‘हामीले ज्ञानेन्द्रसँग सल्लाह गरेर राजसंस्था चाहिन्छ भनेका होइनौं’

‘हामीले ज्ञानेन्द्रसँग सल्लाह गरेर राजसंस्था चाहिन्छ भनेका होइनौं’

देशभरि सुरु भएको ‘राजावादी’ आन्दोलनको नेतृत्व अब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लिन थालेको छ। दसैंलगत्तै देशभरका मुख्य सहरमा ‘राजा आऊ, देश बचाऊ’ भन्ने आन्दोलन चर्किरहेको छ। 

मंसिर २० गते काठमाडौंमा पनि यस्तै आन्दोलन हुन लागेको छ। झापामा पनि दसौं हजार मानिस सडकमा ओराल्ने तयारी भइरहेको छ। झापामा यसको आयोजना राप्रपाले गरिरहेको छ। 

झापामा राजावादी आन्दोलनको नेतृत्व गर्न खटिएका राप्रपाका नेता तथा सांसद राजेन्द्र लिङदेनसँग आयोमेल संवाददाता  राजेन्द्र गौतमले सोही आन्दोनबारे गरेको कुराकानी :

 के साँच्चै यो ‘राजा’ ल्याउने नै आन्दोलन हो?

राप्रपा नेपालले २०६२–६३ को जनआन्दोलनपछि नै कुनै न कुनै ढंगमा वा अभिभावकीय संस्थाका रूपमा राजतन्त्र आवश्यक छ भनेको हो। त्यो अहिले पनि भनिरहेको छ। आगामी दिनमा पनि यो मुद्दा राप्रपाले निरन्तर उठाउने छ। पछिल्ला दिनमा यो आवाज जनस्तरबाट नै उठेर आएको छ।  यसमा राप्रपाको साथ, सहयोग र समर्थन छ। यो आन्दोलनले निश्चितरूपमा राजसंस्था स्थापनाको अभियानलाई बल पुर्‍याँउछ।

राजा कि राजसंस्था फर्काउने?

मूलतः राजसंस्था फर्काउने हो, राजसंस्था भित्र स्वतः राजा त हुन्छन् नै। 

तपाईंहरूले कल्पना गरेको राजा को हो? पूर्वराजा ज्ञानेन्द्र, पारस, हृदयेन्द्र वा अन्य कुनै पनि व्यक्ति?

हामीले कल्पना गरेको नेपाल एकिकरण गर्ने शाहवंशीय वंशज हो। शाहवंशकै उत्तराधिकारीमध्येबाट राजा हुने हो। अब बन्ने राजा सबै दलको सहमतिको हुने भएकाले व्यक्ति को हुने भन्ने गौण कुरा हो। शाहवंशको परिवार र उत्तराधिकारी भित्रबाट हुने भएकाले त्यही व्यक्ति राजा बन्छ। सहमतिको राजतन्त्र स्थापित हुन्छ।

व्यक्तिमा पनि सहमति खोज्ने प्रयास हुन्छ?

अहिले हामीले प्रारम्भमा गरिरहेको राजसंस्थाको कुरा भनेको हिजोको भन्दा पनि समयसापेक्ष, संविधानको अधिनमा रहने, संसदको नियन्त्रणमा रहने, राष्ट्रिय एकताको प्रतीकका रूपमा रहने राजसंस्था हो हाम्रो परिकल्पना। हामीजस्ता परम्परागत राजावादीदेखि लिएर माओवादीसम्मको सहमतिको राजसंस्था हुनेछ। त्यतो संस्था निर्माण गर्दा र संस्था पुनस्र्थापित भएपछि राजा कायम गर्दा केही सहमति गर्न सकिन्छ, गर्नुपर्छ। तर, मूलरूपमा नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहका वंशजभित्रबाट राजा छान्ने हो।

जनचाहनाविपरीत तपाईंहरु राजा चाहियो, राजा चाहियो  भनिरहनुभएको छ, कि अरूले बुझेका छैनन् वा तपाईंहरू भ्रममा हुनुहुन्छ?

