रुखबाट लडिन् ढाड भाँच्चियो, तर जीवन भाँचिनन्

रुखबाट लडिन् ढाड भाँच्चियो, तर जीवन भाँचिनन्

आँखाभित्र आँसु थामिराख्न सकिनन्। जबर्जस्ती रोक्दारोक्दै सलल बग्न थाल्यो। उनको बसमा कहाँ थिए र ती। 

मनको बह छचल्किएर बाहिर निस्कियो। शब्दले बयान नै गर्न सकिन्न उनको व्यथा। 

कक्षा ९ मा पढ्दै थिइन् जब उनी रुखबाट खसिन्। अनि उनको ढाड भाँचियो। 

खोटाङकी हुन् रजनी राई। अहिले २१ वर्षकी भइन्। आफ्नै खुट्टाले उभिन र हिँड्डुल गर्न सक्दिनन्। 

सहारा छ त बस् ह्विलचेयरको। 

आज संसारभरि अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइरहँदा रजनीको मुहारमा कुनै उत्साह छैन। सायद, लाग्दो हो हरेक वर्ष आउँछ अनि उनलाई गिज्याएर जान्छ। 

विगतका दिन सम्झना आउनासाथ उनको भक्कानो छुट्छ। 

किशोर वयकी उनी। उनका आफ्नै सपना थिए, तर ती सबै एकैपटक सोत्तर बनाएर लग्यो उनको अपाङ्गताले। 

ढाड भाँचिएको पीडा त थियो नै। यो सँगसँगै खुट्टाले टेकेर हिँड्न नसकेपछि जीवन सक्किएको तीतो अनुभूति भयो। 

‘तीन वर्ष जति घरभित्र रोएरै बिताएँ,’ उनी सम्झिन्छिन्। 

शरीरिक रूपमा जति पीडा भोगिन्, उनको मानसपटलले पनि त्यतिबेला साथ दिएन। 

सँगैका साथीहरू हिँडेर स्कुल जान्थे अनि उनलाई भेट्न घर आउँथे। साथीहरूका हिँडाइ देखेर उनलाई बडो पिडा हुन्थ्यो। आफूलाई उनीहरूको स्वतन्त्रतासँग दाँजेर मन भारी बनाइरहन्थिन्। 

तर, अब रजनीले अपाङ्गतासँग जिउन सिकिसकेकी छिन्। उनले सिकेकीमात्र छैनन्, जीवनसँग संघर्ष गरेर बाँच्न पनि सिकेकी छिन्। 

रजनी खगेन्द्र नवजीवन केन्द्र जोरपाटीकी ‘राइजिङ स्टार’ हुन्। उनी जानिँदो–नजानिँदो तरिकाले खेलाडी बन्न पुगिन्। 

दुई वर्षअघि काठमाडौंमा उपचार गर्न आएकी थिइन्। 

अपाङ्गता भएकालाई राख्ने छुट्टै ठाउँ छ भनेर सुनेकीले खगेन्द्र नवजीवन केन्द्र पुगिन्। 

यही संस्थामा विभिन्न कार्यक्रम र खेलकुद हुने क्रममा उनले पनि खेलमा भाग लिइन् र जित्न थालिन्।

हालसम्म उनले बास्केटबल, ह्विलचेयर दौड, पौडीजस्ता खेलमा भाग लिएर अग्रता हासिल गरेकी छिन्। 

‘अहिलेसम्म नेपालमा खेल खेल्दा सधैं प्रथम हुने गरेको छु,’ उनले भनिन्।
 
यतिमात्र होइन, उनले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो खुबी देखाइसकेकी छिन्। 

दुबईमा भारत्तोलन प्रतियोगितामा सहभागी भई उपाधि नजिते पनि खेलमा ‘एक्सिलेन्ट प्लेयर’ को उपाधि प्राप्त गरिन्। 

त्यस्तै मलेसियामा बास्केटबल तालिममा जाने मौका पनि पाएकी थिइन्। 

उनका विगतका सारा नमिठा घटना यही सफलताले बिर्साइदिएको छ। 

‘यदि ममाथि त्यो घटना नभएको भए, म कहिल्यै खेलकुदमा अगाडि नै बढ्ने थिइनँ होला,’ उनी भन्छिन्, ‘अनि कहिले विदेश घुम्न पाउने अवसर पाउँन्नथेँ।’  

जीवनका भोगाइबाट सिक्दै अगाडि बढ्दै गर्दा, समाजमा रहेका भौतिक पूर्वाधारले उनलाई अपाङ्गता भएको महसुस गराइरहन्छ। 

रजनी ह्विलचेयरबिना कतै जान सक्दिनन्। तर घर, सडक, अस्पताल, विद्यालय, शैचालय केही पनि अपाङ्गमैत्री छैनन्। घरबाट कतै निस्कौं भने पनि शौचालयको समस्याले च्यापिहाल्छ। 

उनले अपाङ्गमैत्री क्याम्पस नभएकै कारण आफूले इच्छाएको कलेज  र विषय पढ्न पाइनन्। उनले अपाङ्गता भएकालाई उपयक्त रोजगार पनि नभएकोमा गुनासो गरिन्। 

कक्षा १२ उत्तीर्ण गरेकी मात्र थिइन्। क्याम्पस भर्ना हुन आफूलाई सजिलो र ह्विलचेयर छिर्ने कलेज खोजिन् तर कतै पाउन सकिनन्। 

चामुण्डा माध्यमिक विद्यालयको पूर्वाधार आफूअनुकूल भएको थियो तर फेरि क्याम्पसका लागि धाउनुपर्‍यो। 

धेरै ठाउँमा आफ्ना लागि सिट खोज्दा बल्ल कान्ति भैरव क्याम्पसमा सिट सुरक्षित गरिन्। 

‘यो कलेजमा पनि नयाँ भवन बनिरहेको रहेछ। नयाँ भवनमा ह्विलचेयर छिर्ने गरी कक्षा कोठा बनाउने वाचा गरेका छन्। पुरानो संरचना भएका क्याम्पसमा कतै पनि अपाङ्गमैत्री कक्षा बनाइएन,’ उनले भनिन्। 

अपाङ्गता भएका व्यक्तिलाई भौतिक संरचनामा कतैबाट पनि सहयोग नगरेको भन्दै उनले गुनासो पोखिन्। 

‘हामीलाई सरकारले कहिल्यै सहयोग गरेन। सहयोग गर्न नसके पनि अवहेलना चाहिँ नगरिदिए हुन्थ्यो,’ उनले भनिन्। 

त्यस्तै अपाङ्गता भएकालाई हार नमान्न र अध्ययनमा बढी प्राथमिकता दिन उनले जोड दिइन्। 

‘मानिस अशक्त भए पनि यदि ऊ शिक्षित भयो भने कसैले हेप्न सक्दैन र अगाडि बढ्न मद्दत पुग्छ,’ उनले भनिन्।


Leave a Reply

Your email address will not be published.