प्रकृतिसँग ‘आत्मघाती’ युद्ध लड्दैछ मान्छे

प्रकृतिसँग ‘आत्मघाती’ युद्ध लड्दैछ मान्छे

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले प्रकृतिमाथि ‘मानवता’ को युद्ध सुरु भएको भन्दै सकभर सारा विश्वले ‘प्रकृतिसँग शान्तिपूर्ण सम्बन्ध’ लाई प्राथमिकता दिनुपर्ने बताएका छन्। 

प्रकृतिविरुद्ध मान्छेले लडिरहेको यो युद्धलाई उनले मानवजगतकै लागि ‘आत्मघाती’ युद्ध भएको पनि टिप्पणी गरेका छन्। 

‘हामी अहिले एउटा विनाशकारी महामारीको सामना गरिरहेका छौं। बढ्दै गएको विश्व तापमान, पर्यावरणमा भइरहेको तीव्र ह्रासजस्ता नयाँ–नयाँ पर्यावरणीय समस्या समावेशी र दीगो विकासका हाम्रा विश्वव्यापी लक्ष्यलाई अवरोध गरिरहेका छन्,’ कोलम्बिया विश्वविद्यालयको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सकेसम्म हामीले यसलाई सामान्य नै रहन दिऔं किनकि हाम्रो पृथ्वी खल्बलिन थालिसकेको छ।’ 

उनले पहिला नै मानिसले वातावरणीय सन्तुलन खल्बल्याइसकेको भन्दै फेरि पनि कतिपय राष्ट्रले कोरोना महामारीबाट समेत पाठ सिक्न नखोजेकोमा चिन्ता व्यक्त गरे। 

‘मान्छे अझै पनि प्रकृतिसँग लडिरहेको छ। यो मानवजातिकै लागि निकै घातकसिद्ध हुनेछ। प्रकृतिले सधैं त्यसको उल्टो प्रतिक्रिया दिन्छ। र, प्रतिक्रिया प्रकृतिको रिस र बलियो आवेग हुन्छ,’ उनले भने। 

जैविक विविधतामा आइरहेको ह्रास, प्राणीको बढ्दो असामयिक मृत्यु अनि बढ्दो मरुभूमिकरण र बढिरहेको वनविनाश जस्ता प्राकृतिक सन्तुलन खल्बल्याउने क्रियाकलापले झन् खतरा बढाइरहेको उनको भनाइ थियो। 

‘समुद्रहरू प्लास्टिकको फोहोरी थुप्रो निल्न बाध्य भएका छन्। त्यसबाट उत्पन्न हुने कार्बनडाइअक्साइड सहन नसकेर माछाका प्रजाति मरिरहेका छन्। अनि चट्टानहरू खिइएर मासिँदैछन्,’ उनले भने।

प्रदुषित वायु र प्रदुषित जलका कारण हरेक वर्ष ९० लाख मानिसको मृत्यु हुन्छ। अहिले महामारी कारण मृत्यु भएका मानिसको संख्या भन्दा यो करिब ६ गुणा बढी हो। 

र, पनि मानिस जनावरका वासस्थान मास्ने र अतिक्रमण गर्न उद्यत छ। हामीले देख्यौं कि कसरी जनावरबाट मानिसमा भाइरस प्रशार भयो जसका कारण हामी अहिले एउटा घातक महामारीको सामना गरिरहेका छौं।

पग्लिँदो सामुद्रिक हिउँ

विश्व मौसम विज्ञान संगठनले तयार गरेको एक प्रतिवेदनअनुसार अहिले समुद्रहरू पनि तातिँदै जान थालेका छन्। कतिपय समुद्रमा जमेका हिँउ पग्लिने क्रम बढेको छ।  

एकदमै ध्यान दिनुपर्ने कुरा के हो भने अहिले उत्तरी एसियाका धेरै समुद्र, साइबेरियन आर्कटिकजस्ता ठाउँमा ५ डिग्री सेल्सियससम्म तापक्रम बढेको उक्त प्रतिवेदनले देखाएको छ। 

सन् २०२० मा यो तापक्रम करिब ८८ प्रतिशतसम्म बढेको छ। जुलाईदेखि अक्टोबरसम्म हेर्दा यो बीचमा हिउँ निकै न्यूनमात्रामा देखिन्छ। 

प्रतिवेदनअनुसार बितेका ८० वर्षमा पहिलोपटक सबैभन्दा धेरै तापक्रम क्यालिफोर्नियाको ‘डेथ भ्याली’ मा रेकर्ड गरिएको छ। जहाँ गत अगस्ट १६ का दिन तापक्रम ५४.४ डिग्री सेल्सियस पुगेको थियो। 

त्यसैको परिणाम हो बढिरहेका सामुद्रिक चक्रवात र आँधीहरू। 

‘कोरोनाका कारण भएका लकडाउनका बेला अस्थायी रूपमा केही कम भए पनि कार्बनडाइअक्साइड उत्सर्जन अझै बढिरहेकै छ। मिथेन अनि नाइट्रसअक्साइडको तह पनि बढिरहेको छ। र, यो सबैको अर्थ हो, विश्वमा जलवायु नीतिमा चुनौतिहरू थपिनु,’ राष्ट्रसंघका महासिचवले भने।

‘अब स्पष्ट छ, पृथ्वीमाथि भइरहेका यी अराजक क्रियाकलापको जड भनेकै मानवीय क्रियाकलाप नै हुन्। यसको अर्थ मानवीय कार्य नै त्यसको समाधान पनि हो। हामीले नै त्यसलाई समाधान गर्न सक्छौं,’ उनले भने, ‘अब प्रकृतिसँग शान्ति बनाइराख्नु नै २१औं शताब्दीको एउटा निर्णायक काम हो। र, यो हरेक मानव जीवनमा एकदमै उच्च प्राथमिकतामा रहनुपर्ने छ।’

‘यो मानव र पृथ्वीका लागि एक सत्यको आत्मसात गर्ने समय हो। र, विश्वका सबै राजनीतिक नेतृत्वलाई म पेरिस सम्झौताको लक्ष्य प्राप्तिका लागि अघि बढ्न पनि आह्वान गर्दछु,’ अन्त्यमा उनले भने, ‘कोभिडले हामीलाई एउटा सीमासम्म लगेर थन्क्याइदिएको छ। अब समय आइसकेको छ, कि यो प्राकृतिक संसारमा हामीले एकअर्कासँगको सम्बन्ध बदल्नुपर्छ।’ सिएनएनबाट


Leave a Reply

Your email address will not be published.