यो चाहिँ तपाईंहरूजस्ता साथीहरूमा रहेको भ्रम हो। राजसंस्थाको पक्षमा कुन प्रकारको जनमत बनिरहेको छ, र अझै बढिरहेको छ भन्ने कुरा दुई–चार दिनदेखिका घटना क्रमले देखाइसकेका छन्। र, भोलि झपामा पनि तपार्इं आफैंले देख्न पाउनुहुनेछ को भ्रममा छ भन्ने कुरा। यो हाम्रो जबर्जस्त माग होइन, अहिलेको यथार्थ हो। र, बुझ्नुहोस् देशीय यथार्थ हो, मुलुकको आवश्यकता पनि।

व्यवस्था र संविधान परिवर्तन सम्भव छ अब?

राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र कायम गर्ने कुरा, संघीयता खारेज गर्ने विषय विगतदेखि नै उठउँदै आएको हो। यसो भन्नुको मतलब व्यवस्था र अहिलेको प्रणालीले नै काम गरेन भन्ने नै हो। हाम्रा कुरा प्रणाली र संविधान परिवर्तन नै हो। अब व्यवस्था र संविधान नै परिवर्तन गर्नुपर्छ। यो नै हाम्रो मुख्य माग हो, देशको आवश्यकता हो। यो प्रणालीले नै काम गरेन, प्रणालीमै त्रुटि छ, यो व्यक्तिको त्रुटिमात्र होइन, दलबाट निर्वाचित हुने राष्ट्रपति कसरी निष्पक्ष संस्था हुनसक्छ? अल्पमत–बहुमतबाट निर्वाचित हुने प्रधानमन्त्रीले कसरी देशमा स्थिरता दिनसक्छ? यसले देशमा विद्यमान समस्याको निकास दिन सक्दैन। प्रणाली नै असफल भइसक्यो त्यसैले प्रणाली नै परिवर्तन गनुपर्ने आवश्यकता हो।

राजाले बनाएको संविधान, विशेषज्ञले बनाएको संविधान, राजा र दलले बनाएको संविधान पनि हेरियो, तपाईं स्वयं सांसद हुनुहुन्छ जनताका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको चरणमा छ अब के आधारमा अर्को संविधान बनाउने?

संविधान भनेको गीता, बाइबल, कुरान होइन। संविधान असंशोधनीय पनि हुँदैन, परिवर्तन हुनसक्छ, अहिलेको गणतन्त्र व्यवस्था र अवस्था मात्र हो। गणतन्त्र, संघीयताले मुलुकलाई राम्रो गर्छ भनेर स्वीकार गरिएको थियो। समय क्रमसँगै हाम्रो देशको हकमा काम नलाग्ने भएको छ। यसले देशलाई झन अप्ठ्यारोतिर लैजाने प्रष्ट देखिएको छ। यो अवस्थामा सहमतिबाटै अहिलेको आन्दोलन बाहिर रहेका कम्युनिस्ट, कांग्रेसजस्ता ठूला पार्टीको सहमति र स्वीकारपछि अहिलेको संविधान परिवर्तन गर्न सकिन्छ। त्यो भएन भने आन्दोलनले नै संविधान परिवर्तन गर्नसक्छ। यो अपरिवर्तनीय कुरा हैन।

अहिलेकै आन्दोलनबाट यो सम्भव छ?

असम्भव भन्ने नै के छ र! हिजो २०६२–६३ आन्दोलनबाटै शिक्षा लिन सक्छौं। २०४७ सालको संविधान विस्थापित हुने कुनै सम्भावना देखिँदैन थियो, २०४७ को संविधानलाई विश्वको उत्कृष्ट भनिएकै हो। त्यो संविधान परिवर्तनका लागि निर्माताहरू काँग्रेस र एमाले नै अग्रसर भए। सबै कुरा समयले निर्धारण गर्ने हो। अहिले परिवर्तनको त्यो समय आइसक्यो। यो देशको आवश्यकता हो।

सडकमा ओर्लेर ‘राजा आऊ देश बचाऊ’ भन्ने मान्छे चाहिँ को हुन्?

