झापामा राप्रपाले १० हजार प्रदर्शनकारी उतार्ने, नेतृत्व राजेन्द्र लिङ्देनले गर्ने

झापामा राप्रपाले १० हजार प्रदर्शनकारी उतार्ने, नेतृत्व राजेन्द्र लिङ्देनले गर्ने

मुलुकमा विभिन्न स्थानमा राजतन्त्रको पक्षमा निरन्तर नाराजुलुस र प्रदर्शन भइरहेका छन्। जसमा हजारौंको सहभागिता हुँदै आएको छ।
झापामा पनि राप्रपाले राजसंस्थाको पक्षमा शक्ति प्रदर्शन गर्दै छ। मंसिर २० गते हुने प्रदर्शनको तयार पनि अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।

अन्यत्र विभिन्न अभियान र संगठनका नामा प्रदर्शन भएपनि झापामा राप्रपा आफैं सडकमा ओर्लने भएको हो।

राप्रपाका झापा सचिव केशव ओझाले भने, ‘अन्यत्र को आयोजक रह्यो, कसले के भन्यो, त्यो उहाँहरुले जवाफ दिने विषय हो। झापामा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रका पक्षमा हुने प्रदर्शनको आयोजना राप्रपा झापाले गरेको हो।’

उनले र्‍यालीको आवश्यक तयारी मूल आयोजक समिति तथा राप्रपा झापाका अध्यक्ष अम्बरबहादुर विष्ट संयोजक रहेको समितिले गरिरहेको बताए।

राप्रपा झापाको ५१ सदस्यीय जिल्ला समिति, जिल्ला स्तरीय पार्टीको महिला समिति, युवक संगठन ट्रेड युनियन महासंघ (टुकन) र जिल्लामा रहेका केन्द्रीय सदस्य मुल आयोजक समितिमा छन्। झापामा राप्रपाका १८ जना केन्द्रीय सदस्य छन्।

 र्‍याली संयोजन तथा व्यवस्थापन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय उपाध्यक्ष ध्रुव उप्रेती नेतृत्वको समितिले गरिरहेको सचिव ओझाले जानकारी दिए। यो समिति १ हजार १ सदस्यीय रहेको छ। 

र्‍यालीका सहभागीले पार्टी र राष्ट्रिय झण्डा प्रयोग गर्नेछन्। ब्यानर संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापनाको नारा लेखिएको हुने छ। साथै भ्रष्टाचार नियन्त्रण, कोरोना संक्रमणमा सरकारको निरीहता, महंगी, अभाव र रासायनिक मल किसानले नपाएको विषय पनि ब्यानरमा समेटिने आयोजक समितिले जनाएको छ। 

सहभागी कति?

र्‍यालीमा १० हजार बढीको सहभागिता रहने राप्रपा झापाले जनाएको छ। सहभागिताका लागि ५ हजार बढीले मोटरसाइकल र पाँचसय बढी जीप, कार तथा भ्यानहरुले नम्बर र नाम लेखाइसकेका संयोजन तथा व्यवस्थापन समितिले जनाएको छ।

सवारी साधन बाहेकका मानिस पनि सहभागी हुने आयोजको दाबी छ।

को-को छन् सहभागी? 

राप्रपाको र्‍यालीमा विश्व हिन्दु महासंघ र त्यसका स्थानीय समितिमा रहेका व्यक्ति सहभागी हुनेछन्।                              

त्यसैगरी बिर्तामोड नगरपालिका, कचनकवक, बाह्रदशीसहित  जिल्लाका अन्य चारवटा गाउँपालिकाबाट मुस्लिम समुदायका धार्मिक संघसंस्था, त्यसमा आबद्ध र मौलानाहरु सहभागी हुनेछन्। 

दमक नगरपालिकाबाट धिमाल, सन्थाल समुदायका व्यक्ति र संस्थाका प्रतिनिधि जातीय पहिचान झल्कने पोसाक र बाजागाजासहित र्‍यालीमा सहभागी हुने जनाइएको छ। 

हिन्दुवादी संघसंस्था र तिनका प्रतिनिधिले सहभागिताका लागि नाम दर्ता गरिसकेको आयोजकले जनाएको छ ।                 

नेपालका लागि नेपाली अभियान र राजावादी संघसंस्थाका प्रतिनिधिले पनि र्‍यालीमा सहभागिताको तयारी गरेका छन्।  

कति लाग्छ र कहाँबाट आउँछ खर्च?

र्‍यालीका लागि डेढदेखि २ लाख खर्च हुने आयोजकले जनाएको छ। त्यसको व्यवस्थापन मुल आयोजक समितिले गरिसकेको जनाइएको छ। 

सहभागी हुने संघसंस्थाले ब्यानर, झण्डा र पेट्रोल खर्च आफैंले बेहोर्ने छन्। कहीँ कतैबाट सहयोग नलिइएको र चन्दा नउठाइएको आयोजकले दाबी गरेको छ। 

‘संकलन गरिएको २ लाख पनि पार्टीले व्यवस्थापन गरेको खर्च होइन’, आयोजक भन्यो, ‘यो हामीले व्यक्तिगत रूपमा ५ सयदेखि ५ हजारसम्मका दरले जम्मा गरेको रकम हो।’

कार्यक्रम गर्न कसैले सहयोग दिएको र ल्याएको बाहिरी चर्चामा कुनै सत्यता नभएको राप्रपा झापाले प्रष्ट पारेको छ।

एउटा र्‍यालीका लागि सहयोग लिनुपर्ने बाध्यता नरहेको आयोजकले बताएको छ।                                                    

छोट्याइयो दुरी 

पूर्वीनाका काँकडभिट्टादेखि मोरङको सीमा दमकसम्म र्‍याली गर्ने भनेर प्रचार गरिए पनि दुरी छोट्याइएको आयोजकले जनाएको छ। 

पूर्वपश्चिम राजमार्गको करिब ५२ किलोमिटर दुरीमा र्‍याली गर्ने भनिएकोमा २२ किलोमिटरमा छोट्याइएको हो। 

अब दमक नभएर बिर्तामोडसम्म मात्रै र्‍याली आयोजना हुनेछ।                            

राजमार्गमा यातायात आवागमनमा समस्या हुने, यात्रुलाई मर्का पर्ने र ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न हुने देखिएपछि र्‍यालीको दुरी छोट्याइएको आयोजकले जनाएको छ।                                             

कसले गर्छ उद्घाटन?

र्‍यालीको उद्घाटन गर्न बाहिर जिल्ला र अन्यत्रबाट कोही पनि नआउने आयोजकले बताएको छ। पार्टी नेता तथा सांसद राजेन्द्र लिङ्देन र जिल्लामा रहेका १८ जना केन्द्रीय सदस्यले काँकडभिट्टामा दिउँसो सवा १२ बजे सामूहिक उद्घाटन गर्ने कार्यक्रम छ।

त्यहाँ औपचारिक कार्यक्रम गरेर र्‍याली पश्चिम लाग्ने छ। बिर्तामोडमा संक्षिप्त कोणसभा र दुई वा तीन वक्ताले सम्बोधन गरेर र्‍याली समापन गरिने छ।

याे पनि

‘सडकले मागेको ज्ञानेन्द्र-पारस होइन, राजसंस्था हो’


Leave a Reply

Your email address will not be published.