कोरोनाले बढाउँदै छ फोक्सो र मिर्गौला बिरामी

कोरोनाले बढाउँदै छ फोक्सो र मिर्गौला बिरामी

कोरोना भाइरस महामारी सुरु भएयता विस्तारै यसले फोक्सो तथा मिर्गौैला रोगका बिरामी बढाउन थालेको छ। कोरोना भाइरस संक्रमितका फोक्सोका साथसाथै मिर्गौलामा पनि असर परेको चिकित्सकहरूले बताएका छन्। यही कारण भविष्यमा ठूलो संख्यामा मिर्गौलाका बिरामी हुनसक्ने सम्भावना तीव्र भएको गएको छ। यिनै सन्दर्भमा मोरङस्थित विराट मेडिकल कलेज तथा टिचिङ अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. रविन राईसँग आयोमेल संवाददाता रेणु त्वानाबासुले गरेको कुराकानी :

डायलिसिस किन गर्नुपर्छ?

जब दुवै मिर्गौला (किडनी) ले काम गरिरहेका छैनन्, त्यस अवस्थामा कृत्रिम तरिकाले किडनीको काम गर्ने विधिलाई डायलिसिस भनिन्छ। डायलिसिस एक प्रक्रिया हो जुन कृत्रिम रूपमा फोहोर उत्पादन र शरीरमा संकलन गरिएको बढी पानी मिल्छ जुन किडनी विफलताको कारण हो। डायलिसिस पूर्ण किडनी असफलता वा अन्तिम चरणको किडनी रोग वा तीव्र मिर्गौलामा चोट लागेका बिरामीका लागि जीवन रक्षा गर्ने प्राविधिक उपचार हो।

डायलिसिस कहिले गर्नुपर्ने हुन्छ?

जब मिर्गाैलाको दक्षता ८० देखि ९० प्रतिशतले घट्छ, यो अवस्था अन्तिम चरणको मिर्गौला रोग हो। यसमा फोहोर उत्पादन र तरल पदार्थ शरीरबाट बाहिर निस्कन सक्दैनन्। विषाक्त पदार्थ जस्तै, क्रिएटिनिन र अन्य नाइट्रोजन फोहोर पदार्थका रूपमा शरीरमा जम्मा गर्दा बान्ता, थकान, सुजन र सास फेर्नेजस्ता लक्षण निम्त्याउँछन्। यिनीहरूलाई सामूहिक रूपमा यूरेमिया भनिन्छ। यस्तो समयमा, सामान्य चिकित्सा व्यवस्थापन अपर्याप्त हुन्छ र बिरामीले डायलिसिस सुरु गर्नुपर्छ। डायलिसिस किडनीको कार्यका लागि एक प्रभावी विकल्प हो।

के डायलिसिसले मिर्गौलालाई फेरि काम गर्ने बनाउँछ?

होइन, मिर्गौला फेल भएका बिरामीमा डायलिसिस गराइसकेपछि फेरि मिर्गाैलाले काम गर्दैन। मिर्गाैला फेल भएका बिरामीमा डायलिसिस मिर्गौलाको कामका लागि विकल्पमात्र हो। शरीर स्वास्थ राख्न मिर्गौला फेल भएका बिरामीले नियमित डायलिसिस गराउनु अतिआवश्यक छ।

तर, अकस्मात केही समयका लागि मिर्गौला फेल भएका बिरामीले भने छोटो अवधिका लागि डायलिसिस गराउनु आवश्यक हुन्छ। त्यस्ता बिरामीको मिर्गौला केही दिन पछि फेरि पूर्णरूपमा काम गर्न थालेपछि पछि डायलिसिस गराउनुपर्दैन।

कोरोना भाइरसले मिर्गौलामा असर पार्छ कि पार्दैन?

पार्छ, कोरोनाले फोक्सोका साथसाथै किडनीमा पनि असर पार्ने गरेको छ। अहिले डायलिसिस गराइराख्नेमा पनि कोरोना संक्रमण भएको छ। साथै कोरोना संक्रमण भएर निको भएकाको मिर्गौलामा असर परेका पनि छन्। भविष्यमा धेरै मिर्गौलाका बिरामी हुनसक्ने लक्षण देखिन्छ। जुन एकदम दुःखद अवस्था हो।

अहिले विराट अस्पतालमा डायलिसिस भइरहेको छ कि छैन?

अहिले अस्पतालमा निरन्तर डायलिसिस भइरहेका छन्। कोही बिरामीलाई पनि घर फिर्ता पठाउनुपरेको छैन। अहिले केही नियमित डायलिसिस गरिरहका बिरामीमा कोरोना संक्रमण भइरहेको छ। यसले गर्दा डायलिसिस गर्नुपर्ने बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले अस्पतालले एउटा मेसिन कोरोना संक्रमितका लागि भनेर छुट्टाएको छ। कोरोना संक्रमितलाई त्यहाँ उपचार गर्ने गरेका छौं।

मिर्गौला बिरामीलाई कोरोना संक्रमण हुने जोखिम कत्तिको छ?

यति नै भनेर प्रतिशतमा त भन्न सकिँदैन। तर, इम्युनिटी पावर कम भएकालाई कोरोनाले छिट्टै समाउने भएकाले यसका आधारमा किडनी बिरामीमा पनि अरू व्यक्तिभन्दा कम इम्युनिटी पावर हुन्छ। त्यसैले किडनी बिरामीलाई पनि कोरोना लाग्ने निकै जोखिम छ।

मिर्गौला फेल भएका बिरामीलाई कोरोना लागे निको हुने सम्भावना कति हुन्छ?