उनीहरू आमनागरिक हुन्। यो आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ। ती सबै जुलुसमा राप्रपाको कार्यकर्ताको सहभागिता छ। यसमा कुनै कुरा लुकाउनु–छिपाउनुपर्ने छैन। कतिपय जिल्लामा राप्रपाको औपचारिक सहभागिता छ। पार्टीका झण्डा व्यानरमा कार्यक्रम भैरहेका छन्। आज हेटौंडामा भएको र भोलि झापामा हुने कार्यक्रमलाई उदाहरणका रूपमा लिन सकिन्छ।

यो आन्दोलन राप्रपाले गर्दै आएको हो भन्नेमा सत्यता के छ?

यो आन्दोलन राप्रपाले सुरु गरेको हैन। यो नागरिकस्तरबाट उठेको आन्दोलन हो। राप्रपाले त्यसलाई समर्थन गरेको हो। भोलि झापाको कार्यक्रमको आयोजक हामी नै हो। यो नागरिक आन्दोलन हो। यसले राजनीतिक स्वरूप ग्रहण गर्छ। यो अहिले उठेको राजनीतिक मुद्दा हो। यसलाई राजनीतिक तवरले नै हल गरिनुपर्छ। कालान्तरमा यसलाई राप्रपाले स्वामित्व ग्रहण गरेर जान्छ।

भारत र त्यहाँका केही हिन्दुवादी संगठनले उचालेर आन्दोलन गर्न लगाएको आरोप छ नि?

दिल्लीमा भएको १२ बुँदे सहमतिका आधारमा सत्तामा पुगेका त्यही सत्ताको जुठोपुरोमा रमाएका मानिसले नेपालमा भइरहेको आन्दोलन र राजसंस्था स्थापनाको कुरालाई त्यही आँखाले हेर्छन्। भारतको सहयोगबिना त आन्दोलन नै हुन सक्दैन भन्ने अनुमान गर्नु स्वाभाविक हो। यो आन्दोलनलाई भारतको समर्थन छ भनेर कमजोर बनाउन लाग्नु र विदेशीको भरमा गरिएको आन्दोलन हो भनेर कसैले भन्नु उसका लागि यथार्थ हो तर यसमा सत्यता छैन। हो, भारतका बहुसंख्यक हिन्दु र अहिले सत्तामा रहेकाले हिन्दुत्वमा विश्वास गर्छन्। उनीहरूका लागि यो खुसीको विषय हुनसक्छ, सद्भाव हुनसक्छ। राजसंस्थासँग नेपालको स्थिरता र शान्ति गाँसिएको हुनसक्छ भन्ने कुरा सोच्नु एउटा पाटो हो । स्थिर छिमेकीको आकांक्षा राख्नु स्वाभाविक हो। हिजो राजसंस्था हटाउन नेतृत्व गर्नेलाई सघाउनु भूल रहेछ भनेर सोच्नु अनौठो कुरा होइन। हामीसँग कसैको कुरा भएको छैन।

यो आन्दोलनको खर्च व्यवस्थापन कसरी गरिएको छ? कहाँबाट आएको छ?

यो अरूबेलाको आन्दोलन र सभा–र्‍यालीजस्तो होइन। जनतालाई गाँउबाट कार्यक्रम स्थलसम्म ल्याउन सवारीसाधनको व्यवस्था गर्नुपर्दैन। हिजो केही साथीबाट सहयोग लिने गरिएको थियो अहिले त्यो पनि छैन। आन्दोलनमा स्वस्फूर्त सहभागी हुने हो। आ–आफ्नो सवारीसाधन लिएर र्‍यालीमा आउने हो। यसमा खर्चको कुनै प्रश्न गर्नुपर्ने ठाँउ नै छैन। झण्डा, ब्यानर र माइकको कुरा हो त्यो स्थानीय इकाइबाट व्यवस्था भएको छ। कतिपय साथीले झण्डा बनाएर सहयोग गरिरहनुभएको छ। हामी आफैंले २–४ हजार उठाएर व्यवस्था गरिरहेका छौं।

उसोभए बाहिरबाट आएको सहयोगले आन्दोलन गरेको होइन? 

