मालपोत कार्यालयमै कुटिए पत्रकार

मालपोत कार्यालयमै कुटिए पत्रकार

मालपोत कार्यालय दमकमा घुस लिएको भिडियो खिचेको भन्दै झापाका एकजना टिभी पत्रकारमाथि कार्यालय परिसरभित्रै आक्रमण भएको छ।

मालपोत कार्यालय दमकमा मंगलबार दिउँसो माउन्टेन टेलिभिजनका झापा संवाददाता खगेन्द्र घिमिरेमाथि आक्रमण भएको हो।

कार्यालयभित्रै पत्रकार घिमिरेमाथि कर्मचारी इन्द्र राजवंशीसहित लेखापढी व्यवसायीले आक्रमण गरेका हुन्। आक्रमणबाट पत्रकार घिमिरेलाई सामान्य चोट लागेको बताइएको छ। पत्रकार घिमिरेले मालपोत कार्यालयमा कर्मचारी राजवंशीलाई सेवाग्राही सुरेश साहले १० हजार घुस दिएको भिडियो खिचेका थिए।

साविक शिवगञ्ज गाविस १ को जग्गा रोक्का गर्ने विषयमा सेवाग्राही साहले कर्मचारी राजवंशीलाई कार्यालयभित्रै घुस दिएको दृश्य पत्रकार घिमिरेले खिचेका थिए।

'घुस दिँदै गरेको भिडियो खिचेको भन्दै मसहित क्यामेरा पर्सन भास्कर श्रेष्ठ माथी  क्यामेरा खोस्दै आक्रमण गरे,' पत्रकार घिमिरेले भने, 'कर्मचारीले घुस लिएपछि त्यस विषयमा कार्यालय प्रमुख तारा ढुंगेलसँग बुझ्न जाँदा उनकै अगाडि कर्मचारी राजवंशी र  लेखापढीहरूले आक्रमण  गरे।' 

आक्रमणकारीले पत्रकार घिमिरेलाई अनुहारमा दुई मुक्का प्रहार गर्नुका साथै लछारपछार गरेका हुन्।

स्थानीय क्लिनिकमा उपचार गराएका पत्रकार घिमिरेले इलाका प्रहरी कार्यालय दमकमा कर्मचारी  राजवंशी विरुद्ध किटानी जाहेरी दिएका छन्।


Leave a Reply

Your email address will not be published.

थप समाचार