नेकपा सचिवालय बैठक निर्धारित समयमा नहुने

नेकपा सचिवालय बैठक निर्धारित समयमा नहुने

आज अपराह्न १ बजेका लागि बोलाइएको नेपाल कम्यूनिष्ट पार्टीको सचिवालय बैठक निर्धारित समयमा नहुने भएको छ। 

प्रधानमन्त्रीसहित सबै नेताहरूको कार्यव्यस्तताका कारण बैठक केहीबेरका लागि सारिएको नेकपाका प्रवक्त्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

‘प्रधानमन्त्री पनि व्यस्ता हुनुभयो। अरु नेताहरूको कार्यव्यस्तताका कारण बैठक केही बेरा ढिला हुने भएको हो’ उनले भने ‘तर केही समयपछि बैठक आजै बस्छ।’

मंगलबार बसेको बैठकमा यही मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा विवाद भए पनि त्यसबारे अध्यक्षद्वयका साथै अन्य नेताले बोल्ने क्रम सुरु भएको थियो। त्यसकै लागि आज पनि बैठक बस्न लागेको हो। 

पार्टी प्रवक्ता श्रेष्ठले छलफल जारी रहेको यसबीचमा नेताहरु बीच अनौपचारिक छलफल र संवादका प्रक्रिया पनि चलिरहने बताए।

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर मंसिर १८ गते हुने स्थायी कमिटी र २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलग–अलगरुपमा लाने भन्नेबारेमा नेताहरु बीच सहमति जुट्न सकेको छैन। 

मंसिर ३ गतेको सचिवालय बैठकले स्थायी कमिटीको बैठक १८ र केन्द्रीय कमिटीको बैठक २५ गते बोलाउने निर्णय गरेको थियो।

गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो।

पछिल्लाे समय मन्त्रिपरिषदमा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ता बीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वय बीच लिखित आरोप–प्रत्यारोप पत्र सार्वजनिक भएपछि विवादले नयाँ रुप लिएको छ।


Leave a Reply

Your email address will not be published.