यसरी सुरु भयो वीर अस्पतालमा आन्दोलन

यसरी सुरु भयो वीर अस्पतालमा आन्दोलन

मुलुकको जेठो अस्पताल वीरमा कार्यरत स्वास्थ्यकर्मीले कात्तिक २ देखि सुरु गरेको आन्दोलन अझै टुंगोमा पुगेको छैन।

कोभिड महामारीमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकले जोखिम भत्ता पाउनुपर्ने भन्दै सुरु गरेको आन्दोलन अहिले १८ बुँदे मागसहित चर्किंदै गएको छ।

यो आन्दोलनमा विस्तारै स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेसागत संघ–संगठनको साथ र माग थपिँदै गएको छ।

उनीहरूले प्रत्येक दिन एक घन्टा अस्पताल परिसरमा धर्ना तथा प्रदर्शन गरिरहेका छन्। पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरी कार्यलय प्रवेश निषेध पनि जारी राखेका छन्। 

कात्तिक १९ गते इमर्जेन्सी विभागका मेडिकल अधिकृतले सामूहिक राजीनामा दिए पनि सरकारले अहिलेसम्म वार्ता र माग पूरा गर्ने तत्परता देखाएको छैन। 

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीका २३ वटा स्वास्थ्य संगठनले आन्दोलनमा समर्थन रहेको आन्दोलनरत पक्षको दाबी छ।

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी अस्पतालले दिइरहेको भत्ता दिन कुनै पनि हालतमा नसकिने बताए। 

अहिले वीर अस्पताललाई कोभिड अस्पताल भनेपछि बिरामी चाप कम छ। 

‘त्यसमाथि दिनदिनै आन्दोलन गरिरहेका छन् स्वास्थ्यकर्मी तथा कर्मचारीहरू,’ सेन्चुरीले भने। 

भत्ता निरन्तर गर्न आम्दानी हुनुपर्ने उनको भनाइ छ। अहिले स्वास्थ्यकर्मी तथा कर्मचारीले आन्दोलन भएकै कारण बिरामी अस्पताल नआई अन्य अस्पतालमा उपचार गर्न गइरहेको उनको दाबी छ। 

‘यसको सट्टा बरु कसरी अस्पतालको आम्दानी बढाउने भनेर मिलेर सल्लाह सुझाव दिँदै सबैजना मिलेर काम गर्नुपर्ने बेलामा आन्दोलनमा लागेर हुन्छ?,’ डा. सेन्चुरीको प्रश्न छ।  

उनका अनुसार कोरोना महामारीअघि वीरमा दैनिक करिब ३ हजार बिरामी उपचारका लागि आउने गर्थे। अहिले कोभिड अस्पताल भइसकेपछि दिनको २ देखि ३ सयहाराहारी मात्र आइरहेका छन्। 

‘अवस्था यस्तो छ, आम्दानी शून्यबराबर छ अनि यस्तो बेला कर्मचारीलाई कसरी भत्ता दिने?,’ उनले भने, ‘पटक–पटक अस्पतालबाट दिइआएको भत्ता अहिले दिन सक्ने अवस्था छैन् भन्दा पनि निरन्तर आन्दोलन गर्नुको औचित्य छैन।’

अस्पतालको आम्दानी बढेपछि भत्ता दिन अस्पताल तयार रहेको उनी बताउँछन्। 

‘वीरमात्र नभई टिचिङ, पाटनमा पनि समस्या छन् तर खोइ त्यहाँ आन्दोलन भएको छैन त,’ उनले भने, ‘भत्तामात्र दिन नसकेको हो, तलब त दिइरहेका छौं।’


Leave a Reply

Your email address will not be published.