हामीले राजनीति गरेकै वैदेशिक हस्तक्षेप अन्त्यका लागि हो। नेपालि राजनीतिमा हुँदै आएको विदेशी हालीमुहाली अन्त्यकै लागि हो। पछिल्लो दिनमा विदेशीको अरनखटन झन तीव्ररूपमा बढेको छ। त्यसको अन्त्यका लागि नेपालमा राजसंस्था चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ भनेर आन्दोलन गर्ने अनि विदेशीको सहयोग लिने कुरा भ्रम हो, गलत र कपोकल्पित हो। यो कल्पनासम्म पनि गर्न सकिँदैन ।

जब पूर्वराजा ज्ञानेन्द्रले अहिलेको सडक आन्दोलनमा आफ्नो कुनै साइनो नभएको बताइसकेका छन्। यस्तो बेला तपाईंहरूको आन्दोलनको के औचित्य छ?

यसले राजाबाट परिचालित छौं भनेर हामीलाई लागेको अभियोग निराधार भएको प्रमाणित भयो। हामीले राजा ज्ञानेन्द्रका सल्लाहमा राजसंस्था चाहिन्छ भनेको होइन। उनले हामीलाई पुनस्र्थापनाका लागि आन्दोलन गरिदेउ भनेको पनि होइन र हामीले यो आन्दोलन गरेको पनि होइन। नेपालजस्तो भूराजनीतिक, सामाजिक, सांस्कृतिक विविधता भएको मुलुकमा एकताको प्रतीकका लागि राजसंस्था चाहिन्छ भनेर आन्दोलन गरेको हो। राष्ट्र प्रमुखका रूपमा राजसंस्था चाहिन्छ भनेको हो।  यसमा राजाको कुनै भनाइले अर्थ राख्दैन। सचिवालयले जे भन्यो त्यो ठिक भन्यो। ज्ञानेन्द्र, पारस, हृदयेन्द्रको विषयमा हाम्रो बहस होइन। सम्मानित राजसंस्था पुनस्र्थापनाको मुद्दा हाम्रो हो।

राजालाई बोलाउने यो उपयुक्त समय हो?

हो, यो उपयुक्त समय हो। मुलुक योभन्दा बर्बाद हुने ठाउँ छैन। देशलाई योभन्दा धेरै बर्बाद हुन दिनु भनेको नेपाल र नेपालीको भविष्य खतरामा पार्नु हो। सारा कुराको अभ्यास गर्दा र दुईतिहाइ बहुमतको सरकार हुँदा पनि देश जुन अनिर्णयको बन्दी भएर बसेको छ, प्रणाली फेल भएका बेला राजा बोलाउनु उपयुक्त हो। अब नेपाली जनताले उपयुक्त विकल्प खोज्ने बेला आएको छ। त्यो समय यही हो। 

आन्दोलनले सफलता प्राप्त गर्छ?

यो नागरिक आन्दोलन हो। नागरिक आन्दोलन जब एकीकृत आन्दोलनका रूपमा परिणत हुन्छ त्यसले अवश्य सफलता प्राप्त गर्छ। राजनीतिक नेतृत्व प्रदान गरेपछि त्यसले परिणाम अवश्य दिन्छ। राष्ट्र प्रमुखका रूपमा राजसंस्था हुनुपर्‍यो, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्‍यो, पूर्णसमानुपातिक संसद हुनुपर्‍यो। संसदको संख्या घट्नुपर्‍यो। सांसदले मन्त्री हुन नपाउने व्यवस्था हुनुपर्‍यो। प्रदेश सरकार हटाउनुपर्‍यो। यति हुने भएपछि आन्दोलनले किन सफलता प्राप्त गर्दैन?

