१ करोड बढी ठग्ने महिलाले गरिन् प्रहरीमा आत्मसमर्पण 

१ करोड बढी ठग्ने महिलाले गरिन् प्रहरीमा आत्मसमर्पण 

आफन्त, साथीभाइ र छरछिमेकीको १ करोड बढी रकम असुलेर असोजदेखि फरार भएकी झापाकी एक महिलाले प्रहरीसामु आत्मसमर्पण गरेकी छिन्। 

बिर्तामोड नगरपालिका–३ की चन्द्रकला वाग्ले अधिकारी प्रहरी चौकी बिर्ताबजारको सम्पर्कमा आएकी इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

उनी महिला समूहको रकमसमेत लिएर फरार भएकी पीडित इन्दिरा तिम्सिनाले बताइन्। जग्गा बेचेर दिने भन्दै आफ्नो १ लाख ७० हजार  र महिला समूहको साढे ५ लाख रुपैयाँसमेत उनले लिएर भागेको तिम्सिनाले बताइन्।

स्थानीय देवी राईले आफूलाई जग्गा दिन्छु भनेर बैनासमेत गरेपछि अधिकारीले जग्गा अर्कै व्यक्तिलाई पास गरिदिएको सुनाइन्।     ‘मलाई जग्गा दिन्छु भनेपछि १३ लाख रुपैयाँ बैना दिएँ, पछि जग्गा त अर्कैलाई बेचिछन्’, देवीले भनिन्।

स्थानीय चन्द्र प्रसाईंले आफू पनि पीडित भएको बताए। सात लाख रुपैयाँ नगद र विवाहमा जाने भनेर श्रीमती र आमाबाट लगेको सुनसमेत फिर्ता नदिएको प्रसाईंको दाबी छ। 

अधिकारीले श्रीमान् विदेशमा भएका महिलालाई ठगेको पाइएको छ। कोहीसँग सापटी, कोहीसँग व्याजमा गरी उनले धेरैजनासँग रकम लिएको पीडित बताउँछन्। 

उनले  देवी राईको १४ लाख २० हजार, कुलकुमारी राईको ४ लाख ६० हजार, गोमा ढुंगानाको १ लाख २६ हजार, विमला थापाको २ लाख ५० हजार, रमा बस्नेतको १ लाख ३५ हजार, राममाया तामाङको १ लाख ७० हजार, सबिना बस्नेतको २ लाख, विष्णु प्रसाईंको ८ लाख र साढे ५ तोला सुन, मन्जु खड्काको सुन, सुकमाया राईको १ लाख, रन्जना मगरको १ लाख ७० हजार, मन्जु पौडेल घिमिरेको २ लाख ४० हजार, रनमायाको १ तोला सुन लगेको बताइएको छ। ठगीनेमा प्रायः सबै महिला छन्। 

अधिकारीले मीना सिटौलासँग पनि २० लाख रुपैयाँ लिएकी थिइन्। तर, सो रकम जग्गा बेचेर फिर्ता गरेको जनाइएको । जग्गा बेचेको तीन दिनपछि उनी राति सुटुक्क फरार भएको जानुका थापा मगरले बताइन्।

उनी प्रहरी सम्पर्कमा आए पनि ठगिने महिलाले न्याय पाउन सकेका छैनन्। इलाका प्रहरी कार्यालय अनारमनी जाँदा नगरपालिका देखाउने अनि नगरपालिका जाँदा प्रहरी चौकी बिर्ताबजार देखाएर आफूहरुलाई न्याय पाउनबाट बञ्चित गर्न खोजिएको देवी राईले गुनासो गरिन्।                              

छलफलका लागि अधिकारीसहित इप्रका पुगेका पीडितलाई लेनदेनको विषय प्रहरीले हेर्न नमिल्ने भन्दै नगरपालिका पठाइएको थियो। कुनै पनि निकायले समस्यालाई गम्भीर रुपमा नलिइदिएपछि आफूहरु कानुनी उपचार खोज्न लागिपरेको जानुका थापा मगरले बताइन्।

३८ वर्षीया अधिकारीको  बिर्तामोड–३ शान्तिटोलमा ९ धुर जग्गा र टीनको छानो भएको घर थियो। सो घरजग्गासमेत बिक्री गरी उनी असोज २८ गते राति फरार भएकी थिइन। 

पाँचथर हिलिहाङ गाउँपालिकाको भालुचोक माइती भएकी उनी २०६३ सालमा भवानी अधिकारीसँग विवाह भएपछि बिर्तामोडमा बस्दै आएकी थिइन्।


Leave a Reply

Your email address will not be published.