एकहत्तर वर्षमा नागरिकता पाएका बुमी भन्छन्– अब वृद्धभत्ता पाइन्छ कि नाइँ!

एकहत्तर वर्षमा नागरिकता पाएका बुमी भन्छन्– अब वृद्धभत्ता पाइन्छ कि नाइँ!

उनी जन्मिँदा नेपालमा क्रान्तिको आगो दन्किरहेको थियो। तत्कालीन राणाशासन विरुद्व सुरु भएको जनताको क्रान्ति वरपर उनको जन्म भयो।

मुगुको उत्तरी भेगको सोरु गाउँपालिका–३ भिईका सिंगे बुमीको २००६ सालमा जन्म भएको हो, प्रजातन्त्र आउनु ठिक एक वर्षअघि।

उतिबेला, जहानियाँ राणाशासन विरूद्धको क्रान्तिबीच जनताका अधिकारवादी किरण मौलाइरहेका थिए। 

जवाहरलाल नेहरुको नेतृत्वमा भारत नयाँदिल्लीमा राणा, कांग्रेस र राजाबीच त्रिपक्षीय सम्झौता भयो। नेपाली कांग्रेसको नेतृत्वमा देशैभर चलेको आन्दोलन रोकियो।

जनताको ‘सशस्त्र क्रान्ति’ पछि राणा बडाहाकिमहरूले आत्मसर्मपण गर्दै गए। जनताको सरकार स्थापना हुँदै गयो।

तर, सिंगे बुमीको जीवनमा भने जनताको सरकारको कुनै छाया परेन। 

१४–१५ वर्षको उमेरमा उनी आफन्तसँगै मुगलान पसे।

नेपालमा प्रजातन्त्र स्थापना भइसकेको थियो।

मुगलानी बुमी भने नेपाल–भारत ओहो–दोहोर गरिरहन्थे।

कर्णालीको दुर्गममा जन्मिएका बुमीलाई त्यसपछि मुगलानी जीवनशैलीबाट फुर्सदै भएन।

यस्तै व्यस्तताबीच नेकपा माओवादीले २०५२ सालबाट राजतन्त्र अन्त्य र सङ्घीय गणतन्त्र स्थापनाका लागि विद्रोह सुरु गर्‍यो।

दुर्गममा माओवादीका नारा लेखिन थाले। झण्डा गाडिए। शान्ति सुरक्षा भन्ने शब्दमा मात्र सीमित रह्यो।

बुमीलाई भने मुगलान नै प्यारो लाग्न थाल्यो। सुरक्षा पनि रोजगार पनि।

मुगलानी जीवनशैलीले भ्याइ–नभ्याइ भएका बेला उनी भारतमै अडिए।

वर्ष बित्यो। भित्ताका क्यालेन्डरहरू फेरिए।

‘सधैं मुगलाने पनि हुन सकिन्न नि!,’ जन्मभूमिको मायाले उनी तानिन थाले। 

आखिर मुगलान, मुगलान नै हुन्छ। माया त स्वदेशमा पो बस्छ।

जन्मथलो र परिवार–समाजको मायाले उनी फेरि नेपाल आउजाउ गर्न थाले। निकै कठिन जीवनशैली थियो उनको। सीमामा केरकारदेखि गाउँ पस्दा माओवादी जनसरकारसम्म।

उमेरले पनि नेटो काट्दै गयो। हत्केलाहरू सुक्न थाले। गाला चाउरिन थाल्यो। अब मुगलान जाने क्षमता ह्रास हुँदै थियो। अत्यमा २०६१ सालमा उनी सदैव जन्मभूमिमै जीवनयापन गर्ने सोचसाथ गाउँ फर्किए।

गाउँमा पनि वातावरण सामान्य थिएन। उनका नाति–नातिना उमेरका क्रान्तिमा होमिएका थिए। ‘रेडियो नेपाल’ मा पनि भिडन्त र युद्धका समाचार छिनछिनमा बज्थ्यो। 

‘जनताको सरकार’ ‘जनसरकार’ भइसकेको थियो। गाउँमा जनसरकारले जग्गाधनी पुर्जा बाँड्न थालिसकेको थियो। 

तर, त्यो समय आइपुग्दासम्म बुमीको मनमा भने एउटै चिन्ता थियो, ‘अन्तिम साससम्ममा नेपाली भएर मरुँ!’ उनी नेपाली नागरिकताविहीन थिए।

‘मेरै पालामा धेरै परिवर्तनकारी सपना देखाइए। थरिथरीका सरकार देखियो। तर, पनि म नागरिकताविहीन थिएँ,’ मनको तुवाँलो पोख्दै बुमीले भने, ‘उमेरमा मुगलानले फुर्सद दिएन। उमेरपछि प्रशासनलाई गाउँ पस्न फुर्सद भएन।’

तर, अहिले ७१ वर्षको बुढ्यौलीमा आएर नाम र फोटो टाँसिएको नागरिकता पाउँदा उनलाई उँडु–उँडु लाग्छ। 

‘धन्य, नागरिकता पाइयो। अब यसलाई सधैं सिरानीमुनि राखेर सुत्छु। यसकै माथि अन्तिम सास फेर्न सकुँ।’

बुधबार जिल्ला प्रशासन कार्यालय मुगु आएका बुमीले इलाका प्रशासन कार्यालय सोरुकोटबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्।

नागरिकता पाएपछि अब उनको एउटै प्रश्न छ, ‘वृद्धभत्ता पाइन्छ कि नाइँ?’


Leave a Reply

Your email address will not be published.