उपमेयरलाई जलाउन खोजिएको होइन : नेविसंघ  

उपमेयरलाई जलाउन खोजिएको होइन : नेविसंघ  

गाडीभित्रै उपमेयर मिना उप्रेतीलाई जलाउन खोजिएको भनेर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको नेविसंघ झापाले स्पष्ट पारेको छ। उक्त घटनामा नेविसंघको कुनै पनि तह र त्यसमा आबद्ध कार्यकर्ताको संलग्नता नरहेको सभापति राजेन्द्र उप्रेतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आज नेविसंघले देशव्यापी रूपमा सरकारी  गाडी सञ्चालन नगर्न र चलाएको पाइए चाबी खोस्ने कार्यक्रम भए पनि मेचीनगगर नगरपालिकाकी उपमेयर उप्रती चढेको गाडीमा आगो लगाउन खोजिएको र गाडीभित्रै जलाउन खोजिएको भन्ने कुरा कपोलकल्पित र मिथ्या भएको नेविसंघले स्पष्ट पारेको छ। यस्तो गलत प्रचार नगर्न नेविसंघ झापाले उपप्रमुख उप्रेती र सम्बन्धित सबैमा आग्रह गरेको छ।

यसैबीच नेपाली कांग्रेस झापामा रहेका केन्द्रीय तहका एक नेताले  यस्तो घटनामा नेविसंघका नेता कार्यकर्ताको संलग्नता हुन नसक्ने बताएका छन्। उनले झापामा भएको भनिएको घटनामा कुनै सत्यता नभएको उल्लेख गर्दै त्यस्तो आरोप नलगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

उनले नेविसंघका कार्यकर्ताले त्यस्तो नगरेको र कसैले नेविसंघको नाममा त्यस्तो गरेको भए उसलाई कारबाही गरिनुपर्ने बताए। नेविसंघका कार्यकर्ता त्यस्तो गलत काममा लाग्न नसक्ने बताउँदै घटनामा नेविसंघको संलग्नता हुन नसक्ने उनले दाबी गरे।


Leave a Reply

Your email address will not be published.