कसलाई खोज्दैछन् यी आँखा? 

कसलाई खोज्दैछन् यी आँखा? 

बबरमहल छेउको मुख्य सडकमा शनिबार बिहान भेटिएका यी वृद्ध घरिघरी माइतीघर मण्डलातिर आँखा दौडाइरहन्थे। 

घरिघरी परपरसम्म बिच्छिएका उनका यी आँखा के चाहन्छन्?

‘गणतन्त्रका नेताले लुट्देको हाम्रो धर्म फेरि पाउनपर्छ। फेरि यी आँखाले राजा देखेर मर्न मन छ।’

कुराकानीकै बेला साइरन बजाएर हुँइकिँदै आएको प्रहरीको एउटा ट्रकले त्यो सानो भीड बिथोलिदियो। 

केहीबेरपछि जर्बजस्त भइसकेको त्यो भीडमा यी वृद्ध अग्रपंक्त्तिमा थिए।

शनिबार बिहानैदेखि काठमाडौंका सडकमा प्रहरीहरू बाक्लिन थालिसकेका थिए। खासगरी सिंहदरबार वरिपरी त प्रहरीहरू पूरै ‘तयारी’ अवस्थामा देखिन्थे। 

बिहान १० बज्नै लाग्दा माइतीघर वरिपरी ‘राष्ट्रिय झन्डा’ देखिन सुरु भइसकेका थिए। 

आज बिहान ११ बजे ‘राष्ट्रिय नागरिक आन्दोलन २०७७’ नामबाट प्रदर्शनका लागि माइतीघरमा जुट्न आह्वान गरिएको थियो। 

काठमाडौंमा एक साताअघि पनि यस्तै आन्दोलन भएको थियो। माइतीघरमा जुटेर त्यो बेला ‘राजा बोलाउनेहरू’ केही संख्यामा मात्रै थिए। 

र, त्यसलाई ‘ट्रेलर’मात्रै भनियो। 

शनिबार राजतन्त्रको पक्षमा ‘शक्त्ति प्रदर्शन’ गर्नका लागि ‘राष्ट्रिय नागरिक आन्दोलन २०७७’को नाम दिइयो र त्यसको तयारी थालियो। 
कहाँबाट आए यी?

एकसता अघि माइतीघरमा देखाइएको त्यो ‘ट्रेलर’पछि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई एउटा निर्देशन दिएको थियो ‘काठमाडौंमा सभाजुलुश निषेध गर्नू।’ त्यसपछि काठमाडौं जिल्ला प्रशासनले ‘कोरोना संक्रमण बढ्दै जाँदा काठमाडौंमा राजनीतिक सभाजुलुश गर्न प्रतिवन्ध लगाइएको’ भन्ने सूचना जारी गर्‍यो। 

प्रत्यक्षरुपमा ‘राजावादी’ आन्दोलनलाई नभनेपनि सरकारको प्रतिवन्धात्मक संकेत यही आन्दोलनप्रति थियो। 

तथापि राजधानीका सडकमा बाक्लिएका प्रहरीघेराबाट छेलिँदै केही मानिस झन्डा बोकेर माइतीघर छिर्न लागिरहेका थिए। 

प्रहरी भने सडकपेटीमा हिँड्नेहरूकोलाई पनि ‘खानतलासी’ गरिरहेका थिए। 

साढे १० बजे। ‘पृथ्वी नारायण शाह’को ठूलो तस्बिर र ठूला ठूला राष्ट्रिय झन्डा फहराइरहेको एउटा ट्रक सिंहदरबार छेउबाट माइतीघर जाँदै थियो। 

प्रहरीले त्यसलाई पुग्नै नदिइ फर्काइदिए। झन्डा फहराउँदै ट्रक अर्को बाटो छिर्न खोज्यो फेरि बबरमहल पुग्नै लाग्दा त्यसलाई फर्काइयो। पछि कता कताबाट पृथ्वी नारायण शाह बोकेको त्यो ट्रक माइतीघर पुग्यो। 

प्रहरीले रोक्दारोक्दै माइतीघरमा राष्ट्रिय झन्डा बोकेकाहरू बाक्लिइसकेका थिए। 

निकै महंगा महंगा ‘स्पोर्ट्स बाइक’हरू फ्रन्टलाइनमा तम्तयार थिए। 

‘यो अब नागरिक आन्दोलन भइसकेको छ। हाम्रो लुटिएको धर्म र संस्कृतीबाट फिर्ता लिनैपर्छ’ आन्दोलनको संयोजन गरेका अधिवक्त्ता बालकृष्ण न्यौपानेले भने ‘हाम्रो यो आन्दोलनमा कसैले कसैलाई बोलाउनै पर्दैन। मानिस आफ्नो धर्म र आस्थाका लागि आफैं आउँछन्। हामीले कसैलाई कतैबाट ल्याएका छैनौं।’

परम्परागत पोशाकमा सजिएर ‘नौमती’ समाएकाहरूले धुन बजाउन सुरु गरिसकेका थिए। केही बेरामा झ्याली पनि बज्यो र आन्दोलन सुरु भयो। 

र्‍यालीमा सबैभन्दा बढी युवा पुस्ता देखिए। बृद्धहरू पनि उस्तै थिए। मुस्लिम समुदायका मानिस पनि यो र्‍यालीमा सहभागी भएका छन्। 

अब राप्रपा पनि

दसैलगत्तै सुरु भएको यो ‘राजावादी’ आन्दोलनमा सुरुसुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘नैतिक समर्थन’मात्रै भनेको थियो। 

काठमाडौंमा समेत आन्दोलन चर्किन थालेपछि अब यो आन्दोलनको नेतृत्व राप्रपाले गर्ने भएको छ। त्यसका लागि उसले देशभरका जिल्ला समितिहरूलाई आन्दोलनको नेतृत्व लिन भन्दै पत्राचार गरेको छ। 

शुक्रबार मात्रै राप्रपा अध्यक्ष कमल थापाले अब राप्रपाले नै यो आन्दोलनको नेतृत्व गर्ने घोषणा गरेका थिए। 

त्यसैअनुरुप शुक्रबार हेटौंडामा राप्रपाकै आयोजनामा र्‍याली भएक थियो भने शनिबार पनि झापामा राप्रपा नेता राजेन्द्र लिङदेनको अगुवाईमा मोटरसाइकल र्‍याली भएको छ। 

‘राजा आउ, देश बचाउ’ भन्दै देशभर आन्दोलन चर्किरहँदा पूर्वराजा ज्ञानेन्द्रको सचिवालयले भने भइरहेका यी आन्दोलनबारे आफूहरूलाई केही जानकारी नभएको र कुनै सम्बन्ध पनि नभएको प्रतिक्रिया दिएको छ। 

र, राप्रपाले पनि ‘ज्ञानेन्द्रसँग सल्लाह गरेर यो आन्दोलन सुरु नभएको’ प्रतिक्रिया दिएको छ।

र, याे पनि

सडकबाट ‘राजा आऊ…’ भन्नेहरू को हुन्?

सडक आन्दोलनसँग मेरो साइनो छैन : ज्ञानेन्द्र

झापामा राप्रपाले १० हजार प्रदर्शनकारी उतार्ने, नेतृत्व राजेन्द्र लिङ्देनले गर्ने

सडक आन्दोलनको नेतृत्व अब राप्रपाले गर्छ : कमल थापा


Leave a Reply

Your email address will not be published.