अन्तत: बुल्दी पुलमा नाम लेखाए रामचन्द्रले

अन्तत: बुल्दी पुलमा नाम लेखाए रामचन्द्रले

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तत: तनहुँ ब्यास नगरपालिकाको बुल्दी खोलाको पुल उद्घाटन गरेका छन्। 

पुलमा पौडेलको नाममा शिलालेख पनि राखिएको छ। त्यसमा लेखिएको छ- 'प्रतिनिधिसभाका पूर्व सम्माननीय सभामुख एवं नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री श्री रामचन्द्र पौडेलबाट आजकाे मितिमा बुल्दी खोला मोटरेबल पुलको समुद्घाटन सम्पन्न भयो। इतिसंवत २०७७ मंसिर १७ रोज ४ शुभम्।'

नेकपा कार्यकर्ताको अवरोध तथा स्थानीय प्रशासनको निषेधाज्ञापछि बुधबार उद्घाटन गर्न नपाएको पुलको नेता पौडेलले बिहीबार उद्घाटन गरेका हुन्। पौडेललाई बुधबार पुल उद्घाटन गर्दा प्रहरीले ३ घन्टा नियन्त्रणमा लिएको थियो।

२०७३ साल वैशाखमा निमाणको सम्झौता भएको पुलको लागत २ करोड ५४ लाख रुपैयाँ रहेको थियो। पुल २०७५ कात्तिक ९ गते नै निर्माण सम्पन्न भएको हो।

आज पुल उद्घाटन गर्दै नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'सत्ता र शक्तिको दुरुपयोग गरि उपभोक्ता समिति, स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने काम भयो। घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारबाहीको दायरामा ल्याउनु पर्छ भन्ने हाम्रो माग छ।'

उनले तनहुँमा कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि प्रशासन अवरोध गर्नबाट पछि हटेको बताए।

उनले लोकतान्त्रिक मूल्य र मान्यता विपरीत नेपाली जनता, नेपाली कांग्रेसमाथिको घोर अपमान तथा अत्याचारप्रति खेद गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्ध आन्दोलन जारिरहने बताए।


Leave a Reply

Your email address will not be published.