चार वर्षपछि सडक बालकको परिवारमा पुनर्मिलन

चार वर्षपछि सडक बालकको परिवारमा पुनर्मिलन

चार वर्षदेखि देशका विभिन्न सडकमा मागेर दिनचर्या विताएका अपाङ्ग बालक आशिष (लक्की) सुनारलाई घरपरिवारमा परिवार पुनर्मिलन गरिएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर-१७ स्थित उनैका घरमा पुगेर २९औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अबसरमा सुनारलाई पुनर्मिलन गराइएको हो।   

चिल्ड्रेन–नेपालका कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले बुटवल उपमहानगरपालिका-१७ की वडा सदस्य यमकली सुनारको रोहवरमा लक्कीका बुवा शंखर सुनारलाई बालक बुझाइएका हुन्।

परिवार पुनर्मिलन हुँदा लक्कीले खुसी व्यक्त गरे। पोखराको सडकबाट उद्धार मायाममताका साथ हेरचाह गरेकोमा चिल्ड्रेन–नेपाल परिवारलाई उनले धन्यवाद दिए। 

आफ्नो एक्लो छोराको खोजी गरि पालनपोषण गरेर घरैमा ल्याइदिएकोमा चिल्ड्रेन–नेपाल परिवारप्रति आमा संगीता सुनारले आभार व्यक्त गरिन्। उनी चार वर्षदेखि बेपत्ता रहेको छोरो भेटेकोमा खुशी व्यक्त गरिन्।

वडा सदस्य सुनारले सडकका बालबालिकाको उद्धार गरि राम्रो हेरचाह, स्वास्थ्य उपचार, असल बनाएर घरपरिवारसम्म पुर्‍याउने चिल्ड्रेन–नेपालको प्रशंसा गर्दै बुटवल उपमहानगरपालिका सहकार्य गर्न इच्छुक भएको बताइन्।

रोटरी क्लव बुटवल साउथका पूर्व अध्यक्ष देविदत्त ज्ञावालीले बालबालिकाको हेरचाह र पुनर्स्थापनामा आवस्यक सहयोग गर्ने प्रतिवद्धाता व्यक्त गरे। चिल्ड्रेन नेपालकी वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले लक्कीमा आएको परिवर्तन तथा सुधारका बारेमा जानकारी गराएकी थिइन्। 

संस्थाका कोषाध्यक्ष शान्त पौडेलले बालकमा परिवारमा रमाएर रहने वातावरण सिजना गर्न सुल्झाएका थिए। बालकको परिवारमा आमा, बुवा र एक बहिनी छन्।

ती बालकसहित १८ जना सडक बालबालिकालाई कोरोना भाइरसको महामारीको बिचमा चैत्र १६ गते पोखराको सडकबाट पोखरा महानगरपालिकाले उद्धार गरि अन्नपूर्ण गाउँ पालिका वडा नम्बर-१ कास्कीस्थित चिल्ड्रेन–नेपालको फूलवारी स्रोत केन्द्रमा राखेको थियो।


Leave a Reply

Your email address will not be published.