपर्ने तथा त्यसको नेतृत्व प्रतिपक्ष कांग्रेसले गर्नुपर्ने नेता महरले बताए। उनले पार्टीको आसन्न महाधिवेसनमा युवालाई स्थानीय स्तरदेखि केन्द्रसम्म नै स्थान दिएर कांग्रेसले उदाहरण पेश गर्नुपर्ने समेत बताए। 

युवा देशको विकास र समृद्धिको मुहान भएको नेता महरले बताए। युवा जागे देशमा व्याप्त विकृति, विसंगति, अन्याय र अत्याचारका विरुद्धको आवाज बुलन्द हुने उनको भनाइ छ। 

नेता महरले सरकार भ्रष्ट्राचारको आहलमा डुबेको बताउँदै युवाहरूले यसकाविरुद्ध लाग्ने बेला बताए।


Leave a Reply

Your email address will not be published.