प्रश्नपत्र ‘लिक’ हुने डरले बाँड्न ढिलासुस्ती

प्रश्नपत्र ‘लिक’ हुने डरले बाँड्न ढिलासुस्ती

सञ्चालन हुनै लागेको कक्षा १० र १२ को परीक्षा कोरोना महामारीका कारण स्थगित भयो। 

योसँगै विद्यालय तहका अन्य कक्षाका परीक्षा पनि कति विद्यालयले सम्पन्न गरे भने कतिको बाँकी नै रह्यो। 

माध्यमिक तहका कक्षाका परीक्षा सञ्चालन नै नगरी विद्यालयले स्वमूल्यांकन गरी नतिजा प्रकाशित गरे भने झन्डै आठ महिनापछि कक्षा १२ को परीक्षा सकियो। 

शिक्षा मन्त्रालयको निर्देशनअनुसार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ लाई ४० प्रतिशतको मात्र परीक्षा दिन लगायो भने बाँकी अंक विद्यालय र कक्षा ११ को नतिजाअनुसार मूल्यांक गरी पठाउने व्यवस्था मिलाइयो। 

विद्यालय र विद्यार्थीले जनस्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सकिए पनि परीक्षा बोर्डले परीक्षा तयारीका क्रममा जुन तरिका अपनाएको छ, यसले शिक्षा प्रणलीमा नौलो अभ्यास देखियो तर अविश्वासको ‘झिल्को’ देखिएको छ। 

हुन त बोर्डले सम्पूर्ण विद्यालयलाई विश्वास गरेरै प्रश्नपत्र इमेलमार्फत पठाएको हो, तर परीक्षा सञ्चालन हुन करिब पाँच मिनेटमात्र बाँकी हुँदा प्रश्नपत्र पठाउनुले विद्यालयप्रति अश्विासको पाटो झल्किएको छ। 

कैलाली बहुमुखी क्याम्पसका एक प्राध्यापकले परीक्षा बोर्डले समयमै प्रश्नपत्र नपठाउँदा विद्यार्थीले एक घन्टा परीक्षा हलमा कुर्नुपरेको र फोटोकपी गर्नसमेत समस्या भएको बताएका छन्। 

इन्टरनेट सामाजिक सञ्जालमा बोर्डप्रति आक्रोश पोख्दै उनले लेखेका छन्, ‘राष्ट्रिय परीक्षा बोर्डको जात्रा! कक्षा १२ को परिक्षाका लागि यता कैलाली–कञ्चनपुरमा अरू वर्षजस्तै पोकामा प्रश्नपत्र नपठाएर परिक्षा सुरु हुनुभन्दा पाँच–१० मिनेट अघिमात्र प्रश्नपत्र इमेल गरेर पठाउँछ। अनि पाँच–१० मिनेटमा डाउनलोड गरेर, प्रिन्ट गरेर, १५ सयदेखि २ हजार विद्यार्थी भएको कैलाली क्याम्पसजस्तो ठूलो परीक्षा केन्द्रमा परीक्षा चलाउनुपर्ने बाध्यता छ। त्यसमाथि लेखा (एकाउन्ट) जस्ता चार पन्ने पेपर प्रिन्ट गर्ने, धेरै विषयको पेपर एकैपल्ट बाँड्न कुदाकुद गर्नुपर्ने। परीक्षा सुरु हुनुभन्दा दुई घन्टाअगावै पेपर पठाउनुस् भनेर लाख बिन्ती गर्दा नमान्ने! नपत्याउने!’

उनले जाडोमा परीक्षा सञ्चालन हुनुअगावै हल छिरेका विद्यार्थीलार्ई त्यत्तिकै आधा–एक घन्टा थुनेर, प्रश्नपत्र छापेर, अनि परीक्षा चलाउनुपर्ने बाध्यता भएको भन्दै रिस पोखेका हुन्। 

सरकारले अन्यलाई पत्याए पनि शिक्षकलाई प्रश्नपत्र केही घन्टाअघि पठाउन विश्वास नगरेको उनको भनाइ छ।  

हुन त विश्वास गर्नु पनि कसरी? हरेक वर्ष लगातार प्रश्नपत्र बाहिरिरहेका छन्। 

परीक्षा बोर्डले सिल लगाएर प्रहरी निरीक्षणसहित प्रश्नपत्र परीक्षा हलसम्म पुर्‍याउँछ। तर, त्यत्रो मेहेनत प्रश्नपत्र बाहिरिएसँगै क्षणभरमै खेर जान्छ। 

कक्षा १२ को परीक्षामा पनि विज्ञान संकायको भौतिक शास्त्र (फिजिक्स) विषयको प्रश्नपत्र लिक भएको थियो।
 
