उपमेयरको गाडी जलाउन खोजेको होइन : झापा कांग्रेस

उपमेयरको गाडी जलाउन खोजेको होइन : झापा कांग्रेस

नेपाली कांग्रेस झापाले मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीलाई गाडीभित्रै जलाउन खोजिएको भनेर प्रकाशित समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाए छ।

कांग्रेस झापाका सभापति उद्वव थापाले मंसिर १८ गते अपराह्न मेचीनगर नगरपालिका-१३ चारआलीमा भएको भनिएको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको बताए।

'कांग्रेस हत्या, हिंसा, तोडफोड, आगजनीजस्ता अराजक र आतंकित गतिविधिमा विश्वास गर्दैन',  सभापति थापाले निकालेको विज्ञप्तिमा लेखिएको छ। उश्रृंखल गतिविधिलाई निरुत्साहित मात्र होइन सदाका लागि निर्मुल गर्नुपर्छ भन्ने मान्यतामा कांग्रेस अडिग रहेको बताइएको छ ।

विज्ञप्तिमा उक्त घटनामा नेविसंघ संलग्न नरहेको र कहिले पनि नरहने प्रष्ट पार्न चाहान्छौं भनिएको छ। नेविसंघ कार्यकर्ता गाडीको चावी नियन्त्रणमा लिन खोजेपछि उपमेयर उप्रेतीले गाडी भित्रै आफूलाई जलाउन खोजेको प्रचार गरेपछि झापा कांग्रेस दवाबमा परेको थियो। 

तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तारको विरोधमा नेविसंघले मंसिर १८ गते सडकमा गुड्ने सरकारी गाडीको चाबी खोस्ने देशव्यापी कार्यक्रम राखेको थियो। सोही कार्यक्रम अनुसार नेविसंघ कार्यकर्ताले चारआलीमा उपमेयर चढेको गाडी रोक्ने प्रयास गरेको घटनालाई अतिरञ्जित प्रचार गरिएको कांग्रेसले स्पष्ट पारेको छ।

झापा कांग्रेसले लोकतान्त्रिक पद्दतिको उपहास गर्दै सरकारको निर्देशनमा प्रशासनबाट कांग्रेसका बरिष्ठ नेता पौडेलमाथि भएको धरपकड  सर्वथा निन्दनीय रहेको लेखिएको विज्ञप्तिमा उक्त घटनाका दोषीउपर तत्काल कारबाही गर्न सरकारसँग माग माग गरिएको छ।


Leave a Reply

Your email address will not be published.