‘सडकले मागेको ज्ञानेन्द्र-पारस होइन, राजसंस्था हो’

‘सडकले मागेको ज्ञानेन्द्र-पारस होइन, राजसंस्था हो’

देशभर ‘राजा’ बोलाउँदै सडक आन्दोलन बाक्लिइरहेको छ। 

राजधानी काठमाडौंमा समेत यस्तै आन्दोलनको तयारी भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्रको सचिवालयले ‘त्यो आन्दोलनसँग कुनै साइनो नरहेको’ भन्यो।

पछिल्लो राजनीतिक परिवर्तनलाई स्विकारे पनि ‘राजसंस्था’ र ‘हिन्दु राष्ट्र’ को मूलमन्त्रबाट अलग हुन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि यो आन्दोलनलाई ‘नैतिक समर्थन’ गरेको छ। 

र, विस्तारै आन्दोलनको दायित्व पनि लिन थालेको छ। 

सडकले मागेको ज्ञानेन्द्र वा पारस हो?

होइन। 

‘राप्रपाले मागेको राजसंस्था हो। फेरि ज्ञानेन्द्र, पारस वा कुनै व्यक्ति तोकिएको होइन,’ राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आयोमेलसँग भने, ‘कुनै व्यक्तिलाई राजा बनाउने भनेर अहिल सडकमा जनता निस्केका होइनन्। एउटा विधिको माग गर्दै आएका हुन्।’

ज्ञानेन्द्रको सचिवालयले अहिले आन्दोलन गरिरहेकाहरूलाई ‘नजिक’ बाटै हेरिरहेको छ। र, आन्दोलनको नेतृत्व गरिरहेका कतिपयलाई त ‘तिमीहरू त्यत्तिकै किन सडकमा उफ्रिरहेको?’ भनेर पनि हप्काएको छ। 

तर, पनि आन्दोलन चर्किरहेको छ। दसैंलगत्तै बुटवलबाट सुरु भएको ‘राजावादी’ आन्दोलन अहिले देशका मुख्य सहर हुँदै राजधानी काठमाडौंमा समेत व्यापक भइसकेको छ। 

‘अब जनता सडकमा आइसकेका छन्। कसैले रोक्ने भन्ने हुँदैन। जनताले कोही व्यक्ति मागेका छैनन्,’ श्रेष्ठ भन्छन्, ‘यो राजसंस्था पुनर्स्थापनाको माग हो। तोकिएको व्यक्तिलाई  फेरि राजा बनाउने होइन।’

उनका अनुसार बहुमत नेपालीको ‘आस्थाविपरीत’ आयातित ‘गणतन्त्र’ मा जनताले धेरै निराशा भोगिसकेका छन्। 

‘त्यसैले त यो एउटा कोर्स करेक्सनको समय पनि हो,’ उनी भन्छन्, ‘एउटा व्यवस्था जनताले भोगिसके र, यो व्यवस्थाले जनताका आकांक्षा पूरा गर्न नसकेको परिणाम पनि हो यो।’

अहिले सडकमा भने उनै राजा ज्ञानेन्द्रका तस्बिरहरू छ्याप्छ्याप्ती पारिएका छन्। 

राप्रपाका एकजना वरिष्ठ नेताको भनाइ पनि यस्तै छ। 

‘सडकमा उठिरहेको यो मागले हामीलाई पनि गम्भीर बनाएको छ। वास्तवमा यो त हाम्रै पार्टीले गर्नुपर्ने आन्दोलन हो,’ उनी भन्छन्, ‘तर, सडकले मागेको फेरि पनि ज्ञानेन्द्र वा पारस भने होइन है!’

उनका अनुसार यदि फेरि राजसंस्था पुनर्स्थापना गर्ने जनमत आयो र त्यसैअनुसार भयो भने, त्यो ‘राजसंस्था’ मा कसलाई राख्ने भन्ने कुराको निक्र्योल त्यही बेला हुन्छ।

‘यो सबै नेपालीसँग जोडिएको भावना हो, राजसंस्था वा हाम्रो धर्मसंस्कृति (हिन्दु धर्म) माथि जुन प्रकारले आघात भइरहेको छ, त्यो अहिले सडकमा पोखिएको हो,’ उनी भन्छन्, ‘गणतन्त्र क्षणिक आवेग थियो। अब त्यो सेलाइसकेको छ। फेरि राजसंस्था नै रहनुपर्छ भन्ने हो।’

राप्रपाको आन्तरिक ‘सर्कुलर’

भर्खरै पार्टी एकता सकेको राप्रपा देशव्यापी ‘एकीकरण’ अभियानमा थियो। 

सांगठनिकदेखि सबै तहमा ‘एकता’ को अभियानमा राप्रपा व्यस्त थियो। 

त्यहीेबेला एकाएक सडकमा ‘राजा आऊ देश बचाऊ’ भन्ने आन्दोलन चर्कियो। 

सुरुमा ती आन्दोलनमा राप्रपाका केही युवा कार्यकर्ता सहभागी भए। विस्तारै आन्दोलन फैलिँदै जान थाल्यो। 