परीक्षा हुने दिनअघि नै विद्यार्थीका हातहातमा प्रश्नपत्र आइसकेको थियो। 

सामाजिक सञ्जालमा हावासरी उक्त पेपर फैलियो। 

परीक्षा हुने दिनमा परीक्षा बोर्डले पेपर लिक भएको सूचना गलत भएको र उक्त पेपर नक्कली भएको दाबी गरेको थियो। 

तर, परीक्षा दिने विद्यार्थीका अनुसार पेपर लिक भएकै हो। जुन परीक्षाको दिनअघि नै उनीहरूको हातमा थियो, जाँचमा पनि त्यही आएको उनीहरूको दाबी छ। 

सामाजिक सञ्जालमा उनीहरूले उक्त प्रश्नपत्र सही रहेको भनी छलफल गरेका थिए भने ‘अन्य विषयको पेपर लिक भए एकअर्कालाई पठाऔं है’ भन्दै पेपर मागेका थिए। 

परीक्षा भनेपछि विद्यार्थी डराउनु स्वाभाविक हो। यही डरले लिक भएका प्रश्नपत्र हेर्न आतुर हुन्छन् र विद्यार्थीको मनस्थिति प्रयोग गरेर प्रश्नपत्रको व्यापार भइरहेको पाइन्छ। 

प्रश्नपत्र लिक भएका उदाहरण यो वर्षको मात्र होइन। यस भन्दा अघि पनि कयौंपटक पेपर लिक भएका थिए। 

२०५३ मा एसएलसीको प्रश्नपत्र लिक भएको थियो, जसले गर्दा जाँच स्थगित गरी अन्य दिनका लागि सारिएको थियो। 

२०६२ सालमा प्रश्नपत्र बजारमा खरिद–बिक्री भएका थिए। एसएलसीका दुईवटा पेपर लिक भएका थिए, जसलाई ५ सयदेखि ८ हजार रुपैयाँसम्ममा बेचेको पाइएको थियो। 

२०६६ सालमा बझाङ, कैलाली, बारा, सुनसरी र बाँके जिल्लामा गणित विषयको प्रश्नपत्र बाहिरिएको थियो। 

२०६७ मा कक्षा १२ को फिजिक्स र इकोनोमिक्स (अर्थशास्त्र) को पेपर बाहिरिएको थियो। पेपर ५ हजारदेखि ८ हजारसम्ममा किनबेच भएको थियो। पैसाका लागि दुई शिक्षक र विद्यार्थीले पेपर चोरेका थिए। 

२०७२ मा कक्षा ८ को पेपर रौतहटमा बाहिरिएको थियो। परीक्षाका लागि ८ हजार विद्यार्थी कुरिरहेका थिए तर, पेपर लिक भएको खबरले परीक्षा सारियो।  

त्यस्तै, दुई वर्षअघि २०७५ मा एसईईको अनिवार्य विज्ञान र सामाजिक शिक्षाको पेपर लगातार लिक भएको थियो। परीक्षा दिन गएका विद्यार्थी घण्टौं कुर्दा पनि प्रश्नपत्र पाएनन्। पछि पेपर लिक भएर परीक्षा नै सरेपछि सप्तरीका विद्यार्थीले आन्दोलन गरी तोडफोड पनि गरेका थिए। उक्त पेपर प्रहरीकै हातबाट बाहिरिएको थियो। 

यसरी पटक–पटक पेपर बाहिरिन क्रम बढेपछि परीक्षा बोर्डले कसरी शिक्षक र विद्यालयलाई विश्वास गर्न सक्छ?

तर, विश्वासकै भरमा यस वर्ष कक्षा १२ को परीक्षा सञ्चालन गरिएको बोर्डका उपसचिव जयन्ती सत्यालले बताइन्। 

‘विद्यालयलाई विश्वास गरेरै यस वर्ष होम सेन्टर राखेर प्राचार्यहरूलाई प्रश्नपत्र पठाएका हौं,’ सत्यालले आयोमेलसँग भनिन्, ‘हामीले विश्वास नगरेको भए कक्षा १२ को परीक्षा पहिलेको जस्तो अन्य सेन्टर पारेर हुने थियो र प्रश्नपत्र सिधै शिक्षकलाई किन पठाउँथ्यौं र?’ 

केही प्राविधिक समस्याका कारण प्रश्नपत्र समयमा नपुगेको हुनसक्ने भन्दै सबै विद्यालयलाई एकैपटक प्रश्नपत्र इमेल गरेको उनले बताइन्। परीक्षा सुरु हुनु आधा घन्टा अगाडि नै सबैलाई पेपर पठाएको बताइन्। 

‘कहिलेकाहीँ अविश्वास त हुन्छ नै। हामीले पेपर लिक हुने डरले नै जुन पेपरको जाँच हो त्यही दिन तयार गरेर पठाएका हौं,’ सत्यालले भनिन, ‘विद्यालयलाई फोटोकपी गरेर दिन समस्या पर्छ भनेर ठाउँअनुसार नै प्रश्नपत्र पठाएका हौ।’ 

