नेयमार नायक बन्दा युनाइटेडलाई गाह्रो

नेयमार नायक बन्दा युनाइटेडलाई गाह्रो

महत्वपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगको नकआउट छनोट चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ।

पिएसजीको जितसँगै यो समूहबाट नकआउट चरणमा को-को पुग्छ भन्ने टुङ्गो समूह चरणका अन्तिम खेलले लगाउने भएका छन्। 

बुधबार राति भएको खेलमा १० खेलाडीमा सीमित युनाइटेडलाई पिएसजीले ३–१ ले पराजित गर्‍यो। पिएसजीको जितमा नायक बने नेयमार। उनले खेलको छैटौं मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, युनाइटेडका मार्कुस रासफोर्डडे ३२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि पहिलो हाफमा कुनै थप गोल हुन सकेन र नतिजा १–१ को बराबरीमा रह्यो। 

तर, दोस्रो हाफको ६९ औं मिनेटमा पुनः पिएसजीले अग्रता बनायो। यसपटक भने पिएसजीका लागि मार्कुइन्सले गोल गरे। त्यसको एक मिनेटपछि नै युनाइटेड १० खेलाडीमा सीमित बन्न पुग्यो। ७० औं मिनेटमा फ्रेडले रातो कार्ड खाँदै मैदान छोड्नु पर्‍यो। त्यसको फाइदा उठाउँदै नेयमारले इन्जुरी समयमा गोल गरे। उनले ९१ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित पारिदिए। 

समूह 'एच' मा रहेका तीन टोलीको ९/९ अंक भएको छ। तीन वटै टोलीको नकआउट पुग्ने सम्भावना छ। युनाइटेडले समूह चरणको अन्तिम खेल नौं अंक नै रहेको आरबी लेइपजिगसँग खेल्नेछ भने पिएसजीले इस्तानबुलसँग खेल्नेछ।

यसै समूहको अर्को खेलमा लेइपजिगले इस्तानबुललाई ४–३ ले पराजित गर्दै समूहको प्रतिष्पर्धालाई रोमाञ्चक बनाएको थियो।

यस्तै बुधबार नै भएको अर्को खेलमा बार्सिलोना विजयी भएको छ। बार्सिलोनाले समूह चरणमा हालसम्म खेलेका खेलमा शतप्रतिशत जित निकाल्ने क्रममा फेरेन्सभारोसलाई ३–० ले हरायो। बार्सिलोनाले तीनवटै गोल पहिलो हाफमा गरेको थियो। उसका लागि एन्टोनी ग्रिजम्यानले १४ औं, मार्टिन ब्राथवेटले २० औं र डेम्बेलेले २८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

समूह 'जी' मा रहेको बार्सिलोना यसअघि नै नकआउट चरण प्रवेश गरिसेकेको टोली हो। उसले पाँच खेलबाट १५ अंक जोडेको छ। यस समूहबाट युभेन्टस पनि नकआउट चरण प्रवेश गरिसकेको छ। बुधबार राति नै भएको खेलमा उसले डायनामो किभलाई ३–० ले पराजित गर्‍यो।

यस्तै समूह 'इ' बाट चेल्सी र सेभिया नकआउटमा प्रवेश गरेका छन्। बुधबार राति नै भएको खेलमा चेल्सीले सेभियालाई ४–० ले पराजित गरेको थियो। पराजित भएपनि सेभिया अर्को चरण प्रवेश गरेको छ।

अन्य खेलमा क्रास्नोडारले स्टेड रेन्सलाई १–० र क्लब व्रगले जेनिट सेन्ट पिटर्सवर्गलाई ३–० ले पराजित गर्दा बोरुसिया डर्टमन्ड र लाजियोले १–१ को बराबरी खेलेका छन्।


Leave a Reply

Your email address will not be published.