आफैं सांसद भएर व्यवस्थाको विरोध गर्न मिल्छ?

यो संविधानमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता ,सार्वभौमिकता, राष्ट्रिय अखण्डताबाहेक संविधानले कुनै पनि कुरालाई असंशोधनीय भन्दैन। नेपाली जनताले चाहे भने गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता खारेज गर्न सक्छन्। मैले सांसद भएर व्यवस्थाको विरोध गरेको होइन। संविधानले दिएको अधिकार प्रयोग गरेको हो। यो देशलाई पद्धतिमा लाने कुरामात्र गरेको हो। मैले समतामूलक समाजको मुद्दा उठाएको हुँ। राज्यको सेवासुविधा गरिबले नपाउने जातले पाउने व्यवस्था छ, यो खारेज हुनुपर्छ। 

राजसंस्था स्थापनाकै लागि तीनवटा राप्रपा एक भएका हुन्?

पार्टी एकीकरणको लक्ष्य राजसंस्था र हिन्दु राष्ट्र« स्थापना अनि संघीयता खारेजीमात्र हैन। देशलाई गति दिन तीन पार्टी एक भएका हुन्। राजसंस्था स्थापना हुँदैमा जादुमय परिवर्तन हुँदैन। शान्ति, स्थिरताको जगमा टेकेर समृद्ध मुलुक बनाउन पार्टी एक भएको हो। अव्यवस्था र अस्थिरता अन्त्यका लागि तीन पार्टी एक भएका हुन्।

तपाईंलाई किन हिन्दु राष्ट्र चाहिएको हो?

हिन्दु राष्ट्र कुनै जात विशेषको कुरा होइन। यो नेपाली जनताको पहिचानको एकतासँगको सम्बन्धको कुरा हो। नेपाल हिन्दु, किराँत र बुद्ध धर्मको उद्गमस्थल हो। यो विविधताबीचको एकता नै नेपालको सुन्दरता हो। त्यसलाई ध्वस्त पार्न धर्मनिरपेक्षताको आडमा जुन संकट आएको छ त्यसको अन्त्यका लागि मलाई हिन्दु राष्ट्र चाहिएको हो। सबैले अपनत्व गर्नसक्ने राष्ट्र मेरो लक्ष्य हो।

ठूला दललाई तपाईंको आग्रह केही छ?

दलहरू भनेको जनताको नेतृत्व गर्ने संस्था हुन्। उनीहरूबाट जनआवाज प्रतिविम्बित हुनुपर्छ। जनता अहिले वर्तमान व्यवस्थाको विकल्पमा छन्। यो कुरा बेलैमा बुझ्न र बाटो सच्च्याउन आग्रह गर्दछु। हिजोको आन्दोलनको रापतापमा भएका गल्ती र कमजोरी बिनाहिच्किचाहट सच्च्याउन आग्रह गर्छु।

आन्दोलनमा सरकारले दमन गरे के गर्नुहुन्छ?

जुन विन्दुमा सरकारले यो आन्दोलनलाई रोक्ने, दमन गर्ने प्रयास गर्छ त्यहीँबाट यो जनसंघर्षमा परिणत हुन्छ।

र, याे पनि

सडकबाट ‘राजा आऊ…’ भन्नेहरू को हुन्?

सडक आन्दोलनसँग मेरो साइनो छैन : ज्ञानेन्द्र

झापामा राप्रपाले १० हजार प्रदर्शनकारी उतार्ने, नेतृत्व राजेन्द्र लिङ्देनले गर्ने

सडक आन्दोलनको नेतृत्व अब राप्रपाले गर्छ : कमल थापा


Leave a Reply

Your email address will not be published.