तर, काठमाडौं उपत्यकाका अन्य विद्यालयले समयमै प्रश्नपत्र नपठाएको भन्दै बोर्डलाई आरोप लगाइरहेका छन्। 

कैलाली बहुमुखी क्याम्पसका अंग्रेजी विषयका प्राध्यापक सीताराम भट्टले झन्डै २ हजार विद्यार्थी रहेका र पाँच मिनेट अगाडि प्रश्नपत्र पठाउँदा फोटोकपी गरेर बाँड्दा एक घन्टा ढिलो भएको बताए। 

‘एकाउन्टको परीक्षा हुने दिन अरू संकायका गरी पाँच विषयका परीक्षा थिए। बोर्डले ढिलो गरी प्रश्नपत्र पठाउँदा अन्य विद्यालयका विद्यार्थीले परीक्षा दिइसकेका थिए। यस्तो बेला झन् पेपर लिक हुनसक्ने सम्भावना थियो,’ उनले भने। 

उनका अनुसार क्याम्पसमा चार भवन छन्। तिनमा परीक्षा दिने २ हजार विद्यार्थी छन्। त्यत्रा विद्यार्थीका लागि प्रश्नपत्र फोटोकपी गरी वितरण गर्न धेरै समय लाग्छ। 

‘हामीले बोर्डलाई दुई घन्टा अगाडि पेपर दिनुस् भनेर आग्रह गर्दा पनि हाम्रो समस्या बुझेनन्,’ भट्टले भने। 

यो समस्या कैलाली क्याम्पसमात्र नभई अन्य शैक्षिक संस्थाको  पनि हो।

तर, परीक्षा बोर्डकी उपसचिव सत्यालले क्षमता र अनुमतिभन्दा बढी विद्यार्थी भर्ना गरेकै कारण यस्तो समस्या आएको बताइन्। 

त्यस्तै बोर्डले विद्यार्थीसँग परीक्षा शुल्क लिए पनि विद्यालयलाई परीक्षा सञ्चालनका लागि सहयोग नगरेको आरोप लागेको छ। 

प्राध्यापक भट्टले परीक्षाका लागि चाहिने उत्तरपुस्तिका, फोटोकपीलगायत विद्यालयमा हुने खर्चका लागि रकम नदिएको बताए। 

‘पहिले बोर्डले परीक्षा सञ्चालन गर्दा उत्तरपुस्तिका र अन्य खर्च आफैं व्यहोर्थे तर हाल विद्यालयले आफैं परीक्षा सञ्चालन गरेपछि यसको खर्च दिनुपर्ने हो,’ उनले भने। 

यसको खण्डन गर्दै उपसचिव सत्यालले सबै विद्यालयलाई परीक्षामा खर्च भएअनुसार भुक्तानी दिने भनेर खर्च शीर्षक नै पठाएको बताइन्। 

‘हामीले हरेक विद्यालयलाई खर्च शीर्षक इमेलमार्फत पठाएका छौं। उहाँहरूले विद्यार्थी संख्या र भूगोलअनुसार आफ्नो खर्च विवरण पठाएपछि हामीले भुक्तानी गरेका छौं। विद्यालयले विवरणसहित बैंक खाता पठाए हामीले भुक्तानी गर्नेछौं,’ उनले भनिन्। 

उनका अनुसार जुन विद्यालयले विवरण ल्याउँछ, उसले खर्च रकम पाउँछ। उनीहरू आफैं नआएसम्म खर्च पठाउन मिल्दैन।  

बोर्डले हरेक विद्यालयका केन्द्राध्यक्षलाई १ हजार, सहायक केन्द्राध्यक्षलाई ७ सय, निरीक्षकलाई ५ सय, कर्मचारीलाई ३ सय ५०, प्रहरीलाई १ सय ५० दिने व्यवस्था गरेको छ।  

त्यस्तै अन्य खर्चका लागि ५ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयलाई ७ हजार रुपैयाँ, ५ सय विद्यार्थी हुनेलाई ६ हजार रुपैयाँ, ४ सय विद्यार्थी हुनेलाई ५ हजार र १ सय विद्यार्थी हुनेलाई ३ हजार दिइने छ। 

प्रश्नपत्र फोटोकपी गरेवापत हिमाली जिल्लाका विद्यालयलाई प्रतिकपी चार रुपैयाँ, पहाडमा तीन र तराईमा २ रुपैयाँ दिइने छ। 

उत्तरपुस्तिका ढुवानीका लागि उपत्यका नजिकका विद्यालयलाई १ हजार, पहाडी जिल्लाका लागि ३ हजार, हिमाली जिल्लालाई ५ हजार र तराईका लागि २ हजार दिने व्यवस्था गरिएको छ। 

उत्तरपुस्तिका परीक्षणका लागि भने प्रतिकपी ३० रुपैयाँ दिने व्यवस्था गरिएको छ।


Leave a Reply

Your email address will not be published.