तरकारी बेचेरै धानिदो रैछ, अब ‘बम्मै’ किन जानु? 

तरकारी बेचेरै धानिदो रैछ, अब ‘बम्मै’ किन जानु? 

भारत नगई परिवारको खर्च धान्न मुस्किल हुने कैलाली बर्दगोरिया गाउँपालिका–२ झगडपुरका स्थानीयलाई तरकारी खेतीले स्वदेशमै आत्मनिर्भर बनाएको छ। 

दुई वर्ष अघिसम्म चाडबाडमा मात्रै नेपाल आउने र अन्य समय भारतमै रोजगारी गरेर परिवारको आर्थिक व्यवस्थापन गर्ने झगडपुरकी पुष्पादेवी टमटाले तरकारी खेती गरेपछि भारत जानु नपरेको बताइन्। 

‘घरसँगै जोडिएको तीन कठ्ठा जमिनमा तरकारी खेती सुरु गरेकी हुँ,’ उनले भनिन्, ‘तरकारी बेचेर खर्च पुग्न थाल्यो, त्यसयता भारत जानुपरेको छैन।’ 

पुष्पाका श्रीमान सुरेश कामका लागि भारत जाने गर्थे। उनी पनि श्रीमानसँगै उतै गएर जेनतेन काम गर्थिन्। तर, दुई वर्षयता बुढाबुढी घरै बसेर आम्दानी गर्न थालेका छन्। 

अहिले पुष्पाका श्रीमानले घरमै किराना पसल सुरु गरेका छन्। फुर्सदका बेला उनले पनि पुष्पालाई तरकारी खेतीमा सघाउँदै आएका छन्। 

‘यतै बसेर काम गर्न थालेपछि भारतमा भन्दा राम्रो आम्दानी गर्न सफल भएका छौं,’ पुष्पाका श्रीमान सुरेशले भने, ‘श्रीमतीको साहसले हाम्रो भारत यात्रा रोकिएको हो।’ 

तरकारी खेती गरेर पुष्पाले तीन छोरा र एक नन्द गरी चारजनालाई स्कुल पढाउँदै आएकी छिन् भने गाउँमा गठन गरिएका समूहमा जेनतेन बचतसमेत गर्न थालेकी छन्। 

‘सुरुसुरुमा तरकारी खेतीमा लागेर खर्च धान्न सकिँदैन कि भन्ने डर लाग्थ्यो,’ उनले भनिन्, ‘अब भने तरकारी खेतीबाटै बाँच्न सकिन्छ भन्ने हौसला बढेको छ। भारत गएर काम गर्दा जति दुःख हुन्थ्यो, त्यस्तो दुःख पनि भएको छैन।’ 

पुष्पाजस्तै झगडपुरका अन्य महिलाले पनि तरकारी खेती सुरु गरेपछि भारत यात्रा रोकिएको बताए। 

‘तरकारी खेतीले आम्दानी भएको देखेपछि मैले पनि व्यावसायिक तरकारी खेती सुरु गरेकी छु,’ स्थानीय मनदेवी डगौरा थारुले भनिन्, ‘तरकारी खेती थालेपछि श्रीमानसँग खर्चका लागि हात थाप्नुपरेको छैन।’ 

पहिला श्रीमान भारत गएर कमाएको पैसामा घर खर्च धान्नुपर्ने भए पनि अहिले तरकारी खेती थालेपछि आफंै घर खर्च चलाउन र छोराछोरीलाई स्कुल पढाउन सक्षम भएको उनले बताइन्। 

उनले पनि दुई वर्षदेखि नै तरकारी खेती गर्दै आएको बताइन्। पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेर छोराछोरीको स्कुल खर्चसँगै घरमा नुनतेलको जोहो गर्न सहज भएको उनी खुसीसाथ बताउँछिन्। 

तरकारी खेतीले राम्रो आम्दानी हुन थालेपछि झगडपुरका महिलाले हरियाली महिला कृषक समूह गठन गरेका छन्। समूहमा सकेको रकम बचत गर्दै आएका छन्। बचत भएको पैसा समूहककै महिलाले आवश्यक पर्दा न्यून ब्याज दरमा ऋणका रूपमा प्रयोग गर्दै आएका पुष्पाले बताइन्। 

कृषि प्राविधिकको सल्लाह नपाउँदा समस्या

झगडपुरका महिलाले विगत दुई वर्षयता व्यावसायिक तरकारी खेती गर्दै आए पनि हालसम्म कृषि प्राविधिकको सल्लाह भने नपाएको गुनासो गरेका छन्। 

‘हामी परम्परागत तरिकाले नै तरकारी खेती गरेर उत्पादन गर्दै आएका छौं,’ जानकी लुहारले भनिन्, ‘न हामी गाउँपालिका गएका छौं, न त्यहाँका कृषि प्राविधिक कहिल्यै गाउँ आएका छन्।’ 

गाउँका महिलाले उत्पादन गरेको तरकारी स्थानीयस्तरमै बिक्री गर्ने गरेको उनले बताइन्।

गाउँपालिकाका कृषि प्राविधिकले भने गाउँ–गाउँ गएर किसानलाई कृषिसम्बन्धी प्राविधिक ज्ञान उपलब्ध गराउने गरेको बताएका छन्। गाउँपालिकाका कृषि प्राविधिक धीरेन्द्र चौधरीले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने योजनासहित गाउँ–गाउँ गएर किसानलाई आवश्यक परामर्श दिने गरेको बताए। 

‘अहिले एउटाजति कृषक समूह र ७० बढी कृषि फार्म गाउँपालिकामा दर्ता छन्,’ उनले भने, ‘दर्ता भएका सबैलाई कृषि तालिम उपलब्ध गराउँदै आएका छौं। त्यसबाहेक गाउँघरमा कृषि पेसा गर्दै आएका किसानलाई पनि घरमै गएर आवश्यक परामर्श दिँदै आएका छौं।’ 

गाउँपालिकामा उत्पादित कृषि उपज बजारीकरण गर्न हाटबजार सञ्चालन गरिएको उनले बताए। बर्दगोरिया गाउँपालिकाले चालू आर्थिक वर्षका लागि कृषितर्फ ४५ लाख बजेट विनियोजन गरेको छ।


Leave a Reply

Your email address will not be published.