एकदम कम हुन्छ। अहिलेसम्म कोरोनाबाट मृत्यु भएका बिरामी धेरै दिर्घरोगी भएकाको नै मृत्यु भएको देखिरहेका छौं। त्यसकारण यो मिर्गौलाको रोग पनि एक प्रकारको दीर्घरोग भएकै कारण कोरोना लागेको खण्डमा निको हुने सम्भावना अरू बिरामीभन्दा कम छ। यसकारण अहिले स्वस्थ मान्छे त कोरोना लागेर सिकिस्त भइरहेका छन् भने मिर्गौलाका बिरामी अस्पतालमा भर्ना भइरहेका बिरामीभन्दा नि हुन्छ, डायलिसिस गराइराख्नुपर्छ।

डायलिसिस हप्तामा कतिपटक गर्नुपर्छ?

बिरामीको अवस्था हेरेर हुन्छ। सबैलाई यतिचोटि नै भनेर हुँदैन। सामान्यतयाः हप्तामा एकचोटि गर्नुपर्ने हुन्छ। तर, बिरामीको अवस्था अलि बढी सिकिस्त भए हप्तामा दुई–तीन पटकसम्म गराउनुपर्ने हुन्छ।

कति प्रकारका डायलिसिस हुन्छन्?

डायलिसिस दुई प्रकारका हुन्छन्। आकस्मिक एवम् दीर्घरोगी डायलिसिस हुन्छ। आकस्मिकमा चाहिँ केही दुर्घटना भएका बेला मिर्गौलामा असर परेकालाई डायलिसिस गराउने हुन्छ। पछि एक–दुईचोटि गराइसकेपछि उनीहरूलाई गर्नुपर्ने हुँदैन।

एकचोटि डायलिसिस गर्दा कति खर्च हुन्छ?

सुरुमा मिर्गौला फेल भएका बिरामीलाई हाम्रो अस्पतालमा ६ देखि ८ हजार रुपैयाँसम्म लाग्ने गर्छ। त्यसपछि निरन्तर डायलिसिस गर्ने बेलामा ३–४ हजारसम्म खर्च लाग्छ। अहिले सरकारले डायलिसिसिका लागि छुटै बिमा हुन्छ भनेको छ। त्यो भएको खण्डमा मिर्गौला बिरामीलाई एकदम सजिलो हुन्छ। यो बिमा सकेसम्म चाँडै आएको खण्डमा मिर्गौला रोगी बिरामीका लागि एकदम फाइदाजनक हुनेछ।

मिर्गौलाले काम नगर्ने बिरामीलाई डायलिसिसबाहेक अर्को कुनै उपाय छैन?

छ, किन नहुनु। मिर्गौलाका बिरामीलाई अर्को उपाय भनेको मिर्गौला प्रत्यारोपण हो। जुन गर्न सकेको खण्डमा यो डायलिसिसभन्दा नि राम्रो हो। तर, मिर्गौला प्रत्यारोपण गर्न धेरै पैसा लाग्ने र मिर्गौला दिने व्यक्ति खोज्नुपर्ने भएका कारण धेरै समय लाग्ने भएर सबै बिरामीले गर्न नसक्ने परिस्थिति छ। 

त्यसैले पैसा हुनेले गरिरहेका छन् तर आर्थिक अवस्था कमजोर भएकाले चाहेर पनि गर्न सकेको अवस्था छैन। त्यसैले चाहेर वा नचाहेर डायलिसिस गराउन बाध्य छन् मिर्गौला बिरामी। मिर्गौला प्रत्यारोपण नगरेका बिरामीले जीवनभर डायलिसिस गराइरहनुपर्छ। साधारण भाषामा भन्नुपर्दा बाँच्नका लागि भए पनि डायलिसिस गर्नुपर्छ।

मिर्गौला के–के कारणले फेल हुन्छ?

पहिलो मधुमेहका बिरामी, त्यसपछि मधुमेहबाट ब्लड प्रेसर घटबढ हुने बिरामीको मिर्गौलाले विस्तारै काम गर्न छाडेको हुन्छ। ब्लड प्रेसर र युरिन इन्फेक्सनका कारण पनि मिर्गौला फेल हुनसक्छ। यस्ता बिरामीको मिर्गौला फेल हुने सम्भावना बढी हुन्छ। साथै यी बिरामीले खानपिनमा ध्यान दिन नसकेको खण्डमा पनि चाँडै नै मिर्गौलाले काम गर्न छाड्ने सम्भावना हु्न्छ।

अहिले विराट मेडिकल अस्पतालमा दिनको कतिजनाको डायलिसिस गरिन्छ?

अस्पतालमा जम्मा ११ वटा डायलिसिस गर्ने मेसिन छ। जसमा हामीले दिनको १० देखि १५ जनासम्म डायलिसिस गराउने गरेका छौं। डायलिसिस गराउन आएका बिरामीलाई अहिलेसम्म घर फर्काउनुपरेको छैन। यसमा पनि हामी सन्तुष्ट छौं। डायलिसिसका लागि नियमित वार्डमा चार–पाँचजना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् भने कोभिडका बिरामीका लागि छुट्ट्याएको एउटा डायलिसिस मेसिनमा दुईजना स्टाफ राखेर डायलिसिस सेवा दिईरहेका छौं।


Leave a Reply

Your email address will not be published.