चीनले ५५ लाख वर्गकिलोमिटरमा मौसम परिमार्जन परीक्षण गर्ने

चीनले ५५ लाख वर्गकिलोमिटरमा मौसम परिमार्जन परीक्षण गर्ने

चीनले मौसम परिमार्जन गर्ने परीक्षणका कार्यक्रम अझै बढाउने योजना सार्वजनिक गरेको छ। ५५ लाख वर्गकिलोमिटर क्षेत्रफलमा परीक्षण गर्न लागेको हो। उक्त क्षेत्रफल भारतभन्दा डेढ गुना ठूलो छ। 

राज्य परिषदले विज्ञप्ति जारी गर्दै चीनले सन् २०२५ भित्र ‘वेदर मोडिफिकेसन सिस्टम’ बनाइसक्ने जनाएको छ। यसले मौसममात्र होइन प्रकोपको समयलाई पनि नियन्त्रणमा लिन सक्नेछ। 

अबको पाँच वर्षमा ५५ लाख वर्ग किलोमिटर जमिनमा कृत्रिम पानी र हिउँले ढाकिने छ भने ५ लाख ८० हजार वर्र्गकिलोमिटर क्षेत्रफलमा असिना दबाउने प्रविधि रहनेछन्। 

यो कार्यक्रमले प्राकृतिक प्रकोपबाट बचाउने, कृषि उत्पादन, जंगलमा लागेको डढेलो छिटो निभाउने र गर्मी र खडेरीलाई पनि साम्य पार्नेछ। 

चीनले अन्नबाली बचाउन र मुख्य कार्यक्रमका बेला आकास सफा राख्न प्रविधि प्रयोग गर्दै आएको छ। २००८ मा बेइजिङमा भएको ओलम्पिक खेलमा पनि ‘क्लाउड सिडिङ’ गरेर खेल सुरु हुनुअगावै पानी पारेको थियो।

क्लाउड सिडिङको अभ्यास एक दशकदेखि गरिरहेको छ। बादलमा थोरै सिल्भर आयोडाइड मिसाइन्छ जसका कारण बादल छिटै गह्रौं भएर पानी पर्दछ। 

एक अध्ययनका अनुसार क्लाउड सिडिङ गरेर हिउँ पनि पार्न सकिन्छ। उपयुक्त मौसम भएको ठाउँ वा ओसिलो भएको ठाउँमा हिउँ पनि पार्न सकिन्छ। 

सिन्ह्वा न्युज एजेन्सीका अनुसार गत वर्ष मौसम परिमार्जन गरेकै कारण ७० प्रतिशत असिना आउनबाट जोगिएको र बाली पनि जोगाउन सकिएको थियो। 

उक्त प्रविधिमा अन्य देशको चासो बढेकोमा चीनलाई प्रविधि विकास गर्न थप हौसला मिलेको छ। अमेरिका र भारतले पनि यसप्रति चासो देखाइरहेका छन्। 

सिएनएनको सहयोगमा


Leave a Reply

Your email address will not be published.