राप्रपाले आधिकारिक रूपमा यो आन्दोलनमा सहभागी हुने भन्ने निर्णय गरिसकेको थिएन। तर, पनि कतिपय ठाउँमा राप्रपाकै नेताहरूले अगुवाइ गरे। 

जस्तो कि नेपालगन्जमा त्यहाँका मेयर धवलसमशेर राणा नै मोटरसाइकल र्‍यालीका प्रमुख ‘आकर्षण’ भए। 

त्यहाँको आन्दोलनको संयोजन राप्रपाकै युवा संगठनका नेताहरू गरेका थिए। 

त्यस्तै हेटौंडामा पनि राप्रपाको जिल्ला संगठन नै आयोजक भइसकेको छ। 

झापामा २० गते हुन लागेको आन्दोलनको नेतृत्व पनि त्यहाँको जिल्ला संगठनले गर्दैछ। 

त्यसका लागि केन्द्रीय नेता राजेन्द्र लिङदेन नै त्यहाँ खटिएका छन्। 

२० गते नै काठमाडौंमा हुने र्‍यालीमा यहाँका जिल्ला संगठनका नेता तथा युवा कार्यकर्ता सहभागी हुन पार्टीले निर्देशन दिएको छ। 

काठमाडौंमा ‘राष्ट्रिय नागरिक आन्दोलन २०७७’ यो आन्दोलनको आयोजक भएको छ। त्यसको संयोजन अधिवक्ताहरू सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले गर्दैछन्।

सुरुमा अलमलमा परेको राप्रपाले अहिले भने यो आन्दोलनको ‘श्रेय’ आफैंले लिनुपर्ने निर्णयमा पुगेको छ। 

त्यसका लागि उसले देशका सबै जिल्ला समितिलाई पत्राचार गरिसकेको प्रचार विभाग प्रमुख श्रेष्ठले बताए। 

‘यो हाम्रै पार्टीको मूल मर्म र उद्देश्यअनुरूप भइरहेको आन्दोलन हो। आस्था मिल्ने भएका कारण हामीले सुरुमा नैतिक समर्थन पनि गरेका थियौं,’ उनले भने, ‘तर, अब देशभरिको यो आन्दोलनको नेतृत्व राप्रपाले नै लिनेछ। अब आन्दोलन रोकिन्नँ।’

उनका अनुसार जिल्लामा हुने यस्ताखाले गतिविधिलाई शान्तिपूर्ण र मर्यादित बनाउनका लागि पार्टीले निर्देशन दिइसकेको छ। 

सामाजिक सञ्जालमा पनि प्रचार

देशभरका सडक तताइरहेको ‘राजावादी’ आन्दोलनको प्रचार अहिले इन्टरनेट सामाजिक सञ्जालमा पनि हुन थालेको छ। 

रोमन अंग्रेजीमा ‘राजा आऊ, देश बचाऊ’ लेखेर राजा ज्ञानेन्द्रको तस्बिरसहितको एउटा सामग्री फेसबुकमा ‘बुस्ट’ भइरहेको छ। त्यसमा श्रीपेच लगाएका राजा ज्ञानेन्द्रको तस्बिर राखिएको छ। 

डिजिएस मिडियाले फेसबुकमा ‘बुस्ट’ गरेको त्यो सामग्रीभित्र विश्वका विभिन्न पाँच देशमा ‘राजा फर्काएका’ घटना विवरण छोटोरूपमा प्रस्तुत गरिएको छ। 

आन्दोलनको सुरुवातमा सामाजिक सञ्जालमा यस्तो कुनै प्रचार प्रसार देखिएको थिएन। 

त्यस्तै २० गते काठमाडौंमा हुने आन्दोलनका लागि पनि प्रचार सामग्री फेसबुकमा ‘बुस्ट’ गरिएको छ। 

‘२० गते माइतीघर जाऔं’ भन्ने सन्देश लेखिएको यो प्रचार सामग्रीमा भने राजा पृथ्वी नारायण शाहको तस्विर राखिएको छ। 

यो सामग्री भने ‘राष्ट्रिय नागरिक आन्दोलन २०७७’ को फेसबुक पेजबाट बुस्ट गरिएको छ।

र, याे पनि

सडकबाट ‘राजा आऊ…’ भन्नेहरू को हुन्?

सडक आन्दोलनसँग मेरो साइनो छैन : ज्ञानेन्द्र

झापामा राप्रपाले १० हजार प्रदर्शनकारी उतार्ने, नेतृत्व राजेन्द्र लिङ्देनले गर्ने


Leave a Reply

Your email address will not be published.