मलका लागि डिलर नियुक्ति सिफारिस गर्न पालिकाहरूलाई निर्देशन

मलका लागि डिलर नियुक्ति सिफारिस गर्न पालिकाहरूलाई निर्देशन

संघ सरकारले रासायनिक मल बिक्रीवितरणका लागि डिलर नियुक्तिका निम्ति सिफारिस गर्न स्थानीय पालिकालाई निर्देशन दिएको छ।

मल वितरण प्रणालीलाई पारदर्शी बनाउने भन्दै मन्त्रिपरिषद्को भदौ १ गतेको बैठकले ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७’ स्वीकृत गरी स्थानीय तह र प्रदेशलाई पनि अधिकार दिएकामा कतिपय स्थानमा कार्यान्वयन हुन सकेको थिएन।

यो अवस्थामा कृषि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् सबै स्थानीय तहलाई परिपत्र गरी मल बिक्रेताको संख्या निर्धारण गर्न, बिक्रेताका लागि कार्यक्षेत्र तोक्न तथा बिक्रेता नियुक्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेड र  साल्ट ट्रेडिङ कर्पोरेसन समक्ष सिफारिस गर्न भनेको हो।

यसअघि कृषि र साल्ट ट्रेडिङले सहकारीमार्फत मल बिक्री गर्दै आएकामा अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ मा स्थानीय तहलाई समेत अधिकार दिइएको छ।

सहकारी संस्था, फर्म वा कम्पनीले मल बिक्री गर्न सम्बन्धित स्थानीय तहको सिफारिस र विगतका दुई आर्थिक वर्षर्को लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि, नापतौल गर्ने मेसिन, गोदामघर, सूचना प्रविधिलगायत भौतिक पूर्वाधारको विवरण पेस गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।


Leave a Reply

Your email address will not be published.